
काठमाडौं: सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको एउटा फोटोका कारण फिल्म निर्देशक तथा कलाकार सम्राट सापकोटा तनावमा परेका छन्।
बुधबार बिहान सापकोटाले फेसबुकमा दुईवटा फोटो सार्वजनिक गरेका थिए। दुवै फोटोमा उनले बन्दुक समाएका छन्। एक फोटोमा मारिएको बँदेल र अर्कोमा हरिण छ। फोटोको क्याप्सनमा उनले लेखेका छन्- 'कुनै बखत चारकोसे जङ्गलमा शिकारी हुँदाको अवस्था।'
उनको फोटो सार्वजनिक भएसँगै सामाजिक सञजाल प्रयोगकर्ताले वन्यजन्तुको शिकार गरेर गौरवसाथ फेसबुकमा फोटो राखेको भन्दै फेसबुकबाट प्रहरी र हेलो सरकारलाई उजुरी गरे।
फेसबुकमा रहेको वाइल्ड नेपाल नामक पेजले ‘शेयर गरी वन विभागसम्म पुर्याउँ’भन्दै सापकोटाको फोटो शेयर गर्यो। सापकोटाको फोटोमा विवाद बढेपछि उनले केही घण्टामै फेसबुकबाट पोस्ट हटाए। हेलो सरकार र नेपाल पुलिसलाई मेन्सन गर्दै उनीविरुद्ध सजायको माग भयो। उनलाई मेसेन्जरमा पनि अनेक प्रश्नहरु आए।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठका अनुसार हेलो सरकारले उक्त फोटोबारे अनुसन्धानका लागि वन्यजन्तु अपराध नियन्त्रण शाखालाई पत्राचार गरेको छ।
अपराध नियन्त्रण शाखा अधिकृत कमलजङ्ग कुँवरले भने, 'हामीले अपराध हो होइन पुष्टि नभइ कारबाही गर्न मिल्दैन। त्यसैले आवश्यक अनुसन्धानका लागि प्रहरीमा पत्राचार गरेका छौं।'
यता निर्देशक सापकोटाले भने सो फोटो फिल्म सूटिङ्को क्रममा खिचिएको र त्यो प्रप्स मात्र भएको बताएका छन्। सम्राटले गत जेठमा सार्वजनिक फिल्म 'कप्स' निर्देशन गरेका थिए। त्यसयता फूर्सदमा रहेका उनले रमाइलोको लागि २०५० सालमा खिचेको फोटो फेसबुकमा हालेको उनको दाबी छ। उनका अनुसार शोभित बस्नेत निर्देशित फिल्म 'आर्मी' छायाँकनका क्रममा खिचाएको फोटो थियो त्यो। 'नक्कली जनावर हुन्। फिल्मको प्रयोगका लागि निर्मित,’ सापकोटाले भने, ‘अनाहकमा विवादमा तानिएको देख्दा अचम्म लागेको छ।'
उनले हालसम्म आफूलाई प्रहरीबाट कुनै किसिमको खबर आइनसकेको बताए। उनले आफूसँग फोटोमा देखिएका बँदेल र हरिण नक्कली भएको प्रमाण रहेको पनि बताएका छन्। 'जनावर सक्कली भएको पुष्टि गरे कानुनी सजाय भोग्छु,' उनले भने।
आर्मी फिल्म निर्देशक शोभित बस्नेतले भने फोटो २०५६ सालको भएको बताए। फिल्ममा समावेश 'राजा बैमान' बोलको गीतका लागि नक्कली जनावर बनाएको बस्नेतले दाबी गरे। 'त्यही प्रप्ससँग खिचाउनु भएको फोटो हो,' बस्नेतले भने, ‘ती जनावर सक्कली होइनन्।‘
उनले पोस्ट गरेको फोटो नक्कली हो कि सक्कली भन्ने प्रहरीको अनुसन्धानपछि खुल्नेछ। फोटोमा भएका जनावर सक्कली ठहरिए सापकोटालाई ६ महिनादेखि १ बर्षसम्मको कैद सजाय र २० हजार रुपैयाँ जरिवाना हुनेछ।