PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टेस्टमा इङ्ल्यान्डलाई ८५ रनमा अलआउट गर्ने आइरिस टिम, जुन टिमका ५ खेलाडीविरुद्ध खेलेको थियो नेपाल



पहिलोपोस्ट

टेस्टमा इङ्ल्यान्डलाई ८५ रनमा अलआउट गर्ने आइरिस टिम, जुन टिमका ५ खेलाडीविरुद्ध खेलेको थियो नेपाल
नेपाल विरुद्ध ४ ओभरमा ८ रन खर्चेर ३ विकेट लिने केभिन ओ'ब्रयान

इंग्ल्याण्ड आइसीसी एक दिवसीय क्रिकेट विश्वकपको नयाँ च्याम्पियन। गत जुलाई १४ मा न्यूजिल्याण्डलाई धेरै बाउन्ड्री हानेको आधारमा पराजित गर्दै इंग्ल्याण्डले चौथो प्रयासमा विश्वकप ट्रफी उचालेको थियो।

क्रिकेटको मक्का मानिने लर्ड्समा च्याम्पियन बनेपछि इंग्लिस टोलीले हाल छिमेकी आयरल्याण्ड विरुद्ध १ मात्र टेष्ट खेलिरहेको छ।

लर्ड्समा बुधवारदेखि सुरु भएको उक्त टेष्टको पहिलो दिनै २० विकेट झर्‍यो। दुवै टोलीले आफ्नो पहिलो इनिङ्स ब्याटिङ गरे र १०-१० विकेट गुमाए।

यहाँ एकै दिनमा २० विकेट जर्नुभन्दा पनि इंग्लिस टोली ८५ रनमा अलआउट हुनुले सनसनी मच्चायो।

आयरल्याण्ड टेष्ट क्रिकेटमा अफगानिस्तानसँगै कान्छो सदस्य हो। अनि इंग्ल्याण्ड घरेलु मैदान लर्ड्समा खेलिरहेको छ। तर आइरीस बलरहरुले शानदार बलिङ गरेपछि पहिलो दिनको पहिलो इनिङ्समा इंग्ल्याण्ड २३.४ ओभरमा मात्रै क्रिजमा टिक्न सक्यो र ८५ रनमा अलआउट भयो।

इंग्ल्याण्डका लागि तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सक्दा ३ खेलाडीले खाता समेत खोल्न सकेनन्। विश्वकप च्याम्पियन टिमका खेलाडी जोनी बेयर्स्टोव, मोइन अली र क्रिस वोक्स शुन्यमा आउट हुँदा ज्यासन रोएले टेष्ट डेब्युमा ५ रन मात्र बनाउन सके। च्याम्पियन टिमका अर्का सदस्य जो टेष्टका कप्तान समेत हुन जो रुट, उनी २ रन बनाएर आउट भए।

विश्वकप टिममा नरहेका जोए डेन्लीले सर्वाधिक २३ रन बनाउँदा अर्का डेब्युटान्ट ओली स्टोनले १९ र साम कुरानले १८ रन बनाए। रोए बर्न्स ६ र स्टुअर्ड बोर्ड ३ रनमा आउट भए।

 इंग्लिस टोलीको ब्याटिङ यसरी ध्वस्त पार्ने क्रममा आयरल्याण्डका टिम मुर्थागले सर्वाधिक ५ विकेट लिए। यस्तै मार्क अडेरले ३ र बोड रानकिनले २ विकेट लिए।

इंग्ल्याण्ड विरुद्ध टेष्टमा ५ विकेट लिने टिम मुर्थाग

मर्थागले ९ ओभर बलिङ गर्दा २ मेडन राख्दै १२ रन मात्र खर्चे। रानकिनले ३ ओभरमा १ मेडन राख्दै ५ रन खर्चे।

पहिलो दिन जवाफी इनिङ्स ब्याटिङ गरेको आयरल्याण्डले ५८.२ ओभर ब्याटिङ गर्दै सबै विकेट गुमाएर २०७ रन बनायो। एन्डी बेलब्रेनीले सर्वाधिक ५५ रन जोडे।

इंग्ल्याण्डका लागि बोर्ड, साम कुरान र स्टोनले ३-३ विकेट लिए।

इंग्ल्याण्ड विरुद्ध सनसनी प्रदर्नश गरेको यही आइरिस टोली विरुद्ध नेपालले सन् २०१५ मा आइसीसी टी २० विश्वकप क्वालिफायर खेलेको थियो। उक्त खेलमा नेपाल ५३ रनमै अलआउट भएको थियो। त्यस खेल खेलेका ५ खेलाडी अहिले पनि आइरिस टिममा छन्।

नेपाल विरुद्ध सर्वाधिक ३-३ विकेट लिएका स्टुअर्ट थोम्पसन र केभिन ओ'ब्रायनल अनि सर्वाधिक २९ रन बनाउने पउल स्ट्रलिङ र नटआउट १८ रन बनाएका त्यसबेलाका कप्तान विलियम पोटरफिल्ड अहिले इंग्ल्याण्ड विरुद्ध खेलिरहेका छन्।

इंग्ल्याण्ड विरुद्ध अहिले अर्धशतक प्रहार गरेका एन्डी बेलब्रेनीले भने नेपाल विरुद्ध ब्याटिङ गरेका थिए।

उक्त खेलमा नेपाल विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका केभिन ओ'ब्रायनले इंग्ल्याण्ड विरुद्ध नटआउट २८ रन बनाए। पउल स्ट्रलिङले ३६ रन जोडे। अहिले पनि कप्तान रहेका पोटर्फिल्डले १४ रन बनाए।

उक्त खेलमा नेपालले दिएको ५४ रनको सामान्य लक्ष्य आयरल्याण्डले ८ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको थियो।

उक्त क्वालिफायरको समूह ए मा आयरल्याण्ड ६ मध्ये ४ खेल जित्दै ८ अंकसहित शीर्ष स्थानमा रहँदा नेपाल भने १ मात्र खेल जितेर ३ अंकसहित ६ टोली सम्मिलित समूहमा अन्तिममा थियो।

आयरल्याण्ड तेस्रो हुँदै २०१६ को टी २० विश्वकपमा छनोट भएको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell