PahiloPost

May 30, 2020 | १७ जेठ २०७७

हत्कडीमा राता मान्छे : माइला अंकल तपाईँलाई आफ्नाले नै चिनेनन्



पहिलोपोस्ट

हत्कडीमा राता मान्छे : माइला अंकल तपाईँलाई आफ्नाले नै चिनेनन्

  • निर्मला घिसिङ -

रोपेर छातीमा संगीनहरु, छिया छिया पारिँदा छातीहरु,

झुक्दैनन् फलामे वीरहरु बरु चढाउँछन् बली आफ्नै शीरहरु

हेर ती कहिल्यै नमर्नेहरु अन्धकारमा उज्यालो छर्नेहरु

आँधीको बेगसरी योद्धाहरु चट्याङ् गर्जे झैँ सेनाहरु

राता झण्डा फरफराउँदै तोप गोला बर्साउँदै

हेर हेर अघि बढिरहेछन् राता मान्छेहरु

आउन हजारौं बाधाहरु बनेर बमका धमकाहरु

ध्वस्त पार्छन् बैरीका ट्रेन्चहरु बारुद खाइ आगो ओकल्नेहरु

गीतकार माइला लामाको शब्द र संगीतमा रहेको यही गीत सुन्दै सुनाउँदै अगाडि बढेका थियौं। हाम्रा लागि माइला अंकल नै जनयुद्धका कमाण्डर थिए। जनयुद्ध हाँक्ने महान कमाण्डर। हामीलाई थाहा थिएन प्रचण्ड को हुन्? बादल को हुन्? माइला अंकलकै छत्रछायाँमा लागेर जनताको गीत गाउँदै हिँड्यौं।

१० वर्षे जनयुद्ध अन्तिम उचाइतिर थियो। आठ कक्षा पढ्दा पढ्दै माइला अंकलका यीनै गीतहरु सुनेर महान समरमा होमिएकी हुँ। २०५९ सालतिर माइला अंकलकै गीत होइन भाषण सुनेर वर्गीय मुक्तिका लागि हामी पनि होमिएका थियौं। त्यतिबेला हामीलाई मरिन्छ मारिन्छ केही थिएन। यति थाहा थियो, युद्धले वर्गीय मुक्ति हुन्छ।

उहाँका गीत संगीतबाट क्रान्तिको चेत धेरै नेपालीमा पस्यो। उहाँकै गीत गाउँदै जनसेनाहरु युद्ध लडे। हिजो युद्ध लड्नेहरु कहाँ छन्? अहिले कसैलाई थाहा छैन। क्रान्ति रोकियो परिवर्तन भयो, भनियो। सानोमा पढाइ छाडेर हिँडेकी म अहिले अध्ययन गर्दैछु। हिजो पनि गीत गाउँदै क्रान्तिमा हिँडेको मान्छे। हिजो आफ्ना लागि गीत गाएको होइन, अहिले भने आफ्ना लागि गाउँदैछु।

माइला अंकल अझै पनि जनताकै लागि गीत गाउँदै हुनुहुन्छ। सुरुमा युद्धमा होलटाइमर कार्यकर्ता भएर सामना परिवारमा जोडिएको म अहिले यो परिवारमा छैन। 

कलाकारहरु 'चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो' भन्ने उखान छ। हो त्यस्तै भएका छन् कलाकार। एउटा परिस्थिति र एउटा कालखण्डमा हाम्रो आवश्यकता देखिन्छ। त्यही आवश्यकता पूरा नहुँदासम्म हामी पार्टीभित्र पनि महान हुन्छौं। हामीलाई मानिन्छ। परिस्थिति बद्लियो, हाम्रो आवश्यकता रहेन। हामी काम नलाग्ने भयौँ भन्ने महसुस भइरहन्छ। भूमिका कम हुँदै गएको महसुस भयो। एउटा सानो कोठा, कहिले ग्यास हुँदैन्थ्यो। कहिले मट्टितेल। आलुको झोलमा धेरै छाक टारियो। निश्चित समय कलाकार गधा जस्तै जोताइयो अनि पाखा लगाइयो। त्यही महसुस भएर बाहिर निस्किएकी हुँ।

युद्धमा लड्ने सिपाहीहरुले बन्दुक लिएर युद्ध मैदानमा जान्छन्। एउटा कलाकार तीनै सिपाहीहरुसँगै उनीहरुको उर्जा बढाउन मादल, सारंगी लिएर युद्ध मैदानमै पुग्छन्। बन्दुक बोक्नेहरु शक्तिशाली हुँदा कलाकारहरु निरीह रहिरहे।

पार्टी शान्ति प्रक्रियामा आयो। सेनाहरु क्यान्टोन्मेन्टमा बसे। उनीहरुको रेखदेखका लागि सरकारले भत्ता दियो। खर्च दियो। उनीहरुसँगै युद्ध मैदानमा होमिएका हामीहरु काठमाडौंको एउटा सानो कोठामा थन्कियौँ। क्यान्टोन्मेन्टमा बसेका लडाकुले केही पैसा त पाए। तर, हामी कलाकारले के पायौँ? काठमाडौंमा पुग्दा उहाँले हामीलाई अभिभावकत्व प्रदान गर्नुभयो। उहाँले सबैलाई सम्मानका साथ कलाकारहरुको आवश्यकताहरु आफ्नो गाँस कटाएर पनि पूरा गर्नुहुन्थ्यो। 

कुनै कार्यक्रम पर्‍यो भने ल तिमीहरु आओ, गाओ भन्ने अनि कार्यक्रम सकिएपछि कहाँ छन् के गर्दै छन् पत्तो हुन्नथ्यो। यही अवस्था पनि हो म बाहिरिएर पेटका लागि गाउन थालेको। अस्तिमात्र एउटा गीत रेकर्ड गराएँ। त्यो गीत रेकर्डिङकै क्रममा एउटा तस्विर देखेँ। हाम्रा अभिभावक, हाम्रा गुरु, माइला अंकलको हातमा हत्कडी। कसले लगायो? हतकडी लगाउने पनि आफ्नै हुन्।

'कसले बनायो दाजै उडी जाने बस

हाम्रो देशै उडायो हाम्रो साखै उडायो हरर उडेर नजाउन है नबनाइ कहाँ हुन्छ आफै देशलाई

लाला र बाला जहान बच्चा चटक्कै छाडेर

के लानु छ र हेपाइको मराई धन पैसा जोडेर।'

नेत्रविक्रम चन्द 'विप्लव' को शब्द माइला अंकलकै संगीतमा मैले गाएको गीत हो यो। साँच्चिकै लालाबाला छाडेर हिजो क्रान्तिमा होमिनु भएको हो। जनताकै गीत गाउँदै हुनुहुन्थ्यो। चाहेको भए उहाँले कमाउन सक्नुहुन्थ्यो जसरी अरु नेताहरु कमाएका छन्। तर, उहाँ जनताको कलाकार जनताकै लागि गाउँदै हिँड्नु भयो। क्रान्तिमै होमिँदा बम विस्फोट हुँदा एउटा आँखाको ज्योती गुमाउनु भयो। अहिले पनि अरुले बोलेको सुन्न श्रवण यन्त्र प्रयोग गर्नुपर्ने अवस्था छ। हातका औलाहरु चिरिए। तर, पनि उहाँको राजनीतिक चेत हिजो जे थियो आज पनि त्यही छ।

उहाँका हातमा हत्कडी लाग्दै गर्दा अहिले उहाँलाई सम्झिरहेकी छु।

आफ्नो जीवनको आधा हिस्सा जनताको गीत गाएर जनतालाई जागरुक पार्दै हिँडेका एउटा कलाकार, जनतालाई शोषण उत्पीडनको जंजिरबाट मुक्त गराउनक भन्दै हिँडेको एउटा श्रष्टाको हातमा जंजिर बाँधिएको छ। एउटा कलाकारको नाताले मैले उहाँलाई जनताको गायक, जनताको कलाकारको रुपमा चिन्छु। जनताको गीत गाउने कलाकारको हातमा हड्कडी अहिले उनकै सहयात्रीहरुले बाँधेको देख्दा अमिलो लाग्छ।

अहिले उहाँको पक्राउपछि उहाँको योगदानको विषयमा चर्चा भइरहेका छैनन्। मुलधारका मिडियामा पनि उहाँका बारेमा कमै सुनिएका छन्। विप्लव नेकपाको उपत्यका इन्चार्ज पक्राउ भनिएको छ। बम विष्फोटका योजनाकार भनिएको छ। चन्दा असुलीका नाइके भनिएको छ। म यो सब चिन्दिनँ। मैले उहाँलाई राजनीतिक नेता र विष्फोटका योजनाकारका रुपमा चिन्दिनँ। म त्यता जान पनि चाहन्न। मैले हिजोदेखि आजसम्म चिनेको माइला लामा भनेको जनताको कलाकार हो। जनताको गायक हो। यस पाटोमा कसैले चिनेनन्।

काठमाडौंमा तीन चार ठाउँ विस्फोट हुँदा उहाँका पहिलेका योगदानहरु पनि मेटिएका हुन् र? प्रश्न यो हो। हिजो आन्दोलनमा अंगभंग भएर गणतन्त्र प्राप्ति लागि योगदान गरेको व्यक्ति हो उहाँ। उहाँको हातमा हत्कडी हुनु भनेको सम्पूर्ण योद्धाहरु अवमूल्यन पनि हो।

उहाँ राजनीतिक व्यक्ति, आन्दोलन राजनीतिक अनि व्यवहार चाहिँ अपराधिक। मलाइ चित्त नबुझेको यहीँ हो। यस विषयमा कसैले बोल्दैनन्। उहाँ आस्थाको बन्दी हो मेरो बुझाइमा। हिजो माओवादी युद्धमा लागेकालाई पक्राउ गरी बन्दी बनाइन्थ्यो। आज उहाँहरुलाई हिजो कै माओवादी युद्धका कमाण्डरहरुले बनाउँदै हुनुहुन्छ। दु:ख लागेको छ।

उहाँको पक्राउप्रति सत्तारुढ ने क पाकै मान्छे नै स्तब्ध छन्। मौन बसेको छन्। कोही त बोल्नुपर्‍यो। राजनीतिबाट टाढिएको १० वर्ष पुग्नै लाग्दा म बोल्न बाध्य भएँ। हिजो पनि यस्ता घटना भएका थिए। यदि त्यस्तो हो भने प्रचण्ड बादलहरु पनि उत्तिकै दोषी र जिम्मेवारी हुनुहुन्छ। उहाँहरुलाई पनि पक्राउ गर्नु।

आस्था मेरो माओवादमै हो। हिजोका माओवादीहरु एक ठाउँमा हुनुपर्छ भन्ने हो। तर, त्यस्तो भइरहेको छैन। हिजोका मित्रहरु दुश्मन बनेका छन्। हिजोका दुश्मनहरु मित्र बनेका छन्।

शान्ति प्रक्रियामा आएपछि इमानको राजनीति कसैले गरेन। गरेको भए परिवर्तनका लागि योगदान गरेका मान्छेहरुलाई संरक्षण गर्न सक्नुपर्थ्यो। शान्ति प्रक्रियामा आएपछि पार्टीमा भित्रिएका व्यक्तिहरुको हालिमुहाली भयो। उनीहरु शक्तिशाली भए। हिजो क्रान्तिमा लागेर पार्टी खडा गर्नेहरु पाखा लगाइए। हिजोका कर्मठ कार्यकर्ताहरुको अवस्था अहिले के छ? एउटा परिस्थितिमा हुँदा उनीहरुको आवश्यकता थियो। अहिले भएन।

हो माइला लामा अंकलको हकमा पनि त्यस्तै भएको हो। सत्तामा पुगेपछि हिजोका योद्धाहरुको योगदान भुल्ने काम भयो। उहाँमात्र होइन यहाँ धेरै कलाकारको अवस्था त्यस्तै छ। उहाँ चिनिएको पात्रमात्र हो। अरु पनि पाखा लागेका छन्।

उनीहरुले गरेको योगदानको फल खाएर एउटा योद्धालाई जेल हान्न अर्को योद्धा हिजोको दुश्मनसँग मिलेको देख्दा दु:ख लाग्छ।

माइला लामाका गीतमा उतारिएका भावहरु उहाँको जीवनमा लागू हुन्छन्। गीतमा जस्तै आदर्श जीवन बाँचेको मैले देखेको छु। कोही नांगै छ भने उहाँले आफ्नै कपडा दिएको देखेको छु। बाहिर एउटाभित्र अर्को छैन उहाँको जीवन। उहाँलाई माओवादीमा लागेका कसैले बिर्सिँदैनन्। धेरै माओवादीहरु उहाँकै गीत सुनेर हुर्किएका हुन्। तर, अहिले कसरी बिर्सिरहेका छन् उहाँलाई?

हिजोको कुरा बिर्सिसक्यो। हिजोका योद्धा कहाँ गए? हिजो अफ्ठेरो परिस्थितिमा पार्टी बनाउने अहिले को छन् त? खुसिराम पाख्रिन गाउँदा गाउँदै ढल्नुभयो। उहाँ मरेर जाँदा पनि उहाँमाथि प्रश्न उठ्छन्। मरेर जाँदा समेत उनीमाथि तामाङको पक्षमा नलडेको भन्ने आलोचना हुन्छ। एउटा देशको लागि लडेको मान्छे तामाङहरुका लागि मात्र होइन देशकै लागि हो। माइला लामाको पक्षमा पनि यस्तै भएको हो। मर्दा पनि सम्मान नगर्नेले जिउँदो हुँदा के सम्मान गर्थे?

खोज्दछन् मेरा यी आँखाहरु ती साथीहरुलाई

जसको रगतले रंगीयो धर्ती ती महान यात्रीलाई

डोकोमा खाना बोकेर जंगल ल्याउने ती आमालाई

झिकेर मुटु दिउँला झै माया गर्ने ती बाबालाई

घसेर संगीत आगनको डिलमा गोलीले उडाए

बोरामा ज्युदै हालेर कैयौँ नदीमा बगाए।

माइला लामा अंकलका यी शब्दहरुले हामीलाई घोच्छन्।

साँच्चिकै हाम्रा आँखाले हिजोका साथीहरुलाई खोजिरहेका छन् त? प्रश्न यही सोध्न मन छ। हिजो युद्धमा सहयोग गर्नेहरुलाई हामीले भुल्दै गयौं। हिजो जनताको झुपडीमा पुग्दा माया गर्ने बाबाहरुलाई हामीले काठमाडौं पुगेपछि फर्किएर हेर्‍यौं त? हिजो युद्ध लड्न हिँडेका जनसेनालाई डोकोमा खाना बोकेर जंगलसम्म ल्याइदिने आमालाई हामीले सम्झिएका छौँ त?

(घिसिङ तत्कालीन नेकपा (माओवादी) माओवादीको सामाना सांस्कृतिक परिवारकी सदस्य हुन्। घिसिङ अहिल व्यवसायिक गायनमा सक्रिय छिन्। घिसिङसँग विधुर ढकाल र नेत्र तामाङले गरेको कुराकानीमा आधारित हो यो लेख)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell