
काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई सदस्य सन्दीप लामिछाने र सोमपाल कामी ग्लोबल टी २० क्यानडा क्रिकेटमा सहभागी हुन आजै सिंगापुरबाट क्यानडा जाने भएका छन्।
नेपाली टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार सन्दीप र सोमपाल सिंगापुरबाट बेलुका पौने ९ बजे क्यानडा प्रस्थान गर्नेछन्। सोमपाल पहिलो पटक विदेशी लिग खेल्न छनोट भएका हुन्। उनले विनपिग हक्सको प्रतिनिधित्व गर्नेछन्। यस्तै लगातार दोस्रो पटक क्यानडामा खेल्न लागेका सन्दीपले टोरेन्टो नेशनल्सबाट खेल्नेछ। टोन्टोले पहिलो खेलमा हार बेहोरे पनि दोस्रो खेल जितेको थियो। सोमपालको टिम हक्सले भने खेलेको एक खेलमा हार बेहोरेको छ।
आज सम्पन्न आइसीसी टी २० विश्वकप क्वालिफायर एसिया फाइनलमा नेपाल सिंगापुरसँग अन्तिम खेलमा पराजित भएपछि ग्लोबल क्वालिफायर पुग्न असफल भएको थियो।
अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल तेस्रो भएको हो।
यस्तै सन्दीप र सोमपाल बाहेक बाँकी टिम भने सोमवार बेलुका साढे १० बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्ट आइपुग्ने सिवाकोटीले जनाएका छन्।