PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

१२ वर्षअघिको सानेपा युवती हत्या प्रकरण : 'टीकाटालोपछि बिहे गर्न नमान्दा प्रेमिकाको हत्या'



सविन ढकाल

१२ वर्षअघिको सानेपा युवती हत्या प्रकरण : 'टीकाटालोपछि बिहे गर्न नमान्दा प्रेमिकाको हत्या'

काठमाडौं: १२ वर्ष अगाडि एक युवतीको हत्या गरी फरार एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शुक्रवार  ललितपुरको सानेपाबाट सानु भनिने ३७ वर्षीय राजेश लामालाई पक्राउ गरेको हो।

लामाले १२ वर्षअघि २२ वर्षीय युवती तारा भन्ने सुनिता लामालाई ललितपुरको इमाडोलमा छुरी हानी निर्ममतापूर्वक हत्या गरी फरार भएका थिए। ‘लामा पहिलेदेखि नै शंकाको घेरामा थिए। हामीले उनलाई खोजी गरिरहेका थियौं,' आइतबार पत्रकार सम्मेलनमा ब्युरोका डिआइजी निरज शाहीले भने।

२०६४ पुस २७ गते बिहान सुनितालाई शरीरमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। सुनिता र राजेशबीच पहिलेदेखि नै चिनजान थियो। राजेश र सुनिताको विवाह गर्न टीकाटालो पनि भएको थियो। तर टीकाटालोपछि सुनिताले विवाह गर्न अस्वीकार गरेपछि आफूले हत्या गरेको लामाले बयान दिएका छन्। ‘टीकाटालो गरेपछि विवाह गर्दिनँ भनेकाले आफ्नो बेइज्जत भएकाले रिसमा हत्या गरेको देखियो,' डिआइजी शाहीले भने।

सोही वर्षको मंसिर १७-१८ गते सिन्दुरपोते गर्न शिखर आम्बोटे जाने तयारी भइरहेको अवस्थामा सुनिता सम्पर्कमा नआएपछि विवाह रद्द भएको थियो।

राजेश टीकाटालो हुनुअघि नै सुनिताको कोठमा आउजाउ गर्थे। दिदीको रेस्टुरेन्टमा काम गर्दै आएकी सुनिताले विवाह गर्न किन इन्कार गरिन् भन्ने खुलेको छैन। घटना भएको दिन राजेश हत्या गर्ने उद्देश्यले नै चक्कु लिएर कोठामा पुगेको प्रहरीको दाबी छ। कोठामा अरु नै केटा भएपछि राजेश फर्किएका थिए। त्यसपछि पुनः गएर हत्या गरेको अनुसन्धानमा खुलेको छ। 'उसले हत्या गर्ने योजनाले नै चक्कु किनेर कोठामा पुगेको थियो,' डिआइजी शाहीले भने।

हत्यामा प्रयोग भएको चक्कु। 

राजेशले चक्कु एक हजारमा किनेको बताएका छन्। काभ्रे रोशनी गाँउपालिका ३ घर भएका राजेश हत्यापछि भागेर राजु लामाको परिचय बनाई हेटौंडाको खाना होटलमा काम गर्न थालेको प्रहरी अनुसन्धानमा देखिएको छ। करिब ७ महिनापछि उनी ललितपुरमा नै फर्किएर होटल तथा घरमा रंग लगाउने काम गर्दै आएका उनलाई प्रहरीले रंग लगाउन जाँदै गर्दा पक्राउ गरेको थियो।

हाल ३७ वर्षका लामाले विवाह गरिसकेका छन्। उनकी एक छोरीसमेत छिन्। घटनाबारे उनकी श्रीमतीलाई थाहा नभएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell