काठमाडौं : घरेलु टोली सिंगापुरले आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा अपराजित यात्रा कायम राख्ने क्रममा मलेसियालाई पराजित गरेको छ।
शुक्रवार भएको दिनको दोस्रो खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटले पराजित गर्दै दोस्रो जित हात पारेको हो।
दोस्रो जितपछि सिंगापुरले अपराजित रहँदै ३ खेलबाट ५ अंक जितेको छ। सिंगापुरले अब अन्तिम खेलमा नेपालसँग आइतवार खेल्नेछ। उक्त खेल जित्न सके सिंगापुरले विजेता बन्दै ग्लोबल क्वालिफायर पुग्नेछ।
उता, लगातार दोस्रो हारपछि मलेसियाको भने विजेता बन्ने योजना समाप्त भएको छ। पहिलो खेलमा कुवेतलाई पराजित गरेको मलेसियाले त्यसयता नेपाल र सिंगापुरसँग हार बेहोरेको हो।
सिंगापुरले ५ अंक जोडिसकेको कारण २ अंक रहेको मलेसियाले अब अन्तिम खेल जिते पनि सिंगापुरलाई भेट्ने छैन।
सिंगापुरले मलेसियाले दिएको ९३ रनको लक्ष्य १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेको हो। सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले अर्धशतकीय इनिङ्स खेले। मनप्रित सिंहले १४औं ओभरको दोस्रो बलमा छक्का प्रहार गर्दै टिमलाई जित दिलाए। चन्द्रमोहनले ४२ बल खेल्दै ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ५० रन बनाए। यस्तै मनप्रितले २८ बल खेल्दै २ चौकाको मद्दतमा नटआउट २६ रन बनाए। १८ रन हुँद २ विकेट गुमाए पनि यी दुईले नटआउट ७८ रनको साझेदारी गर्दै जित दिलाएका हुन्।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया १८.४ ओभरमा ९२ रनमै अलआउट भएको थियो। मलेसियाको लागि मुहम्मद स्याहादतले सर्वाधिक २२ रन बनाए।
मलेसियालाई अलआउट गर्न सिंगापुरका कप्तान अमजाद महबुब र अनन्थ कृष्णले ३-३ विकेट लिए। सेलाडोर विजयकुमारले २ विकेट लिए।