PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध : सदस्यसचिव सिलवाल



पहिलोपोस्ट

राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध : सदस्यसचिव सिलवाल

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले राखेप र नेपाल ओलम्पिक कमिटीको सम्बन्ध नङ र मासुको जस्तै हुने बताएका छन्। नेपाल ओलम्पिक कमिटीले बिहिबार नवनियुक्त सदस्यसचिव सिलवालको स्वागतमा आयोजना गरेको कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

‘राखेप र ओलम्पिकबीच नङ र मासुको सम्बन्ध हुन्छ। संघबाट नै ओलम्पिकमा प्रतिनिधित्व हुन्छ र ती संघ राखेपमा दर्ता भएका हुन्छन,’ उनले भने,‘राखेप एनओसीसँग मिलेर काम गर्न तयार छ। दुरी बढाएर होइन ,घनिष्ट भएर काम गर्नेछौं।’

उनले ओलम्पिकमा राष्ट्रिय र अन्तर्राष्ट्रियको नाममा मौसमी विवाद देखिएकोमा अब त्यस्तो नहुने बताए। ‘राखेपमा सुदृढ प्रशासनको शुरुआत भएको छ। १ हजार दरबन्दी स्वीकृत भएको छ। विशेषज्ञबाहेक १ जना पनि भर्ना गर्दिन। लोकसेवामार्फत मात्र दरबन्दी अनुसार कर्मचारी भर्ना हुने छ।’ उनले भने।

उनले प्रमुख प्रशिक्षकलाई जिम्मेवारी बनाउने गरी आफूले काम गरेको समेत बताएका छन्। ‘चिफ कोचले जिम्मेवारी लिनुपर्छ। संघसँग समन्वयन गरेर अगाडी बढ्ने हो,’ उनले भने। उनले खेलकुदमा राजनीति छिर्न नदिने तर राजनीतिक दलको प्राथमिकतामा खेलकुदलाई राख्न पहल गर्ने बताए। ‘राम्रो साउना, पौडी पोखरी बनेपछि दलका नेताहरुलाई राखेप आउने तिथि नै तय गरिदिन्छु। केहि समय भएपनि खेलकुदकलाई बुझ्ने छन्। तब खेलकुदमा सुधार हुने छ।’

सरकारको एक स्थानीय तह एक खेल मैदानका लागि ४० करोड बजेट छु्ट्टाएको बताउँदै भने, ‘यो बजेट कम हुन्छ। तर प्रदेश र स्थानीय तहसँग समन्वयन गरेर यसलाई अगाडी बढाइन्छ।’ राखेपमा १ अर्ब ३५ करोडको बजेट बेरुजु रहेकोमा त्यसलाई घटाउनका लागि आफ्नो प्राथमिकता रहेको बताए। स्कुलदेखि ओलम्पिक अभियानअन्तर्गत प्रत्येक स्कुलमा खेल शिक्षक राख्न सकिने बताए। ‘३६ हजार खेलकुद प्रशिक्षकले काम पाउने छन्।’ सिलवालले भने।

सिलवाललाई सफलताको शुभकामना दिर्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले खेलकुद अनुकुल वातावारण सिर्जना गर्नुपर्ने बताए। उनले प्रदेशले छुट्टै खेलकुद विकास ऐन बनाएर कार्य गर्न शुरु गरेकोले त्यसलाई समन्वयन गर्नुपर्ने बताए। ‘हिजोको विवादतर्फ जान चाहान्नौँ। विगतको नकारात्मकतर्फ फर्कनु भन्दा पनि भोलीको सुखद् भविश्यका लागि जुटौ,’ श्रेष्ठले भने, ‘देशमा राजनीतिक परिवर्तन भए पनि खेलकुदमा परिवर्तन हुन सकेको छैन।’ उनले खेलकुद सबै नेपालीलाई एकै ठाउँमा उभिन सक्ने आधार भएको बताए। ‘आज नेपालमा खेलकुदको महत्व बढेको छ,’ उनले भने।

उनले १३ औं दक्षिण एसियाली खेलकुदको केहि खेल प्रदेश २ मा समेत गराउनुपर्ने धारणा व्यक्त गरे। उनले खेलकुदको विकासका लागि संघको स्वायत्तता र संघमा स्वयसेवी रुपमा काम गर्ने व्यक्तित्वहरुको सम्मानको आवश्यकता औँल्याए। उनले सबै सरकारको खेलकुद ऐनबिच एकरुपता ल्याउनका लागि राष्ट्रिय सम्मेलन गर्न समेत सुझाव दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell