
नेपालयको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा संगीतकार विक्रम गुरुङले आफ्नो सांगीतिक सिर्जना प्रस्तुत गर्दैछन्। शुक्रबार र शनिबार उनले १४ गीतसहित प्रस्तुति दिए। आइतबार पनि उनी कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा प्रस्तुत हुँदैछन्।
हङकङमा शिक्षण पेशा सेवा निवृत्त गुरुङ पलेँटीकै लागि दुई साताअघि नेपाल आएका हुन्। गुरूङले संगीत भरेको गीत ‘कतै टाढा तिमीबाट पुगेँ भने, कल्पेर नबस्नु’ गायक अरूण थापाको पहिलो रेकर्डेड गीत थियो।
उनले सोही गीतबाट कार्यक्रमको सुरुवात गर्छन्। अरूणसँगको स्मृति सुनाउँदै। उनकै सम्झनामा ‘आँखाको निँद खोसी लाने, हृदयको तरङ्ग छेडी जाने’ बोलको गीत गाए। जसमा विक्रम गुरुङकै शब्द रचना छ।
अन्य गीतहरु ‘जति माया आफ्नो लाग्छ, त्यति माया तिम्रो पनि’, ‘विरह चले जस्तो लाग्छ, पहाड सुके जस्तो लाग्छ’, ‘मेरो भाग्य मैसँग रिसाए जस्तो’, ‘किन मुटुको ढुकढुकी बढ्यो’, ‘रात राम्रो तारा जूनले’ लगायत गीत गाए। जसको स्वरमा साथ दिइन् गायिका मीना निरौलाले।
गायक अरूण थापाको स्मृति गर्दै सुरु भएको कार्यक्रम उनकै सन्दर्भसहित टुंगियो। अरुणको ‘भुलुँ भुलुँ लाग्यो मलाई’ गाएर कार्यक्रम समापन भएको थियो।
विक्रमलाई संगीतमा साथ दिए बेस गीटारमा अम्बर गुरुङ ‘पोखरेली’, कीबोर्डमा दिनेश रेग्मी, बाँसुरीमा बलराम समाल, तबलामा सन्देश महर्जन,गिटारमा सुरज प्रधान र प्रकसनमा पारस सुवेदीले।