PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

समाजवादी पार्टीको एकताः १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनको इन्चार्जको टुंगो लाग्यो



कुञ्जरमणि भट्टराई

समाजवादी पार्टीको एकताः १३ केन्द्रीय विभाग प्रमुख र ९ जनवर्गीय संगठनको इन्चार्जको टुंगो लाग्यो
फोटोः फाइल

काठमाडौंः डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादवको संघीय समाजवादी पार्टीको एकतापछि बनेको समाजवादी पार्टी नेपालले केही विभागीय प्रमुखको टुंगो लगाएको छ।

पार्टीको केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले १३ विभागीय प्रमुख तथा नौ वटा जनवर्गीय संगठन इन्चार्जको जिम्मेवारी तोकेको पार्टीका उपमहासचिव प्रकाश अधिकारीले जानकारी दिए।

समाजवादी पार्टीका ३६ वटा केन्द्रीय विभाग छन्। अब २३ वटा विभागको विभागीय प्रमुख तय गर्न बाँकी रहेको छ।

अनुशासन समिति प्रमुखमा महेन्द्र श्रेष्ठ, लेखा प्रमुखमा अमरेशनारायण झा, निर्वाचन समिति प्रमुखमा शिवजी यादव, स्कुल विभागमा हेमराज राईलाई जिम्मेवारी दिइएको हो। स्कुल विभागको सहइन्चार्जमा डमरुबल्लव खतिवडा, राज्य व्यवस्था विभाग प्रमुखमा उमाशंकरप्रसाद शाह, कृषि तथा भूमि विभाग प्रमुखमा मदन राई रहेका छन्।

त्यस्तै सो बैठकले हालसम्म एकता सम्पन्न भएको गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदरपश्चिम प्रदेश र प्रदेश नं. २, तथा प्रदेश नं. ५ को समायोजन अनुमोदन गरेको पार्टीका उपमहासचिव अधिकारीले जानकारी दिए।

प्रदेश नम्बर १ र ३ मा पार्टीको सांगठनिक समायोजन छिट्टै गर्ने निर्णय गरेको भएको उनको भनाइ छ। त्यस्तै समाजवादी पार्टीले केही जनवर्गीय संगठनहरुको इन्चार्जको पनि टुंगो लगाएको छ। समाजवादी पार्टीमा ३५ जनवर्गीय संगठन रहेका छन्।

जसमध्ये किसान, युवा, महिला, बौद्धिक पेसाकर्मी लगायतका इन्चार्जको पनि टुंगो लगाएको छ।

कुन विभागको जिम्मेवारी कसलाई ?

  • अनुशासन समिति प्रमुख – महेन्द्र श्रेष्ठ
  • लेखा समिति प्रमुख – अमरेशनारायण झा
  • निर्वाचन समिति प्रमुख – डा. शिवजी यादव
  • पार्टी स्कुल तथा प्रशिक्षण विभाग इन्चार्ज – हेमराज राई, सहइन्चार्ज, डमरुबल्लव खतिवडा
  • राज्य व्यवस्था विभाग प्रमुख – डा. उमाशंकर प्रसाद साह
  • संघीय मामिला तथा समावेशी विभाग प्रमुख – डा. गणेश योञ्जन
  • स्थानीय तह परिचालन विभाग प्रमुख – हरिनारायण यादव
  • प्राकृतिक श्रोत व्यवस्थापन विभाग प्रमुख – दुर्गामणि देवान
  • कृषि तथा भूमि व्यवस्था विभाग प्रमुख – मदन राई
  • शिक्षा तथा विज्ञान प्रविधि विभाग प्रमुख – डा. राजेन्द्र केसी
  • स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख – डा. महेशमान श्रेष्ठ
  • श्रम तथा रोजगार विभाग प्रमुख – प्रेमनारायण थापा
  • सुरक्षा विभाग प्रमुख – नारायणराज पाण्डे
  • मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुख – सुशीला श्रेष्ठ

जनवर्गीय संगठनका इन्चार्ज

  • किसान इन्चार्ज – टिकाराम पौडेल
  • युवा इन्चार्ज – देवीप्रसाद सुवेदी
  • महिला इन्चार्ज – दुर्गा सोव
  • बौद्धिक पेसाकर्मी इन्चार्ज – नहेन्द्र प्रधान, सहइन्चार्ज पूर्णबहादुर बस्नेत
  • शिल्पी महासंघ इन्चार्ज – डीबी नेपाली
  • खेलकुद महासंघ इन्चार्ज – विरेन्द्र प्रधान
  • सुकुम्बासी इन्चार्ज – दिपक मियाङबो
  • यौनिक तथा अल्पसंख्यक इन्चार्ज – पिंकी गुरुङ
  • मुस्लिम संघ इन्चार्ज – इस्लाम हवारी

समाजवादीले अब साउन महिनाभित्र सबै तहका एकता प्रकिया निष्कर्षमा पु-याउने नयाँ मिति तय गरेको छ। गत वैशाख २३ गते एकतापछि बनेको समाजवादी पार्टीले जेठ ३० गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको थियो। निर्वाचन आयोगबाट औपचारिक रुपमा दल दर्ताको घोषणा भएको छैन।

नेताहरुले एकता असार मसान्तमै सक्ने उद्घोष गरेका थिए। तर त्यसो हुन सकेन। साउन महिनाभित्रै एकता टुंग्याउने नेताहरु बताउँछन्। पार्टीका अन्य विभाग प्रमुखहरु बैठकहरुबाट केन्द्रीय कार्यकारिणी समितिको आगामी बैठकहरुले अनुमोदन गर्ने अधिकारीको भनाइ छ। 

राजपासँग एकता छलफल, छैन प्रगति

यसैबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकताको विषयमा छलफल जारी छ।

‘एकताको विषयमा छलफल भइरहेको छ। तर ठोस निष्कर्ष निस्कन सकेको छैन’, उपमहासचिव अधिकारीले भने, ‘मुद्दा मिल्नेहरु एक हुँदै जानुपर्छ भन्ने कुरा हो। एउटा टुंगो नलाग्दासम्म छलफल चलि नै रहन्छ।’

उता राजपाका महासचिव केशव झाले एकताका लागि छलफल भए पनि कुनै उपलब्धि हुन नसकेको जानकारी दिए।

‘बलियो राजनीतिक शक्ति बनाउनुपर्छ भन्ने मान्यता हो। जसका लागि सिद्धान्त नजिक रहेका दलबीच एकता आवश्यक छ,’ झाले भने, ‘एकताका विषयमा नेतृत्वबीच छलफल भएको छ। तर, कुनै उपलब्धि हुन सकेको छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell