
क्रिस वोएक्स र स्टुअर्ट ब्रोडले घातक बलिङ गरेपछि आयरल्याण्ड इंग्ल्याण्ड विरुद्धको टेष्टको दोस्रो इनिङ्समा ३८ रनमै अलआउट भएको छ।
पहिलो इनिङ्समा इंग्ल्याण्डलाई लर्ड्समा ८५ रनमा अलआउट गरेर शनशनी मच्चांएको आइरिस टोली दोस्रो इनिङ्समा भने आफै ध्वस्त भयो। नतिजा इंग्ल्याण्ड १४३ रनले विजयी भयो।
वोएक्स ब्रोडले आयरल्याण्डको पहिलो टेष्ट जित्ने सपनालाई चकनाचुर पारिदिए।
तेस्रो दिन जितका लागि १८२ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले १५.४ ओभर मात्र खेल्दै सबै विकेट गुमाएर ३८ रन बनाएको हो। ओपनर जेम्स म्याककुलमले ११ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन्। इंग्ल्याण्डका लागि वोएक्सले ६ र ब्रोडले ४ विकेट लिए।
टेष्ट क्रिकेटमा आयरल्याण्डको यो स्कोर सातौँ लोएस्ट स्कोर हो। सन् १९५५ मा न्यूजिल्याण्ड इंग्ल्याण्ड विरुद्ध २६ रनमै अलआउट भएको थियो।
लर्ड्समा पहिलो इनिङ्समा इंग्ल्याण्डलाई ८५ रनमा अलआउट गरेको आयरल्याण्ड्सले पहिलो इनिङ्समा २०७ रन बनाएको थियो। तर घरेलु टोलीका लागि दोस्रो इनिङ्समा ज्याक लिच र ज्यासन रोएले अर्धशतक प्रहार गर्दै इनिङ्स सम्हालेका थिए। लिचले सर्वाधिक ९२ रन बनाए भने रोएले ७२ रन जोडेका थिए। इंग्ल्याण्डले दोस्रो इनिङ्समा ३०३ रन बनाएको थियो।