PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

टी २० आईमा ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक



पहिलोपोस्ट

टी २० आईमा ज्ञानेन्द्रको कीर्तिमानी अर्धशतक

काठमाडौँ: ज्ञानेन्द्र मल्लले टी २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि कीर्तिमानी अर्धशतक प्रहार गरेका छन्। उनले टी २० आईमा नेपालबाट छिटो अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन्।

सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा ज्ञानेन्द्र बुधबार मलेसिया विरुद्धको खेलमा २० बलमै अर्धशतक बनाए। मल्लले ५१ रन जोडे। 

नियमित कप्तान पारस खड्का पूर्ण फिट नभएपछि मलेसियाविरुद्ध कप्तानी सम्हालेका ज्ञानेन्द्रले आक्रामक इनिङ्स खेले। ज्ञानेन्द्रले २१ बल खेल्दै ५ चौका र ३ छक्काको मद्दतमा ५१ रन बनाए।

यसअघि मलेसियाविरुद्धको सिरिजमा विनोद भण्डारीले २५ बलमा अर्धशतक बनाएका थिए।

प्रदीप ऐरीसँग मिलेर पहिलो विकेटका लागि अर्धशतकीय साझेदारी गर्दै पहिलो विकेटका लागि उच्च साझेदारीको कीर्तिमान समेत बनाए। मंगलबार पारस र ज्ञानेन्द्रले कतारविरुद्ध पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरेका थिए।

ज्ञानेन्द्रले आउट हुनुअघि प्रदीपसँग पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरे।

यस्तै ज्ञानेन्द्र टी २० मा अर्धशतक बनाउने पाँचौँ नेपाली खेलाडी बनेका छन्। यसअघि कप्तान पारस खड्काले २ तथा सुवास खकुरेल, सन्दीप जोरा र विनोद भण्डारीले १-१ अर्धशतक प्रहार गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell