PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

बाढीले सडक नै बगायो, राजमार्गको आवागमन ठप्प, यात्रु अलपत्र

बाढीले सडक नै बगायो, राजमार्गको आवागमन ठप्प, यात्रु अलपत्र

पी बी खड्का/पहिलोपोस्ट


सुर्खेत : कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिकामा पर्ने रती खोलामा आएको बाढीले सडक नै बगाएको छ। गए रातिदेखि लगातारको वर्षाले सियाकोट–तल्लोडुंगेश्वर खण्डमा पर्ने रती खोलामा बाढी आएको हो। बाढीले सडक बगाउँदा सर्वसाधारण अलपत्र परेका छन्।

रती खोलामा आएको बाढीले सियाकोटतर्फको करिव ५० मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

बाढीले सडक बगाउँदा सियाकोट भएर तल्लोडुंगेश्वर हुँदै दैलेखको पश्चिम क्षेत्र, अछाम, कालिकोट, मुगु र जुम्ला जाने यातायातका साधन ठप्प हुँदा सर्वसाधरण अलपत्र परेका छन्।

बाटो अवरुद्ध भएपछि सुर्खेत हुँदै कर्णालीका जिल्लामा जाने यात्रुहरु दैलेखको सियाकोटमा अलपत्र परेका छन् भने, जुम्ला–कालिकोट–दैलेख हुँदै सुर्खेत आउने यात्रु दैलेखको पाल्तडामा अलपत्र परेका छन्।

सडक खुलाउन डोजर परिचालन गरे पनि कडा चट्टानका कारण सडकको भित्ता काट्न नसकिएको प्रहरीको भनाई छ।

'सडक बाढीले बगाएपछि, सडकको कुना, भित्तातिर काटेर सडक निकाल्ने प्रयासमा लागिरहेका छौँ। तर, कडा चट्टान भएकाले सडक काट्न सकिएको छैन,’डिएसपी पाखरेलले भने, ‘अहिले तत्काल सडक खुल्ला भन्न सकिने अवस्था छैन।’

सुर्खेत–दैलेख हुँदै कर्णाली राजमार्ग पुग्ने सियाकोट–तल्लोडुंगेश्वर सडक खण्ड ८ किलोमिटर छोटो दुरीको हुँदा अधिकांश सर्वसाधारण र यातायातका साधन यही रुटबाट चल्ने गर्छन्।

थप वर्षातका कारण कर्णाली राजमार्गमा अवरुद्ध भए तत्काल सडक सुचारु गर्न सियाकोट, तल्लोडुंगेश्वर र राकम कर्णालीमा सडक विभागले तयारी अवस्थामा डोजर राखेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell