PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

टी-२० विश्वकप क्वालिफायर : कुवेतको पहिलो जित, कतारको दोस्रो हार



पहिलोपोस्ट

टी-२० विश्वकप क्वालिफायर : कुवेतको पहिलो जित, कतारको दोस्रो हार
FILE PHOTO

सिंगापुरमा भइरहेको आईसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा कुवेतले पहिलो जित हात पारेको छ। यसअघि दुई खेलमा जितविहिन बनेको कुवेतले शुक्रवार कतारलाई १० रनले पराजित गरेको हो।

निकै प्रतिस्पर्धात्मक खेलमा कुवेतले पहिले ब्याटिङ गर्दै २० ओभरमा १९७ रन बनाएको थियो। जवाफमा कतारले २० ओभर खेल्दै १८८ रन मात्र बनाउन सक्यो।

पहिलो खेलमा मलेसियासँग हारेको कुवेतले वर्षाका कारण सिंगापुरसँग खेलमा अंक बाँडेको थियो।

कतारलाई हराएपछि कुवेतले ३ खेलबाट ३ अंक जोडेको छ। तर २ खेलबाट ३ अंक जोडेको घरेलु टोली सिंगापुर रनरेटमा अगाडि रहँदै शीर्ष स्थानमा छ।

उता दोस्रो हारपछि कतारको ३ खेलबाट २ अंक मात्र छ र विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्ने सम्भावना कठिन बनेको छ।

पहिलो खेलमा सिंगापुरसँग पराजित भएको कतारले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।

इन्डियन एसोसिएसन ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले एडनान इड्रिसको अर्धशतक अनि कप्तान मोहम्मद कासिफको आक्रामक ब्याटिङमा ७ विकेट गुमाएर १९७ रन बनाएको थियो। एडनानले ३२ बल खेल्दै ८ चौका र २ छक्काको मद्दतमा ५६ रन बनाए। कासिफले २० बल खेल्दै १ चौका र ५ छक्का प्रहार गर्दै ४३ रन जोडे। मिट भावसरले ३५ रन बनाए। कतारका नोउमन सरवार र इकबाल हुसेनले २-२ विकेट लिए।

उच्च स्कोर पछ्याउने क्रममा कतारले आक्रामक सुरुवात गर्दै २.२ ओभरमै ३८ रन बनाएको थियो। तर ८ बलमा २४ रन बनाएका ओपनर फैसल जाभेद आउट भएपछि कतारले नियमित अन्तरमा विकेट गुमाउँदै गयो। कप्तान तमुर सज्जाद र नोउमन सरवारले आक्रामक ब्याटिङ गरे पनि कतार जितसम्म पुग्न सकेन र १० रनले पछि पर्‍यो। यी दुईले छैटौँ विकेटका लागि नटआउट ५९ रनको साझेदारी गरे। तमुरले ३२ बल खेल्दै ३ चौका र २ छक्काको मद्दतमा नटआउट ४६ रन बनाए।

सरवारले १३ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा नटआउट ३४ रन जोडे। इनाम उल हकले २८ रन बनाए।

बलिङमा कुवेतका जान्डु हामोउद र सिरिज खानले २-२ विकेट लिए।

आजै सिंगापुर र मलेसियाबीचको खेल पनि हुँदैछ। नेपालले भने भोलि कुवेतसँग तेस्रो खेल खेल्नेछ। कुवेतको त्यो अन्तिम खेल हुनेछ।

अंकतालिका:

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell