
काठमाडौं : भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतीय विदेशमन्त्री डा एस जयशंकरसँग भेट गरेका छन्। भारतको विदेश मन्त्रालयमा भएको भेट वार्ताका क्रममा दुई देशबीचको सम्बन्धका विविध आयामका विषयमा छलफल भएको हो।
गत मे २६ मा एस जयशंकरले विदेश मन्त्रालय सम्हालेपछि भएको यो पहिलो भेट हो। यसअघि राजदूत आचार्यले विदेशमन्त्रीसँग भेटका लागि समय माग गरेको भए पनि समय नदिएको समाचार बाहिर आएको थियो।
यसैबीच राजदूत आचार्यले गत बुधवार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए।
पछिल्लोसमय राजदूत आचार्यले भारतमा कूटनीतिक भेटघाटलाई तीव्र बनाएका छन्। उनले भारतको पश्चिम बंगालका गर्भनरसँग पनि यसै महिना भेट गरेका थिए। त्यस्तै भारतका तर्फबाट नेपाल भारत प्रवुद्ध समूहका सदस्यहरुसँग पनि भेटवार्ता गरेका थिए।
आचार्य इपिजीका नेपालतर्फका सदस्य समेत हुन्। इपिजीले प्रतिवेदन तयार गरे पनि सरकारलाई बुझाउन सकेको छैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिवेदन बुझ्नका लागि समय नदिँदा प्रतिवेदन बुझाउन नसकिएको इपिजीका सदस्यहरु बताउँछन्। आज भएको भेटमा यस विषयमा पनि छलफल भएको नयाँ दिल्लीस्थित नेपाली दूतावास स्रोतले जनाएको छ।