
काठमाडौँ: आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा नेपालले आज मलेसियासँग खेल्दैछ। वर्षाका कारण खेल निर्धारित समयभन्दा दुई घण्टा ढिला सुरु भएको छ।
सिंगापुरस्थित इन्डियन एसोसिएसन ग्राउण्डमा हुने खेलका लागि नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। यस्तै वर्षाका कारण खेल ढिलो भएपछि खेल ९-९ ओभरको हुने भएको छ।
नेपालका कप्तान पारस खड्का मलेसियाविरुद्ध नखेल्ने भएका छन्। पारसको अनुपस्थितिमा ज्ञानेन्द्र मल्लले नेपाली टिमको नेतृत्व गर्नेछन्।
मंगलबार कतारविरुद्ध खेलेको नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ। पारससँगै ललित नारायण राजवंशी आउट हुँदा प्रदीप भरी र रोहित कुमार पौडेलले प्लेइङ ११ मा स्थान बनाएका छन्।