PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

ने क पाको सचिवालय बैठक : १५ दिन लामो 'होमवर्क होलिडे'



कुञ्जरमणि भट्टराई

ने क पाको सचिवालय बैठक : १५ दिन लामो 'होमवर्क होलिडे'

काठमाडौं : एकता सम्बन्धी अन्तिम काम टुंग्याउनका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) बिना निष्कर्ष टुंगिएको छ।

बैठकमा सहमति जुट्न नसकेपछि १५ दिनपछि बस्ने गरी बैठक सकिएको हो।

'केही निर्णय भएको छैन। २८ गते अर्को बैठक बस्नेछ। त्यही बैठकले निर्णय गर्छ,' बैठकपछि ने क पाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, 'यसबीच आन्तरिक रुपमा गृहकार्य गर्ने निर्णय भएको छ।'

यसबीचमा केन्द्रीय निकायहरुमा आकांक्षीका नाम संकलन लगायतका काम हुने प्रवक्ता श्रेष्ठले बताए।

यसबीचमा ने क पाका एकता हुन बाँकी केन्द्रीय निकायहरु, केन्द्रीय विभाग, जेष्ठ नागरिक मञ्च, सल्लाहकार परिषद, सम्पर्कमञ्च लगायतको एकता टुंग्याउनका लागि गृहकार्य गर्ने सहमति भएको उनले जानकारी दिए। गत वर्ष जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो। तीन महिनाभित्रै एकताका सबै काम टुंग्याउने बताइए पनि १५ महिना पुग्न लाग्दासमेत एकता सम्बन्धी सबै काम टुंगिन सकेको छैन।

पछिल्लो पटक ने क पाले साउन ५ गते जिल्लाका इन्चार्ज र सह-इन्चार्जहरुको टुंगो लगाएको थियो। सोही बैठकले ३२ केन्द्रीय विभागहरुको टुंगो लगाउने बताइए पनि स्कुल विभागमा भएको नेतृत्वको होडबाजीका कारण निर्णय हुन सकेको छैन। स्कुल विभागमा सचिवालयबाट प्रवक्ता श्रेष्ठ र ईश्वर पोखरेलले दाबी गरिरहेका छन् भने स्थायी कमिटी सदस्यहरु घनश्याम भुसाल र बेदुराम भुसालले पनि दाबी गर्दै आएका छन्।

तर, प्रवक्ता श्रेष्ठले भने स्कुल विभागमा सहमति नअड्किएको दाबी गरे।

'यो कुनै एउटा विभागको मात्र होइन्। स्कुल विभाग मात्र होइन अहिले सम्म कुनै पनि विभागको नेतृत्वको बारेमा कुनै पनि निर्णय भएको छैन,' पत्रकारहरुको जिज्ञासामा उनले भने, 'गृहकार्य पुगेन। निर्णय हुन सकेन। गृहकार्य गरेर अबको बैठकमा प्रस्ताव पेश हुन्छ। अनि निर्णय हुन्छ।'

आगामी बैठक साउन २८ गते ३ बजेका लागि डाकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell