PahiloPost

Jan 26, 2025 | १३ माघ २०८१

ने क पामा 'स्कुल'कै रडाको, सचिवालय बैठक फेरि स्थगित



विधुर ढकाल

ने क पामा 'स्कुल'कै रडाको, सचिवालय बैठक फेरि स्थगित

काठमाडौं: आज बस्ने भनिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को सचिवालय बैठक पुन: स्थगित भएको छ।

ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक भोलि दिउँसो ३ बजे बस्ने जानकारी दिएका छन्।

पछिल्लो पटक साउन ५ गते बसेको सचिवालय बैठक त्यसयता दुई तीन पटक स्थगित भएको हो। ५ गतेको बैठकले एकताका सबै बाँकी काम टुंग्याउने नेताहरुले बताएका थिए। तर, ने क पाका ३२ विभागहरुको नेतृत्व विवादका कारण बैठकले अन्तिम निष्कर्ष दिन सकेन।

सो बैठकले सबै जिल्ला कमिटीको इन्चार्ज र सह-इन्चार्ज टुंग्याएको थियो। तर, विभागको नेतृत्व टुंग्याउन सकेको थिए।

अर्को बैठक सात गतेका लागि बोलाइयो। ६ गते दुई अध्यक्ष तथा नेताहरु आन्तरिक रुपमा गृहकार्य गरे। तर पनि, सहमति जुटेन। ७ गतेको बैठक स्थगित गरी ९ गतेका लागि बोलाइयो। फेरि ९ गतेको बैठक पनि स्थगित भयो। त्यसपछि आजका लागि बैठक बोलाइएको थियो। आजको बैठक पनि स्थगित भइ भोलिका लागि सारिएको छ।

ने क पा एकताको १४ महिना पुगिसक्दा अझै ३२ विभाग, तीन केन्द्रीय आयोग तथा सम्पर्क मञ्चहरुको गठन हुन सकेको छैन। त्यस्तै पोलिटब्युरो गठनमा अन्योल कायमै रहेको छ।

गत वर्ष जेठ ३ गते एकता हुँदा तीन महिनाभित्र एकता टुंग्याउने बताइएको थियो। तर, त्यस्तो हुन सकेन। अन्तिम पटक दुवै अध्यक्षले यही असार मसान्तसम्म सबै प्रक्रिया टुंग्याएर देशभर अभियान चलाउने बताएका थिए। तर विभागमा भागबन्डा नमिल्दा एकता प्रक्रिया लम्बिएको ने क पाका एक स्थायी कमिटी सदस्यले बताए।

असार मसान्तसम्म पनि सहमति जुटेन। एकता टुंगिएन। साउन ५ गतेलाई म्याद सारियो तर निर्णय हुन सकेन।

असार ३१ गते बसेको शीर्ष नेताहरुको बैठकले एकता प्रक्रियाको गृहकार्य पूरा गरेको र ५ गतेको सचिवालय बैठकले अनुमोदन गर्ने महासचिव विष्णु पौडेलले बताएका थिए।  सो बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै महासचिव पौडेल र नेता रामबहादुर थापा सहभागी थिए।

सोही दिन अध्यक्ष प्रचण्डले समेत एकता टुंगिएको र 'फिल इन दी ब्ल्यांक'मात्र गर्न बाँकी रहेको बताएका थिए। भागबन्डा मिलिसकेको अवस्थामा पनि खाली ठाउँ भर्ने बेला विकल्पहरु धेरै हुँदा खाली ठाउँ भर्न ने क पालाई सकस परेको हो।

ने क पाका ३२ केन्द्रीय विभाग मध्ये पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीका भागमा १४ विभाग पाउने गरी भागबन्डा मिलाइएको छ। तर, कुन विभाग कसलाई दिने र कसले नेतृत्व गर्ने विषयमा सहमति जुट्न नसकेको हो।

'विभागहरुमा कुरा मिलेको छैन। सबैलाई समेट्ने गरी छलफल भइरहेको छ। शीर्ष नेताहरु नै विभागको नेतृत्वमा बस्न हानथाप हुँदा समस्या देखिएको हो,' ती नेताले भने। ने क पाभित्रको शक्तिशाली मानिएका संगठन विभाग, विदेश विभाग, नीति तथा कार्यक्रम विभाग, स्कुल विभाग, अर्थ विभागमा नेताहरुको जोड छ।

पछिल्लो पटक स्कुल विभागमा नेताहरुको चर्काचर्की परेको छ। विभागमा सचिवालय सदस्यहरु ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठले दाबी गर्दै आएका छन्। उनीहरु २ को नाममा सहमति जुट्न नसकेपछि सचिवालयबाहिर स्थायी कमिटीबाट नेताहरुले आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन्।

स्थायी कमिटी सदस्य घनश्याम भुषाल र बेदुराम भुषालले दाबी प्रस्तुत गरेका छन्। बेदुराम भुषाल यसअघि तत्कालीन नेकपा एमालेको स्कुल विभागको प्रमुख रहेर काम गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell