
काठमाडौं : बसन्त रेग्मी र सन्दीप लामिछानेको उत्कृष्ट बलिङपछि कप्तान पारस खड्काको शानदार अर्धशतकको साथमा नेपालले सिंगापुरमा भइरहेको आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलको तेस्रो खेलमा कुवेतलाई ७ विकेटले पराजित गरेको छ।
लगातार दोस्रो जितपछि नेपालले ३ खेलबाट ४ अंक जोडेको छ। अब नेपालले अन्तिम खेल आइतवार सिंगापुरसँग खेल्नेछ। त्यही खेल युएइमा हुने ग्लोबल क्वालिफायर पुग्नका लागि निर्णयक हुनेछ। सिंगापुरलाई पराजित गरेमा नेपाल क्वालिफायरको बिजेता बन्दै ग्लोबल क्वालिफायर पुग्नेछ।
पारसले ६८ रन बनाएपछि नेपालले १४२ रनको लक्ष्य १५.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो। अनफिट भएपछि मलेसिया विरुद्धको अघिल्लो प्रतियोगिता नखेलेका पारसले कुवेत विरुद्ध पुनरागमन गर्दै अर्धशतक प्रहार गरे। पारसले ४२ बल खेल्दै ६८ रन जोडे। टी २० आईमा पारसको यो तेस्रो अर्धशतक हो।
पारस र ज्ञानेन्द्र मल्लले पहिलो विकेटका लागि ३.५ ओभरमा ४४ रनको साझेदारी गर्दै नेपाललाई गतिलो सुरुवात दिलाएका थिए। ज्ञानेन्द्र १३ बलमा १९ रन बनाएर आउट हुँदा नेपालले पहिलो विकेट गुमायो। तर, पारसले दोस्रो विकेटका लागि शरद भेषावकरसँग अर्धशतकीय साझेदारी गर्दै नेपाललाई जितको आधार तयार पारेका थिए।
दोस्रो विकेटका लागि पारस र शरदले ७८ रनको साझेदारी गरे। टी २० आईमा नेपालले दोस्रो विकेटका लागि पहिलो अर्धशतकीय साझेदारी गरेको हो। यस्तै नेपालको यो तेस्रो उच्च साझेदारी हो। १४ ओभरको पहिलो बलमा पारस खड्का कासिफको बलमा सिरज खानबाट क्याचआउट भए। उनले ४२ बल खेल्दै ११ चौका र १ छक्का हाने। पारस नेपालको लागि टी २० आईमा पाँच सय रन पूरा गर्नबाट ५ रनले मात्र चुके। उनले १९ इनिङ्समा ३ अर्धशतक सहित ४९५ रन बनाएका छन्। सोही ओभरको चौथो बलमा दीपेन्द्र सिंह ऐरीले पनि कासिफकै बलमा एडनाबाट क्याचआउट भएपछि नेपालल १२४ रनमा तेस्रो विकेट गुमायो।
तर शरदले इनिङ्स सम्हाल्दै नेपाललाई जितसम्म पुर्याए। शरदले ३० बल खेल्दै ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३८ रन बनाए। उनले १६औं ओभरको पाँचौ बलमा छक्का प्रहार गर्दै जित पक्का गरेका थिए।
कुवेतका लागि मुहम्मद कासिफले २.५ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।
त्यसअघि टस हारेर पहसले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर बनाएको हो। सता नम्बरमा ब्याटिङ गरेका कुवेती कप्तान मुहम्मद कासिफले नटआउट ४९ रन बनाए।
नेपाली स्पीनरद्वय सन्दीप लामिछाने र बस्नत रेग्मीले उत्कृष्ट प्रर्शन गर्दै ६ विकेट लिएका थिए। तर अन्तिम दुई ओभरमा कुवेतले ३० रन जोड्दै सम्मानजनक स्कोर बनाएको थियो। कासिफले दशौँ विकेटका लागि इल्यास अहेमदसँग १.४ ओभरमा २९ रनको साझेदारी गरे।
कुवेतका कप्तान मुहम्मद कासिफले शानदार ब्याटिङ गर्दै नटआउट ४९ रन बनाए। उनले ३६ बल खेल्दै २ चौका र ४ छक्का प्रहार गरे। यस्तै अडनान इड्रिसले सर्वाधिक २५ रन बनाउँदा मोहम्मद बस्लामले २३ रन बनाए।
नेपालका लागि बसन्त र सन्दीपले ३-३ विकेट लिए। ४ ओभरमा बसन्तले २० र सन्दीपले २१ रन खर्चे। कुवेत विरुद्ध ३ विकेट लिएपछि बसन्तले आफ्नो विकेट संख्या २५ पुर्याएका छन् र नेपालको लागि टी २० अन्तर्राष्ट्रियमा सर्वाधिक विकेट लिनेमा सोमपाल कामीलाई उछिनेका छन्। सोमापलले आज ४ ओभरमा २४ रन खर्चे भने विकेट लिन सकेनन्। सोमपालको नाममा २३ टी २०आई विकेट छ।
यस्तै करण केसीले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिए। उनले आफ्नो अन्तिम दुई बलमा १२ रन खर्चेका थिए। अभिनाश बोहराले ४ ओभरमा ३५ रन खर्चेर १ विकेट लिए।