‘पत्रकार पनि कस्ता, कस्ता! साधारण रूपमा कुरा गर्दा पनि यस्तो उस्तो, काहाँ, किन, कसरी कति सोध्न सकेका?’
सँगै हिँडिरहेका तीनजना महिलामध्ये एकको बोली सुनियो।
दिउँसोको ३:४५ बजेको थियो । २०७५ साउन ११ गते बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी १३ वर्षीया किशोरी निर्मला पन्तको घर पुग्न झन्डै १ किलोमिटर बाँकी नै थियो। उनको शव फेला परेको ठाउँ नजिकैको सडकछेउ पुग्न भने करिब १ सय मिटरको दुरी मात्रै बाँकी थियो। सँगै हिँडेका तीन जना महिला मध्ये एक जना साइकल डोहोर्याउँदै थिइन्।
सडकमा मानिसहरुको आउजाउ जारी छ। सुरुमा उनीहरूको ध्यान हामीतिर परेको रहेनछ। दीपेन्द्र ओली र म मोटरसाइकलमा। गति कम गरेपछि साइकल डोर्याउँदै गरेकी महिलाले हामीतिर हेरिन्, हामीले उनीतिर। कयौं पटक देखेको उही अनुहार।
साइकल डोहर्याइरहने अरु कोही थिइनन्, उनी निर्मला पन्तकी आमा दुर्गादेवी थिइन्। हामीले कयौँ पटक देखेको अनुहार। मास्क हटाएपछि उनले पनि चिनिन्।
कालोपत्रे गरिएको सडकसँगै जोडिएको नहर। नहरसँगै बाक्लै रुखहरु। नहर पार गरेर करिब ६० मिटर दुरी तय गरेपछि उखुबारी। हरेक दिन यही बाटो हुँदै बजार जाने गर्छिन् दुर्गादेवी। यहाँ आइपुग्दा उनको मन सधैं ढक्क फुल्छ। निर्मला पन्त हराएको एक वर्षपछि साउन १० गते नै उनीसँग जम्काभेट पनि त्यहीनेर भएको थियो जहाँ ठीक एक वर्षअघि आजकै दिन निर्मलाको शव भेटिएको थियो।
दुर्गादेवीको मुहारमा परिचित भाव त देखियो तर त्यसमा कुनै मुस्कान खुलेको थिएन।
'पत्रकारहरु नै पो रहेछन्,' उनले भनिन्, ’तपाईँहरूकै कुरा गर्दै थियौं।'
'कति पत्रकार आउँछन् भिडियो बनाउनुपर्यो भन्दै। कसले के सोध्छन्, कसले के। हैरान छु म त,' पत्रकारकै विषयमा कुरा गर्नुको सन्दर्भ उनले उप्काइन्, 'अलिकति कम हुन लागेको पीडा पनि फेरि कोटया्उन थाल्छन्। तिनीहरुकै कुरा गरिरहँदा तपाईँहरू पनि ठिक्क आइपुग्नु भो।'
कुरा टुङ्गिन नपाउँदै सँगै रहेकी कृष्णा नेपालको बोली सुनियो- ‘घटना घटेको पनि ऊ त्यहीँ त हो।’
'साउन ११ गते पहिलो पटक मैले नै साइकल देखेकी हुँ,' निर्मलाकी छिमेकी कृष्णाले भनिन्, 'गुरु पूर्णिमाको दिन थियो, राधाकृष्ण मन्दिर जाँदै गर्दा यही मैले साइकल देखेँ।'
उनले 'साइकल कसको हो कुन्नी' भन्दै खासै वास्ता गरिनन्। 'तल चोकमा पुगेर सबैलाई खबर गरेँ। पछि त निर्मलाकै साइकल पो रहेछ,' एक वर्षअघिको घटना सम्झिइन् उनले।
यहाँ पुग्दा मौसम फेरबदल भइरहेको थियो। घरी बादल, कतै पानी त कतै घाम । घटनास्थलमा कृष्णाले साइकल देख्दाको दिन पनि यस्तै थियो।
'त्यो दिन पनि 'सेम' यस्तै थियो। मौसम पनि यस्तै। खोलामा पानी पनि यस्तै, बरु अलि माथि हुँदो हो,' एक वर्षअघि आजैका दिन उनले सम्झिइन्, 'साइकल भने म आउँदासम्म अलि पर पुगिसकेको थियो।'
दोहर्याएर त्यहाँ पुग्दा कृष्णाले देखिन् भिडभाड। ‘कसले भन्यो कुन्नी! भिडबाटै पारीपट्टी एउटा सानो र एउटा ठूलो पाइला छ भन्ने चाहिँ मैले सुनेँ,’ उनले भनिन्।
उनीहरुसँग भेट भएको यो ठाउँ बादलले ढाकेको थियो र एकाएक झरी पर्न थालिहाल्यो। एक छिन अघिसम्म बादलकै बीचबाट भए पनि घाम चरक्क हुनेगरी देखिएको थियो। उत्तिखेरै पानी बर्सिहाल्यो।
'आज पनि भगमानले हजुहरुसँग ठिक यहीँ ठाउँमा भेटायो। पोहर साल पनि यस्तै थियो। घरी पानी पर्ने घरी घाम लाग्ने,' दुर्गादेवीले भनिन्, 'सायद, उसको आत्मा रोएर होला।'
यति भनिनसक्दै दुर्गादेवी भक्कानिइन्। उनका आँखाबाट आँसु झरे, आकाशबाट पानी पनि।
++++
दुर्गादेवीको छोरी निर्मलाको बलात्कार पछि हत्या भयो। तीन दशक पार गरेकी दुर्गादेवीका लागि यो पहिलो पीडाको घटना भने होइन। टुहुरी दुर्गादेवी ठूलो'बाको घरमा हुर्केकी हुन्। तीन छोरी जन्माएपछि उनका श्रीमानले दिएको पीडाको घाउ नपुरिने गरी बसेको छ। उनका श्रीमानले अर्को बिहे गरेर हिँडेका थिए। जसोतसो छोरीहरुलाई हुर्काउँदै, पढाउँदै आएकी उनीमाथि अर्को बज्रपात भएको थियो - निर्मलाको हत्याले।
जीवनमा सधैं संघर्ष गरेकी उनी निर्मलाका लागि न्याय खोज्न फेरि संघर्षमा उत्रिइन्। उनलाई लागेको थियो- उनीसँगै लाग्ने ठूलो भिड साच्चै न्यायका लागि उत्रेको हो। त्यसैले अधिकारकर्मी र नजिक रहेका जसले जे भन्थ्यो उनी त्यसैअनुसार चल्न थालिन्।
तर, एक वर्षको अनुभवपछि उनलाई लाग्छ - अधिकांशले न्यायका लागि साथ दिए। त्यही भित्र केही यस्ता मानिसहरु पनि थिए जो आफ्नै स्वार्थका लागि उनीसँगै जोडिएका थिए। कतिपय समय उनी तिनैका बहकाइमा परिन्।
'छोरीको हत्या भएको पीडा त आमासँग छँदैछ, त्यसको फाइदा उठाउँदै आफ्नो फाइदाका लागि हिँड्नेहरू पनि भेटिए,' दुर्गादेवीले भनिन्, 'बुझ्दै जाँदा सधैभरी उनीहरूकै पछि लागेर हिँड्दा छोरीको न्याय खोज्ने बाटो पनि हराउने डर भयो।'
यी सबै देख्दा उनीमाथि पीडा थपिनेमात्र भएको ठम्याइकी रहिछिन् उनले।
गएको एक वर्षमा छोरीको हत्याको घटनाले भन्दा पनि उनलाई आफन्तहरूको व्यवहारले बढी चोट दिएको छ।
'छोरीले यसरी मृत्युवरण गर्नुपर्यो। यो घटना त सास रहुन्जेल कसरी बिर्सुँला?,' उनले भनिन्, 'तर आफन्तहरूले गाउँ नै निकाला गर्नुपर्छ भन्नेसम्मको धम्की दिएपछि झन् पीडा भयो।'
१७ वर्ष अघि बिहे गरेर यही गाउँमा भित्रेदेखि नै उनका भागमा सुख कम दु:ख ज्यादा पर्यो। कान्छी छोरी सरस्वती पेटमा हुँदा श्रीमान यज्ञराज पन्तले सौता हाले। लगातार छोरी पाएको भन्दै आफन्तहरुले हेयकै दृष्टिले हेरिरहे उनीमाथि।
'छोरीहरूलाई समेत टर्चर भयो,' निर्मलाको मृत्युपछि पनि उनीविरुद्ध आफन्तहरु लागिरहेको सुनाइन्, 'छरछिमेकबाटै त्यस्तो र उस्तो सुन्दा दुई रात त झिमिक्क निदाउन पनि सकिन।' उनकी जेठी छोरी मनीषाले एसईई परीक्षा दिइन्, यसै वर्ष। उत्तीर्ण त भइन् तर सोचेअनुसार परिणाम आएन। किनकि गएको सिंगो एक वर्ष उनीहरु पीडाबाटै गुज्रिरहे। त्यतिमात्र होइन, राहत बुझेको विषय होस् या दिलिप विष्टमाथि शंका प्रकट गर्दा होस्, उनीविरुद्ध खेदो खन्नेहरु उत्रिहाल्थे। त्यसमाथि नगरपालिकामा काम गर्न थालेपछि त धेरैको आँखी नै भइन्।
'राहत बुझ्दा 'सेठनी' भइ भन्छन्, आजभोलि काम गर्न जान्छु त्यहाँ जाँदा पनि अफिसर भइ भनेर आरोप लगाउँछन्,' दुर्गादेवीले भनिन्, 'जीवनभर दुःख भोगियो, यी छोरीहरूका लागि भए पनि जेनतेन दुःख काट्नुपर्यो भनेर बाध्यताले बाँचेकी छु। अब त पीडा पनि सहने बानी परिसक्यो।'
घर खर्चको जोहोका लागि नगरपालिकामा काम थालेकी छिन् उनले। 'पहिले जसरी चटपटे बेचेर गरिखाऊँ भने छोरीको त्यसैकारण हत्या भएको भनेर मन लाग्दैन,' भनिन्, 'घरमै बसेर पनि मानसिक सन्तुलनमै समस्या आउन सक्ने जस्तो हुन थालेकाले पनि काम गर्न थालेकी हुँ।'