
काठमाडौँ: सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनल अन्तर्गत नेपाल र मलेसियाबीच आज हुने भनिएको खेल वर्षाले प्रभावित बनेको छ।
नेपाली समय अनुसार बिहान ७ः१५ बजे सुरु हुनुपर्ने खेल वर्षा बाधक बन्दा टस हुन सकेको छैन। सिंगापुरको इन्डियन एसोसिएसन ग्राउण्डमा टस हुने समयअघिनै पानी पर्न थालेको थियो।
आजको खेल भएमा नेपालका कप्तान पारस खड्का नखेल्ने पक्का भएको छ। मंगलबार कतारविरुद्धको खेल पहिलो इनिङ्समा ब्याटिङ गरेका पारस कम्मर दुख्ने समस्यापछि दोस्रो इनिङ्समा मैदान उत्रेका थिएनन्।
आज एक खेल मात्र भएकोले नेपाल र मलेसियाबीचको खेलको 'कट अफ' टाइम लामो छ। यसकारण खेल हुने झिनो सम्भावना मात्र बाँकी छ।
मंगलबार पनि वर्षाका कारण सिंगापुर र कुवेतबीचको खेल रद्ध भएको थियो।
खेल रद्ध भएमा दुबै टोलीले १-१ अंक पाउनेछन्। तर यसले नेपाललाई भने घाटा हुनेछ। पहिलो खेलमा कतारसँग पराजित भएको नेपाल अहिले अंकविहीन छ। मलेसियासँग अंक बाँडेमा नेपालको दुई खेलबाट १ अंक मात्र हुनेछ भने मलेसियाले दुई खेलबाट ३ अंक जोड्नेछ। सिंगापुरको पनि दुई खेलबाट ३ अंक छ।
आजको खेल नभएमा नेपालले विजेता बनेर ग्लोबल क्वालिफायर पुग्न बाँकी दुबै खेल जित्नु पर्नेछ भने अन्य खेलको नतिजा समेत कुर्नु पर्नेछ।