PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

हराएको मानिस खोज्दा १२ किलो सुन पो भेटियो!



सविन ढकाल

हराएको मानिस खोज्दा १२ किलो सुन पो भेटियो!
प्रतीकात्मक फोटो

काठमाडौं : केही दिनदेखि धनकमल गुरुङ हराएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी पर्‍यो। प्रहरीले गुरुङको खोजी थालिहाल्यो। तर, गुरुङमात्र भेटिएनन् उनीसँगै ठूलो परिमाणको सुनसमेत प्रहरीले बरामद गर्‍यो।

अवैध रुपमा लुकाइराखेको करिब १२ किलो सुन गुरुङसँगबाट बरामद भएको हो।

ओढारमा लुकिरहेको सूचनाका आधारमा प्रहरीले धार्चे गाँउपालिका ३ को खोर्लेसीस्थित एक ओढारमा छापा मारेको थियो जहाँ गुरुङमात्र भेटिएनन्, सुन पनि फेला पर्‍यो। प्रहरीले सुनसहित धनकमल गुरुङलाई नियन्त्रणमा लिएको छ।

‘१२ पिस सुन फेला परेको छ। अहिले कति केजी भन्ने खुलेको छैन,' नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने। एउटा पिस सुन एक किलोको हुनसक्ने आधारमा १२ किलो भएको हुनसक्छ।

चट्टानभित्र बोरामा लुकाइराखेको १२ वटा सुनका बिस्कुट फेला पारेको प्रहरीले जानकारी दिएको छ। १२ किलो सुनको बजार मूल्य ६ करोड बराबर हुन आउँछ। प्रहरी नियन्त्रणमा रहेका गुरुङ गत असार ११ गतेदेखि हराएको प्रहरीलाई सूचना आएको थियो। उनलाई खोजी गर्दा नै सुन फेला परेको प्रहरीले जानकारी दिएको छ।

गुरुङ खच्चड धपाउने काम गर्दै आएका छन्। गाँउमा सुन लुट्न आएको सूचनाको आधारमा आफूले ओढारमा सुन लुकाएको उनले बयान दिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell