PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

'कुन देशका नेता चोर हुन्छन् थाहा छैन'! प्रहरीसँग भनिएको भाइरल च्याट, के हो वास्तविकता?



सविन ढकाल

'कुन देशका नेता चोर हुन्छन् थाहा छैन'! प्रहरीसँग भनिएको भाइरल च्याट, के हो वास्तविकता?

४ बजेर २६ मिनेटमा एउटा म्यासेज आउँछ।

‘तिमीले नेताहरू चोर भनेर पोस्ट गरेको रहेछौ।'

एकैछिनमा नै जवाफ आउँछ- 'उम् गरेको के भो त।' यति लेखेर स्माइली।

'तिमीलाई जेल हालौँ' एङ्ग्री इमोजी प्रयोग हुन्छ।

सामान्य रूपमा मानिसले जेल हाल्ने व्यक्ति प्रहरी नै हो भन्ने बुझ्छन्। यी दुई बीचको च्याटमा एक जना प्रहरी भएको देखिन्छ। यस मानेमा कि च्याट गर्नेको प्रोफाइल पिक्चरमा नेपाल प्रहरीको लोगो प्रयोग भएको छ।

केही दिनदेखि सामाजिक सञ्जालमा दुई जनाको च्याट गरेको स्क्रिनसट भाइरल छ। धेरैले च्याटको मजाक उडाइरहेका छन्।

च्याट यतिमा नै रोकिँदैन। जेल नै हाल्ने डर देखाएपछि नेता चोर भन्नेले फेरि म्यासेज गर्छन्।

‘मैले अमेरिकाको नेता चोर हुन् भन्या हुनसक्छ। चीनको नेता चोर हुन् भन्या हुनसक्छ। नेपालकै नेता चोर हुन् त भनेको छैन नि।‘

प्रहरी पनि थाक्ने पक्षमा देखिँदैनन्। प्रतिक्रिया जनाई हाल्छन्। ‘के रे हामीलाई थाहा छैन कुन देशका नेताहरू चोर हुन्छन् भनेर' फेरि एङ्ग्री इमोजी। सँगै लेखिएको छ 'जेल हालौँ'!

धेरैलाई अहिले लागेको छ के प्रहरीले यसरी नै म्यासेजबाट सामाजिक सञ्जालमा जथाभावी लेख्नेलाई थर्काउँछ। वा अनुसन्धान गर्छ? के यो वास्तविकतामा नै प्रहरीबीच भएको संवाद हो?

के भन्छ प्रहरी?

प्रहरीमाथि नै प्रश्न उठ्ने गरी सामाजिक सञ्जालमा प्रतिक्रिया आउन थालेपछि घटनाको अनुसन्धान सुरु भएको छ। प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा नेपाल प्रहरीको लोगो प्रयोग गरेर नक्कली च्याट बनाइएको देखिएको ब्यूरोका एसएसपी नवीन्द्र अर्याल बताउँछन्।

‘ केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान थालेका छौँ। अहिलेसम्म हेर्दा फेक भएको देखिन्छ,' एसएसपी अर्यालले भने।

'कहाँबाट बाहिरियो च्याट'

प्रारम्भिक अनुसन्धानमा यो च्याटको स्क्रिनसट त्रिभुवन विश्वविद्यालयको नाममा खोलिएको एउटा ग्रुपबाट च्याट बाहिरिएको देखिएको छ। ‘ केही विश्वविद्यालयका नाम हेरिरहेका छौँ। सम्बन्धित निकायमा पनि अनुसन्धानको लागि पुर्‍याएका छौँ। प्रहरीसँग अहिले यो मात्र होइन अन्य यस्तै च्याटमा स्क्रिनसट समेत प्राप्त भएका छन्। यस्ता अरु पनि घटना छन्। हामी एकमुष्ठमा अध्ययन गरिरहेका छौँ' अर्यालले भने।

नक्कली च्याट बनाइएको फेला परेमा सम्बन्धित व्यक्तिलाई विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही हुने अर्यालले बताए। प्रहरीको लोगो प्रयोगबारे पनि अनुसन्धान भइरहेको उनले जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell