भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको प्रसिद्ध टेलिभिजन च्यानल डिस्कभरिको चर्चित टिभी शो ‘म्यान भर्सेस वाइल्ड’ मा देखिने भएका छन्।
उक्त साहसिक शो सञ्चालक बियर ग्रिल्सले आफ्नो आधिकारिक ट्विटरमार्फत टिजर सार्वजनिक गर्दै कार्यक्रम सुरु हुन लागेको जानकारी दिएका हुन्। भारतीय प्रधानमन्त्री मोदी सहभागी ‘म्यान भर्सेस वाइल्ड’ यही अगस्ट १२ तारिखमा सुरु हुने सञ्चालक ग्रिल्सले उल्लेख गरेका छन्।
People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery pic.twitter.com/MW2E6aMleE
— Bear Grylls (@BearGrylls) July 29, 2019
ग्रिल्सले टिजर सार्वजनिक गर्दै लेखेका छन्, ‘विश्वभरिका १८० राष्ट्रका मानिसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे थाहा नपाएका पक्षहरूको जानकारी पाउनेछन्।’ भारतीय प्रधानमन्त्री मोदीले ‘म्यान भर्सेस वाइल्ड’बाट वन्यजन्तुसम्बन्धी जनचेतना र वन्यजन्तुको संरक्षणबारे सचेतना फैलाउने प्रयास गरेका छन्।
वन्यजन्तु, अन्तरीक्ष, विज्ञान, पुरातात्विक र ऐतिहासिकलगायत विविध विषयका कार्यक्रमका लागि प्रसिद्ध छ–टेलिभिजन च्यानल डिस्कभरि। कार्यक्रम सञ्चालक ग्रिल्सले भनेका छन्, ‘डिस्कभरि च्यानलमा म्यान भर्सेस वाइल्ड यही अगस्ट १२ राति ९ बजे (भारतीय समय अनुसार) देखि हेर्न सक्नु हुनेछ।’
भारतीय प्रधानमन्त्री मोदी राजनीतिसँगै युवापुस्तासम्म पुग्न नयाँ प्रविधिको उपयोगका लागि पनि परिचित छन्। ४५ सेकेन्ड लामो टिजरमा भारतीय प्रधानमन्त्री मोदीलाई विश्वको सबैभन्दा ठूलो प्रजातान्त्रिक देशको प्रमुखका रूपमा प्रस्तुत गरिएको छ भने टिजरमा जीवजन्तुहरू पनि प्रस्तुत गरिएको छ।
‘म्यान भर्सेस वाइल्ड’ टिभी शोमा यसका सञ्चालक बियर ग्रिल्सले बाँच्न अत्यन्त कठिन परिस्थितिमा समेत आफ्नो ज्यान कसरी बचाउने तरिकाहरु सिकाउने गर्छन्। उनी प्रकृति र जीवजन्तु प्रेमी पनि हुन्। टिजरमा भारतीय प्रधानमन्त्री मोदीले कार्यक्रम सञ्चालक बियर ग्रिल्सलाई भारतमा स्वागत गरेको देखिन्छ। भारतीय प्रधानमन्त्री मोदीले बियर ग्रिल्सलाई भारतभित्रै साहसिक यात्रामा लगेको पनि टिजरमा देखिन्छ।