
डोटी: बैतडीको खोडपेमा आज बिहान यात्रु बोकेर गइरहेको एउटा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक दीपकबहादुर पातलीका अनुसार दार्चुलाबाट कैलालीको धनगढीतर्फ जाँदै गरेको ग १ ज ५२२४ नंम्बरको जिप बैतडीको पाटन नगरपालिका–८ आरुवाटा भन्ने ठाउँमा दुर्घटना भएको हो।
दुर्घटनामा दार्चुला जिल्ला महाकाली नगरपालिका वडा नम्बर ९ का अन्दाजी ३५ वर्षीय ईश्वरी नागरीको मृत्यु भएको हो। दुर्घटनामा सोही ठाउँका अन्दाजी २४ वर्षीय हिक्मत सामन्त (साउद) र २२ वर्षीय पुष्कर नागरी घाइते भएका छन्।
चिप्लो बाटो, पानी र कुहिरोका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान रहेको बैतडीका निमित्त प्रमुख प्रहरी निरीक्षक पातलीले बताए। उनले भने, 'आज बिहानदेखि पानी परेको र सडकमा कुहिरो लागेका कारण दुर्घटना भएको अनुमान गरेका छौँ, विस्तृत विवरण आउन बाँकी छ ।'
दुर्घटनामा मृत्यु भएका नागरीको शव भीरबाट निकाल्ने प्रयास जारी रहेको प्रहरीले जानाकारी दिएको छ। जिप आज बिहान करिब ५.१५ बजे दुर्घटनामा परेको हो। जिप सडकबाट करिब ४ सय मिटर तल भीरमा खसेको प्रहरीले जनाएको छ। रासस