PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

साउन ६ को मन्त्रिपरिषदले के के गर्‍यो निर्णय?



पहिलोपोस्ट

साउन ६ को मन्त्रिपरिषदले के के गर्‍यो निर्णय?

काठमाडौं : सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा पुरुषोत्तमप्रसाद खनाललाई नियुक्त गरेको छ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सोको जानकारी दिएका हुन्।

गत साउन ६ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न आयोजना सञ्चालनका लागि खानेपानी मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको उनले जानकारी दिए।

खानेपानी मन्त्रालयअन्तर्गत २१३ जना, वन मन्त्रालय अन्तर्गत ५० र श्रम मन्त्रालय अन्तर्गत ७२६ जना अस्थायी कर्मचारी भर्ना गर्ने बाटो खुलेको छ।

त्यस्तै मन्त्रिपरिषदले युवा रोजगारीको लागि रूपान्तरण पहल परियोजना कार्यान्वयनका लागि नेपाल सरकारलाई विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट ऋण सहायताका रूपमा प्रस्तावित १२० मिलियन अमेरिकी डलर स्वीकार गर्ने सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने निर्णय गरेको छ।

नेपाल बन्दरगाह प्राधिकरण सम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृती पनि मन्त्रिपरिषदले दिएको छ।

मन्त्रिपरिषदले भारतीय नागरिक मुन्सीलाल पासीको नागरिकता प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ।

राष्ट्रिय परिचयपत्रमा हाल कायम रहेको विवरणमध्ये केही विवरण कार्ड, चिप्स र प्रणालीमा राखी परिमार्जन गर्ने निर्णय गरिएको छ।

कञ्चनपुर जिल्लामा मृत्यु भएका चन्द्रदेव भट्टको परिवारलाई रू ५ लाख राहत उपलव्ध गराउने निर्णय गरिएको छ।

रौतहटमा जीप दुर्घटनामा परी मृत्यु भएका थुनुवाहरू मुकेश भनिने निर्मल साह र रमेशकुमार चौधरीको परिवारलाई प्रति परिवार रू ५ लाख राहत उपलव्ध गराउने निर्णय मन्त्रिपरिषदले गरेको छ।

त्यस्तै, नेपाल र जर्जियाबीच कूटनीतिक तथा अफिसियल/सर्भिस राहदानी बाहकहरूका लागि आवश्यक भिसा उन्मुक्ति दिने सम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिएको छ।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बुढानीलकण्ठ नगरपालिका वडा नं ७ मा ४१ रोपनी १० आना ३ पैसा जग्गा लिजमा उपलब्ध गराउने निर्णय गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell