.png)
काठमाडौं : लमजुङको दोर्दी खोलामा आएको बाढीमा परी ४ जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन्। बाढीमा परी अपर दोर्खी एको पावर हाउसका लागि काम गरिरहेका मजदूरहरुको मृत्यु भएको हो। बेपत्ता हुनेमा पनि सोही आयोजनाका लागि खटिएका कामदार रहेको लिबर्टी इनर्जी कम्पनीका निर्देशक रामबहादुर पाण्डेले पहिलोपोस्टलाई जानकारी दिए।
'पानी कहाँ थुनिएको थियो र कसरी आयो थाहै भएन। यहाँ पानी परेको पनि थिएन,' घटनास्थलमा रहेका पाण्डेले टेलिफोनमा भने, 'अहिलेसम्म ४ जनाको शव निकालिएको छ। ११ जना बेपत्ता छन्।' निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत आयोजनामा विभिन्न ठेकेदार कम्पनीका कामदारहरु खोलामै काम गरिरहेका थिए। त्यसैले मृत्यु हुने र हराएकाको संख्या अझै बढ्न सक्ने उनले जानकारी दिए।
'करिब ३ सय कामदार यहाँ कार्यरत थिए,' पाण्डेले भने, 'अहिले कुन ठेकेदारको कति मानिस थिए भनेर रुजु गर्ने काम भइरहेको छ।' उनका अनुसार नेपाली सेनाको टोली उद्दारका लागि पुगेको छ। तर साँझ झमक्क भइसकेकाले उद्दारमा कठिनाइ भोग्न परेको छ। '६/७ जनालाई उद्दार गरेर उपचारका लागि पठाइसकियो। अरुको विवरण संकलन भइरहेको छ,' उनले भने।
नदीमा एक्कासी बाढी आएपछि आयोजनाका मेसिनहरु, सवारीसाधन समेत बगेको छ। 'कति सवारी साधन, डोजर परे भन्ने पनि एकिन भएको छैन,' उनले भने।
यो आयोजनाभन्दा माथि रहेको सुपर दोर्दी जलविद्युत आयोजनामा पनि क्षति पुगेको बताइएको छ। यद्यपि, उक्त आयोजनामा भएको क्षतिको यकिन विवरण प्राप्त हुन सकेको छैन। उद्दारका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिए पनि खोला वारी र पारी रहेका मानिसहरुको अवस्था यकिन हुन सकेको छैन। बाढीका कारण मानिसहरु जंगलमा ज्यान जोगाउन पुगेकाले यकिन विवरण आउन नसकेको पाण्डेल बताए।