PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

कर्णालीका कर्मचारीलाई साइकल : प्रत्येक शुक्रबार साइकलबाट आउजाउ



पी बी खड्का

कर्णालीका कर्मचारीलाई साइकल : प्रत्येक शुक्रबार साइकलबाट आउजाउ

सुर्खेत: कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगर उपत्यकालाई धुलो, धुवाँरहित बनाउन साइकल मार्गका रुपमा विकास गर्न चालु आर्थिक वर्षको बजेट तथा योजना अघि सारेको थियो। सोही बमोजिम कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कर्मचारीले हप्ताको प्रत्येक शुक्रवार साइकलमार्फत कार्यालय आउजाउ गर्ने नियम लागू गर्ने भए छ। 

स्वच्छ र सुन्दर वातावरण बनाउने योजनाअनुसार र मोटरसाइकल किन्ने खर्चले साइकल प्रयोग गर्न थालिएको मन्त्रिपरिषद्को कार्यालयका सचिव केवल भण्डारीले जानकारी दिए। ‘प्रदेश सरकारकै योजनाअनुसार कर्मचारीलाई मोटरसाइकल किन्ने रकमले साइकल किनिएको हो,’ उनले भने,‘झण्डै ३ लाख बढीमा १० वटा नयाँ साइकल किनिएको छ। जसले गर्दा खर्च पनि कम हुने भयो, इन्धनको बचत पनि हुने भयो। वातावरण प्रदुषण रोक्न पनि सहयोग पुग्छ।’

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले कर्मचारीका लागि भन्दै कार्यालयले ३० हजारका दरले १० साइकल कर्मचारीलाई वितरण गरिसकेको छ। कार्यालयमा सबै कर्मचारीले भने साइकल प्रयोग गर्न पाउने छैनन्। कार्यालयमा झण्डै ५० बढी कर्मचारी रहेकोमा नयाँ १० साइकल र पुराना ४ वटा गरी १४ वटा साइकल मात्रै छन्। जसले गर्दा १४ जना कर्मचारीले मात्रै प्रयोग गर्न पाउने छन्। यद्यपि, मुख्यमन्त्रीले भने अहिले नै साइकल चढ्ने छैनन्।

प्रदेश सरकारले समेत चालु आर्थिक वर्षका लागि वीरेन्द्रनगरलाई साइकलमैत्री बनाउन २ करोड रुपैयाँ विनियोजन गरेको छ। वीरेन्द्रनगर उपत्यकाको प्रवेशद्वार सुब्बाकुनादेखि बांगेसिमलसम्म साइकल मार्ग बनाउने प्रदेश सरकारको लक्ष्य छ।

साइकल पनि नजिक घर हुनेका लागि मात्रै उपयुक्त देखिएको छ। टाढा घर र डेरा हुनेका लागि साइकल प्रयोगमा उपयुक्त भने नहुने देखिन्छ। पछिल्लो समय वीरेन्द्रनगर लाई साइकलमैत्री बनाउने अभियानमा समेत युवाहरु लागि परेका छन्। युवाहरुले ‘कर्णाली राइडर्स’ क्लब गठन गरी साइकल यात्रा गर्नेको संख्या बढाउनतर्फ लागेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell