
काठमाडौँ: प्रतिनिधि सभाको आज दिउँसो १ बजे बस्न तय गरिएको बैठक सूचना टाँसेर स्थगन गरिएको छ। संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचना अनुसार सभामुख कृष्णबहादुर महराले अर्को बैठक आजै दिउँसो २:३० का लागि तोकेका छन्। विशेष कारणवश पहिलो बैठक स्थगन गर्नुपरेको सो सूचनामा उल्लेख छ।
प्रतिनिधि सभाको अघिल्लो (असार ३१ गते) को बैठक पनि सूचना टाँसेर नै स्थगन गरिएको थियो। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले देशभरि विभिन्न भागमा आएको बाढीपहिरो र डुबानका विषयमा छलफल गर्न सार्वजनिक महत्वको प्रस्ताव संघीय संसदमा दर्ता गराएपछि सत्तापक्ष र प्रतिपक्षबीच प्रस्तावमा विवाद भएपछी बैठक स्थगित भएको थियो।
बाढीपहिरो र डुबानमा परेका नेपालीको उद्धार र राहत वितरणका लागि प्रभावित क्षेत्रमा सांसद खटिनुपर्ने भएकाले प्रतिनिधिसभा बैठक स्थगन गर्नुपरेको सूचनामा उल्लेख गरिएको थियो। बैठक स्थगन भएलगत्तै सभामुख महराले सांसदलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्न आग्रह गरेका थिए।
प्रतिपक्षी दल काँग्रेसले देशमा विपद् भएका बेला सिंगो संसद् एक ढिक्का भएर उद्धार र राहत जुटाउनु पर्नेमा बैठक स्थगन गर्नु ठीक नभएको प्रतिक्रिया दिएको थियो।