काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको तेस्रो खेलमा आज नेपालले कुवेतसँग प्रतिस्पर्धा गरिरहेको छ।
पहिले ब्याटिङ गरेको कुवेतले नेपाललाई जितका लागि १४२ रनको लक्ष्य दिएको छ। नेपालका कप्तान पारस खड्काले टस जित्दै फिल्डिङ रोजेपछि ब्याटिङ आएको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको हो। सात नम्बरमा ब्याटिङ गरेका कुवेती कप्तानी मुह्मद कासिफले नटआउट ४९ रन बनाए।
नेपाली स्पीनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले उत्कृष्ट प्रदर्शन गर्दै ६ विकेट लिएका थिए। तर, अन्तिम दुई ओभरमा कुवेतले ३० रन जोड्दै सम्मानजनक स्कोर बनाएको हो। कासिफले दशौँ विकेटका लागि इल्यास अहेमदसँग १.४ ओभरमा २९ रनको साझेदारी गरे।
नेपालका लागि बसन्त र सन्दीपले ३-३ विकेट लिए। ४ ओभरमा बसन्तले २० र सन्दीपले २१ रन खर्चे। कुवेत विरुद्ध ३ विकेट लिएपछि बसन्तले आफ्नो विकेट संख्या २५ पुर्याएका छन् र नेपालका लागि टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिनेमा सोमपाल कामीलाई उछिनेका छन्। सोमापलले आज ४ ओभरमा २४ रन खर्चे भने विकेट लिन सकेनन्। सोमपालको नाममा टी २० मा २३ विकेट छ।
यस्तै करण केसीले ४ ओभरमा ४० रन अर्चेर २ विकेट लिए। उनले आफ्नो अन्तिम दुई बलमा १२ रन खर्चेका थिए। अभिनाश बोहराले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए।
कुवेतका लागि कप्तान मुहम्मद कासिफले शानदार ब्याटिङ गर्दै नटआउट ४९ रन बनाए। उनले ३६ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे।
यस्तै अडनान इड्रिसले सर्वाधिक २५ रन बनाउँदा मोहम्मद बस्लामले २३ रन बनाए।