PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

२४ वर्षदेखि जावलाखेल युथ क्लबले भोगचलन गरेको सरकारी जग्गामा चल्यो डोजर: 'व्यापारिक भवन हैन, पार्क बनोस्'



सहयोग रञ्जित

२४ वर्षदेखि जावलाखेल युथ क्लबले भोगचलन गरेको सरकारी जग्गामा चल्यो डोजर: 'व्यापारिक भवन हैन, पार्क बनोस्'

ललितपुर: शुक्रबार बिहान जावलाखेलबाट एकान्तकुना जाने बाटोको बीचमा रहेको तरकारी बजारमा डोजर चल्यो।

ललितपुर वडा नम्बर ५ मा पर्ने सो जग्गा उपयोग गर्ने गरी २४ वर्ष अघि जावलाखेल युथ क्लब र तत्कालीन ललितपुर नगरपालिका वडा ५ बीच कागज भएको थियो। सम्झौतामा क्लबले २० बर्षका लागि त्यहाँको जग्गा भोगचलन गर्ने सहमति थियो। २० बर्षकालागि जग्गा पाएको क्लबले त्यहाँ तरकारी बजार स्थापना गर्‍यो र भाडामा लगायो। तरकारी व्यापारीहरुका अनुसार पसलको भाडा २ हजारदेखि ७ हजारसम्म थियो।

तर, सार्वजनिक जग्गा नीजि क्लबलाई भोगचलन गर्न दिएको भन्दै पहिलादेखि नै त्यसको विरोध भएको थियो। विरोधका बाबजुद पनि त्यहाँ तरकारी बजार संचालन भइरह्यो।

आज भने तरकारी बजार रहेको सो जग्गा खाली गराइएको छ। स्टाफ कलेज नजिकै रहेको तरकारी बजारका करिब ५० घरटहरामा डोजर चलाइएको छ। टहरा भत्काउन ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी डोजर लिएर आफैं पुगेका थिए।

उनले अख्तियार र सर्वोच्चको निर्णयपछि सार्वजनिक जग्गा खाली गराइएको प्रतिक्रिया दिए।

उसो त बजार हटाउने विषयमा धेरै विवाद छैन। आज डोजरसहित प्रहरी पुग्दा त्यहाँका व्यवसायीहरुले प्रतिकार गरेनन्। साउन ६ गते नै जग्गा खाली गर्न सूचना दिइएकाले धेरै जसोले पसलबाट सामान हटाइसकेका थिए। डोजरले त्यहाँ बनेका स्थायी संरचना भत्काएको थियो।

बजारका संरचनामा डोजर चलाउँदा चुपचाप बसेका व्यवसायीहरुको एउटै माग थियो, बजार अन्यत्रै व्यवस्थापन गरियोस्। यसबारे ललितपुर महानगरपालिका अहिले छलफलमै छ।

सार्वजनिक जग्गा भोगचलन गर्दै आएको जावलाखेल युथ क्लबका वरिष्ठ उपाध्यक्ष श्याम भण्डारी भन्छन्, '२४ वर्ष अघिदेखि दाइहरुले सहमति गरेर चलाइरहनु भएको हो। नगरपालिकालाई कर पनि तिरिरहेका थियौं। अहिले नगरपालिकाले आफ्नो स्वामित्वमा रहेको जग्गामा बनेका घरटहरा भत्काउन लागेको रहेछ। यसै अनुरुप यो पनि भत्काएको थाहा पाएको छु।'

उसो त सो जग्गाबाट घर टहरा हटाउन पहिला पनि प्रयास भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत सार्वजनिक जग्गामा तरकारी बजार बनेकोले हटाउन निर्देशन दिएको थियो।

२४ वर्ष अघि २० वर्षका लागि भएको सहमतिको म्याद नाघेको धेरै भइसकेको थियो। क्लबले म्याद थप्ने प्रयास गरेपनि सफल हुन सकेको थिएन। कुनै सहमति बिना सार्वजनिक जग्गामा बजार रहेकाले अख्तियारले जग्गा खाली गराउने निर्देशन दिएको थियो।

वडा ५ का अध्यक्ष विकासमान श्रेष्ठका अनुसार यो जग्गामा अनियमितता भएको नसुनेको बताउँछन्। ‘त्यहाँ अनियमितता भएको भन्ने कुरा सुनेको छैन। पहिला नै सहमति भएको रहेछ,’ उनले भने, ‘अहिले भने सहमति थिएन। त्यसैले अख्तियारले जग्गा खाली गराउन भनेको हो।'

व्यवसायीहरु जग्गा भोगचलन गर्न पाउँ भन्दै अदालतसम्म पुगेका थिए। उदालतले पनि जग्गा खाली गराउन आदेश दिएपछि महानगरले आदेश कार्यान्वयन गराएको उनले बताए।

क्लबले भने तरकारी बजार कायम राख्न प्रयास गरेको थियो। महानगरमा गएर उनीहरुले बजार व्यवस्थित गराउनेबारे छलफल गरेका थिए। तर उनीहरुको त्यो प्रयास सफल हुन सकेन र अन्तत: आज तरकारी बजारमाथि डोजर चल्यो।

तरकारी बजार खाली गराइएपनि अब त्यहाँ के बन्ने भन्ने भने निश्चित भएको छैन। वडा अध्यक्ष श्रेष्ठ अब बस्ने नगर कार्यपालिकाको बैठकमा त्यसबारे छलफल हुने बताउँछन्।

अहिले भने त्यस स्थानमा पार्क बनाउने हल्ला चलेको छ। आज प्रमुख जिल्ला अधिकारी जोशीले त्यहाँ खाली ठाउँको अभाव, पार्किङ क्षेत्रको अभावको गुनासो आएको समेत बताएका थिए।

महानगरको स्वामित्वमा रहेको सो जग्गामा समुदायलाई फाइदा हुने खालका पार्क वा अन्य खुल्ला संरचना बनाउने भए स्थानीयरुले खुलेर समर्थन गर्ने बताउँछन् क्लबका उपाध्यक्ष भण्डारी। तर , सार्वजनिक जग्गा हड्पेर भवन बनाउने हो भने त्यो यहाँका स्थानीयलाई मान्य नहुने उनको तर्क छ।

‘उहाँहरुले खुल्ला स्थानको अभावमा तरकारी बजार हटाएको तर्क गर्नु भएको छ। हामीले त्यसमा विरोध गरेका छैनौं,’ भण्डारीले भने, ‘यहाँ पार्क, बगैचा, चिल्डेन पार्क बनाउने हो भने हामी समर्थन गर्छौं। तर यहाँ बिल्डिङ ठ्याउने प्रयास हुन्छ भने हामी त्यसको प्रतिकार गर्छौं।'

उनले थपे, 'हाम्रो मान्यता भनेको स्थानीय स्रोत साधनको उपयोग स्थानीय समाजलाई दिनुपर्छ भन्ने हो। यहाँको संरचनाबाट यहींकै मानिसलाई फाइदा होस् भन्ने हाम्रो चाहना छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell