PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

हुरीले निम्त्याएको बित्यास, आइसियूमा मृत्युसँग संघर्ष गर्दै शिवहरि



कुञ्जरमणि भट्टराई

हुरीले निम्त्याएको बित्यास, आइसियूमा मृत्युसँग संघर्ष गर्दै शिवहरि

काठमाडौँ : ट्रमा सेन्टरको आइसीयू कक्ष। कोठा नं २०८। बेड नम्बर ३।

शिवहरि बोल्न खोज्छन्। तर, सक्दैनन्। अनि हातले इसारा गर्छन्। उनको नाकमा पाइप राखिएको छ। हात राम्रैसँग चल्छ। तर, आधा जीउ पक्षघातले नचल्ने बनाइसकेको छ।

शिवहरिकी पत्नी जयकला डेढ महिनाभन्दा बढी भइसक्यो, श्रीमानको निको हुने क्षणको पखाईमा।

बिहान आधा घण्टा र बेलुका एक घण्टा मात्र भेट्न पाइन्छ आइसीयूमा राखेका बिरामी शिवहरिलाई। त्यसबाहेकको समय अस्पतालबाहिर टहलेर नै बिताउँछिन् जयकला।

+++

धनगढीको मोती चोकमा कपडा व्यापार गरिरहेका शिवहरि गिरी कसरी आइपुगे त ट्रमा सेन्टरको आइसीयूमा?

जेठ २३ गते। अरू दिनजस्तै पसल बन्द गरेर उनीहरु घरमा आइपुगे। कैलालीको धनगढी नगरपालिकाको मोति चोकमा रहेको पसलबाट उनीहरू बसेको घर धेरै टाढा पनि होइन। तर, पसलबाट घर फर्कन प्रायः अबेर नै हुने। पहिले उनीहरू बझाङमा बस्थे। यता आएको ५–७ महिनामात्र भएको थियो। जयकला घरभित्रको धन्दा गर्न थालिन्। छोराछोरी घरभित्रै थिए। जयकला घरको कामधन्दामा व्यस्त भइरहँदा जयकलाका श्रीमान् शिवहरि कपडा उठाउन छतमा उक्लिएछन्। छतमा कपडा सुकाइएको थियो।

त्यतिन्जेलसम्म रातिको ८:३० भइसकेको थियो। एक्कासी हावाहुरी चल्न थाल्यो। हुरीले हान्न थालेपछि घरका झ्यालहरु बज्न थाले। जयकला झ्याल बन्द गर्न थालिन्। शिवहरि भने देखिनन्।  जयकलालाई लाग्यो श्रीमान्  बाहिर निस्के। हावाको वेग घटेन, बरु अझै बढ्दै गयो। झ्यालढोका मात्र होइन, मनै हल्लाउने गरी। छोराछोरी आत्तिएर कराउन थाले। बाहिर निस्कन सकिने अवस्था थिएन।

निकैबेरपछि हावाहुरी रोकियो। तर, उनका श्रीमान् घर फर्केनन्। कोठाभित्रै पो छन् कि भनेर सबै कोठामा हेरिन्, घरको ढोका खोलेर हेरिन् तर शिवहरि देखिएनन्। उनको मनमा अनेक आशंका उब्जिए। उनी शिवहरिलाई खोज्न घरबाहिर निस्किइन्। श्रीमान् त घरको पूर्वपट्टी बेहोसजस्तै हल न चल भएर लडिरहेका भेटिइन् उनले।

त्यसपछि उनलाई छाँगाबाट खसेजस्तो भयो। ‘मेरो त होसै हराएजस्तो भयो। छतमा कपडा उठाउन जानु भएको रहेछ। छतमा रेलिङ थिएन, भएको भए सायद घटना हुने थिएन। हुरीले हुत्याएर उहाँलाई...,' जयकलाको बोली रोकियो।

शिवहरि होशमै थिए। तर उभिन भने सकेनन्। जसोतसो शिवहरिलाई त्यहाँबाट उठाएर घरभित्र पुर्‍याइन्। श्रीमती र छोराछोरीसामु आफूलाई केही नभएको दर्साए शिवहरिले।

‘हामी आत्तिन्छौँ भनेर उहाँले केही भएको छैन भन्नुभयो। खुट्टामात्र चलेको थिएन। उहाँले त्यसो भन्दा विश्वास लागेन,' जयकलाले भनिन्, 'राति हस्पिटल लैजान मेरो आँट आएन। म एक्लीले के गरुँ। छिमेकी गुहारुँ भने उनीहरूका पनि घरका छाना हुरीले उडाएको थियो।’

त्यतिन्जेल रात निकै छिप्पिइसकेको र शिवहरिको अवस्थाले उनीहरू भोकै सुते। ‘खाना पकाएकै थिइनँ। पसलबाट मात्र के आएका थियौँ, त्यस्तो घटना भएपछि त खानु न पिनु’, जयकलाले भनिन्।

शिवहरिले भोलिपल्ट बेलुकीमात्र अस्पताल लैजान पत्नीसँग आग्रह गरे। ‘सायद त्यो दिन चोट आलो भएकाले होला खासै दुखे जसो गर्नु भएन। भोलिपल्ट म पसल गएँ। छोराछोरी स्कुल गए। बेलुका फर्कँदा उहाँ निकै आत्तिनुभयो। मलाई गाह्रो भयो, हस्पिटल लैजाऊ भन्नुभयो,’ जयकलाले सुनाइन्।

त्यसपछि छिमेकीको सहायतामा उनले शिवहरिलाई धनगढी अञ्चल अस्पताल पुर्‍याइन्। त्यहाँ दुई दिन राखेपछि हस्पिटलले नेपालगन्ज अस्पताल रिफर गरिदियो।

नेपालगन्जको अस्पतालले त्यहाँ उपचार सम्भव नभएको भन्दै काठमाडौँ लैजान सुझाव दियो। अस्पतालले काठमाडौँ लैजाऊ भनेपछि जयकलाको मनमा चिसो पस्यो। उनले काठमाडौँ ल्याउने आँट गर्न सकिनन्, ‘काठमाडौँ मेरो लागि नौलो ठाउँ। नेपालगन्जभन्दा अगाडि कहिल्यै आएको भए पो। कसरी लैजाने आँटै आएन। मसँग खर्च पनि सकिएको थियो।’

जयकलाले शिवहरिलाई त्यहाँबाट एम्बुलेन्समै घर पुर्‍याइन्। घरबाट नेपालगन्ज जाउन्जेलसम्म बोलचाल गर्न सक्ने शिवहरि नेपालगञ्जबाट फर्कँदा बिना अक्सिजन बस्न नसक्ने भइसकेका थिए। उनको ढाडको हड्डी भाँचिएको रहेछ। नशाका कारण श्वासप्रश्वासमा समस्या देखियो। घर पुग्दा छिमेकीहरूले एकपटक काठमाडौँ लैजान सुझाव दिए। त्यसपछि एकजना डक्टरसँगको सम्पर्कमा एम्बुलेन्समै हालेर जयकलाले शिवहरिलाई वीर अस्पताल ल्याइन्। वीर अस्पतालसम्म आइपुग्दा एम्बुलेन्समा नै उनको ५० हजार खर्च भइसकेको थियो।

शिवहरि लडेका जेठ २३ गते, उनलाई वीर अस्पताल ल्याइ पुर्‍याइयो २८ गते रातिमात्र। एम्बुलेन्समार्फत जीवन र मृत्युको दोसाँधमा रहेका पतिसँग निकै कष्टका साथ पहिलो पटक काठमाडौँ आइपुगिन् ३२ वर्षको उमेरमा जयकला। केही दिनमा नै पतिलाई निको पारेर घर फर्कने आस बोकेर।

+++

शिवहरि निको हुने दिनको पर्खाइमा छिन् जयकला। उनको शरीर यता छ,  काठमाडौँमा। तर मन भने दुईतिर छ- ट्रमा सेन्टरको आइसीयूको बेड नम्बर ३ मा सुतेका पति शिवहरि र धनगढीमा रहेका दुई छोरी र एक छोरामा। एकातिर बिरामी पति बेडमा हल न चल छन्, अर्कोतिर छोराछोरीको सम्झनाले पिरोल्छ। शिवहरि थला परेपछि कपडा पसल पनि बन्द छ। खोल्दा पनि खासै व्यापार हुँदैनथ्यो। त्यसमाथि दुबै जना यतै भएपछि पसल खोल्ने कसले? ‘छोराछोरी विद्यालय त जान्छन्। खानका लागि सापटी दिने छन् र त खान पाएका छन्’, जयकलाले दुःखको गाँठो फुकाइन्।

उनलाई भविष्यले पिरोल्न थालको छ। चिन्ता आफ्नो होइन, दुई छोरी र एक छोराको छ। ३५ वर्षीय श्रीमानको अवस्था नाजुक छ। ‘अब बालबच्चा कसरी पाल्ने र पढाउने भन्ने चिन्ता लाग्छ। उपचारमा ठूलो रकम खर्च भइसकेको छ। त्यही एउटा घर बाँकी हो। त्यो पनि जग्गा बैँकमा धितो राखेको छ। त्यसको लोन तिर्ने आधार छैन', पराजित स्वरमा पोखिइन् जयकला।

‘सास छउन्जेलको आस। उहाँको अवस्था निकै कमजोर भएको छ। डाक्टरहरुले खर्च धेरै भइसक्यो, स्वास्थ्यमा सुधार आउँदैन लैजानुस् भनिसक्नु भएको छ। अब बढीमा एक हप्ता राख्छौँ। केही भइहाल्छ कि भन्ने आशा गरेका छौँ', बिरामी शिवहरिका भाइ मदनले अझै दाजुलाई निको हुने अपेक्षा व्यक्त गरे।

जयकलालाई देवर मदनले साथ दिएका छन्। शिवहरिका भाइ मदन रोजगारीको सिलसिलामा बैंगलोर गएको २५ महिना भएको थियो। घरबाट फोन आउनु अगावै सामाजिक सञ्जाल फेसबुकमार्फत दाजुको अवस्थाबारे जानकारी पाए।

पारिवारिक दायित्व सम्झिए। कम्पनीमा बिदा मागे। दाजुकै सल्लाहमा बैंगलोर पुगेका मदन नेपाल फर्किए। ‘घर सम्झिएँ। एक्ली भाउजूले के गरुन्। दुःखद् खबर सुँने। तीन दिनमा त नेपाल आइपुगेँ। दाजुको अवस्था देखेर फर्कन मनले मानेन। म फकने कि नफर्कने दोधारमा छु।’

‘ढाडको हड्डी भाँचिएछ। अप्रेसन गर्न सकिएको भए ह्वीलचियरमा बस्नेसम्म हुनुहुन्थ्यो। उहाँको स्वाथ्यमा सुधार नै आएन। नशामा समस्या भएकाले श्वासप्रश्वासमा समस्या देखियो। शरीरको आधा भाग प्यारालाइज्ड भएको छ। अप्रेसनका लागि पनि अब त ढिलाइ भइसक्यो। स्वास्थ्यमा सुधार हुने देखिँदैन, चिकित्सकको भनाई उदृत गर्दै भाइ मदनले भने।

उपचारका लागि अहिलेसम्म मेरो हातबाट पाँच लाख खर्च भइसक्यो। गृह मन्त्रालयबाट एक महिनापछि औषधि उपचार निःशुल्क गर्नु भन्दै पत्र आयो।

 ‘उताबाट पत्र आउनै ढिला भयो। तै पनि अस्पतालको फार्मेसीमा सामान्य औषधि छ। धेरै जसो औषधि बाहिरबाटै किन्नुपर्छ। त्यसको बिल आफैँले तिनुपर्छ। कहिले काहीँ त ५-८ हजारसम्मको औषधि किन्नुपर्छ। अब कति खर्च लाग्ने हो थाहा छैन। फार्मेसीमा उधारो पनि धेरै भइसक्यो,' जयकलाको स्वर मसिनो हुँदै गयो।

‘छोराछोरी फोनबाटै उहाँसँग बोल्न खोज्छन्। उहाँको बोली आउँदैन', जयकला रोकिइन्। फोनमा छोराछोरीहरुले सोध्छन्, 'आमा, बुवालाई लिएर कहिले घर आउने?' जवाफ दिने हिम्मत हुँदैन जयकलासँग।

उनको मनमा कुरा खेल्न थालेको छ, 'हस्पिटलबाट निकालेपछिको श्रीमानको अवस्था कस्तो हुने हो। सम्पत्ति नि रहेन, आफ्नो मान्छे पनि नरहने हो कि!’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell