PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पहिरोका कारण 'मृत्यु मार्ग' बन्दै कर्णाली राजमार्ग, शनिवार गएको पहिरो अझै हटेन



पी बी खड्का

पहिरोका कारण 'मृत्यु मार्ग' बन्दै कर्णाली राजमार्ग, शनिवार गएको पहिरो अझै हटेन

सुर्खेत : साउन ८ गते दैलेखको गुराँस गाउँपालिकामा पर्ने रती खोलामा आएको बाढीले सडक नै बगायो। लगातार परेको अविरल वर्षाले सियाकोट-तल्लोडुंगेश्वर खण्डमा पर्ने रती खोलामा बाढीले करिव ५० मिटर सडक बगाएको हो। जसले गर्दा दैलेखको गुराँसे हुदैँ दैलेखको पश्चिम क्षेत्र, अछाम, कालिकोट, मुगु र जुम्ला लगायतका स्थानमा जाने यातायातका साधन ठप्प भए।

फेरि पनि एक हप्ता नबित्दैँ कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका-१ मा पर्ने कालेखोलामा पहिरो जाँदा तीन दिनदेखि यातायातका साधन चल्न सकेका छैनन्। 

शनिवार आएको पहिरोले राजमार्गको ४० मिटर भन्दा बढी सडक भासिएकाले यातायातका साधन संचालन हुन नसकेको हो।

जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख विनोद शर्माका अनुसार डोजर परिचालन गरी सडक खुलाउने काम भइरहेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरी सहितको टोलीले पहिरो हटाउने काम गरिरहेका छन्। मौसम सफा र पानी नपरे बेलुकासम्म यातायातका साधन संचालनमा आउन सक्ने शर्माले बताए।

गाउँपालिकाको यस स्थानमा पटक पटक पहिरो जाने समस्याले साविक कर्णालीका नागरिकले आवतजावतमा निकै समस्या भोग्नु परेको छ। राजमार्गको दहिखोला र एसमोडको बीचमा पर्ने गगने खोलामा छिन छिनमा आउने पहिरोले सडक अवरुद्ध हुदैँ आएको छ।

वर्षातका समयमा राजमार्गमा सडक अवरुद्ध हुनु सामान्य भएको भन्दै शर्माले भने,‘गगने खोलामा निकै ठुलो चट्टानबाट पहिरो खसिरहन्छ । कालेखोलाको अवस्था उस्तै हो। एकछिन सडकमा खसेको पहिरो हट्यो अनि छिन छिनमै पहिरो खस्छ।’

यो वर्षमा ४-५ पटक भन्दा बढी कालिकोटकै आसपासमा सडक अवरुद्ध भयो। वर्षातमा मात्रै नभएर हिउँदमा आउने सुख्खा पहिरोले समेत सडक अवरुद्ध हुदैँ आएको छ।

२०६३ साल चैत महिनाको अन्तिम साताबाट संचालनमा आएको सुर्खेत-जुम्ला राजमार्गको लम्बाई २३२ किलोमिटर छ। सडक साँघुरो छ भने, खोला र नदीमा पुल छैनन्। अधिकांश सडक उकालो ओरालो गर्नुपर्दा पनि दुर्घटनाको जोखिम निम्तिदै आएको छ।

राजमार्ग अन्तर्गत पर्ने दैलेखको किटुभिर देखि कालिकोटको राँचुलीसम्म सडकको अवस्था निकै संघर्षपूर्ण रहेको छ।

‘मृत्युराजमार्ग’मा कहिले बन्छ पुल

कर्णाली राजमार्ग यसैपनि ‘मृत्युराजमार्ग’ भन्ने गरिन्छ भने, वर्षातको समय आकाशमा बादल मडारियो की सडक अवरुद्ध हुने समस्याले कर्णालीका नागरिकले सास्ती खेप्दै आएका छन्।

कर्णाली राजमार्गमा साँघुरो सडकका कारण अत्यधिक दुर्घटना हुने गर्छ भने त्यसैमाथि भौगोलिक विकटता र कमजोर भूभागले छिन छिनमा सडक अवरुद्धले दुःख दिदैँ आएको छ।

राजमार्ग अन्तर्गत पर्ने कालेखोला, सेघरीघाट, झाम्ला मोड, दैखोला, गगनेखोला, सुनार खोला, छेडा, सिम्लेगाड, पिली, राचुली लगाएतका ठाउँहरुमा स-साना पहिरो खस्दा पनि यातायातका साधन ठप्प हुने अवस्था छ।

राजमार्गको सडक खण्डमा सात भन्दा बढी पुल निर्माणको क्रममा रहेको छ भने काम पनि अति नै सुस्त गतिमा भइरहेको छ। राजमार्ग अन्तर्गत अझैपनि आधा दर्जन बढी खोलाहरुमा पुल निर्माण गर्नुपर्ने आवश्यक छ। दैलेखको घट्टेखेला, साइखोला, कालिकोटको कालेखोला, टाकुल्ला र खल्लाघाट, बिहानी र सिम्लेगाड पुल निर्माणको काम पुरा नहुँदा जोखिम पनि उत्तिकै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell