ललितपुरको झम्सिखेल निवासी सुपर्णा भुसाल 'सौभाग्यको प्रतीक' मानिने चुरा पोते किन्न जहिल्यै मंगलबजार पुग्छिन्। अझ साउन महिनामा त उनी पोते, तिलहरी, चुरा किन्न धेरै पटक मंगलबजार धाउँछिन्।
पाटन दरबार क्षेत्रमा रहेको कृष्ण मन्दिर छेउमा चुरा पोतेका पसल छन्। भुसालको रोजाइमा भने फिरोजद्दिन खानले सञ्चालन गरिरहेको त्यहाँकै सबैभन्दा पुरानो चुरापोते पसलमा पर्छ।
फिरोजद्दिनका पूर्वज मल्लकालमा काठमाडौँ उपत्यका भित्रिएका थिए। त्यसै बेला उनीहरूलाई मल्ल राजाले व्यापारका लागि मंगलबजारमा स्थापित गरे। सोही स्थानमा उनका आमाले पहिला चुरा पोते बेच्ने गर्थिन्।
७९ वर्ष पुगेका फिरोजद्दिन पाटनमा ५० वर्षदेखि पुर्खौली चुरा पोतेको व्यापार गर्दै आएका छन्। चुरा पोते किन्न आउनेहरुबाट उनले अहिलेसम्म मुस्लिम भएकै कारणले हिन्दुबहुल समाजबाट कुनै प्रकारको रोकटोक भोगेका छैनन्। उनी यही चुरा पोतेले दुई धर्मलाई एकै ठाउँमा जोडेको बताउँछन्।
साउनका लागि भनेर पोते किन्न आएकी भुसाल पनि चुरा पोतेले दुई समुदायबीच जोडेको नाता धर्मभन्दा माथि रहेको बताउँछिन्।
फिरोजद्दिनको पसलको वरिपरि चुरा पोते बनाउने करिब १० पसल छन्। सिजनमा चुरा पोते किन्न आउनेको भिड लाग्छ। साउनमा त दैनिक जसो चहलपहल हुन्छ। अहिले भने व्यापारमा अलि कमी आएको खान बताउँछन्।
पहिला चुरा, पोते बनाउनका लागि सामान अरब र भारतबाट आयात गरिन्थ्यो। अहिले भने चीन, जापान लगायत देशबाट पनि आयात गर्ने गरिएको छ। कसैले रेडिमेड नै आयात गर्छन् भने कतिले पोते मगाएर यतै त्यसलाई विभिन्न डिजाइनमा ढाल्ने गरेका छन्।
साउन शिवको महिना। महिनाभरि शिव मन्दिरमा महिलाहरूको भिड लाग्छ। हरियो पोते, रंगीन चुरा, हातमा मेहन्दी, हरिया बस्त्रमा महिला सजिने गर्छन्। हरियो रंगलाई प्रेम, पहेलोलाई पवित्रता र रातोलाई सौभाग्यका रूपमा मानिन्छ। विशेष गरी विवाहित महिलाले चुरा, पोतेलाई 'सौभाग्यको प्रतीक' का रूपमा लगाउँदै आएका छन्।
त्यसैले साउनसँगै चुरा पोते लगायतका सामान किन्न 'कश्मिरी बजार'मा महिलाहरूको पुगिरहेका छन्।
काठमाडौँ उपत्यकामा चुरा पोतेको व्यापारमा संलग्न धेरैजसो मुसलमान छन्। काठमाडौँको इन्द्रचोक, पाटनको मंगलबजार र भक्तपुरको सुकुलढोकामा बसेर उनीहरू हिन्दु महिलाहरूको 'सौभाग्यको प्रतीक' को व्यवस्था गर्दै आएका छन्।
धर्म फरक, संस्कार फरक। संस्कृति र आस्था फरक। तर एउटा पोतेले हिन्दु धर्म र इस्लाम धर्मलाई एउटै मालामा उनेको छ।
धर्मप्रति कट्टर मानिने मुसलमानहरू नेपालमा धार्मिक सहिष्णुताको प्रतीक बनेका छन्। साउन र तीज आएसँगै उनीहरू नेपाली महिलाहरूका लागि चाहिने पोते, चुरा लगायतका गहनाको व्यवस्थामा व्यस्त हुन्छन्। न त उनीहरूलाई कुनै धर्मले त्यस्तो गर्न रोक्छ न त कुनै समाजले।
हिन्दु नेपाली महिला पनि निर्धक्क रूपमा मुस्लिम बजारमा चुरा पोते किनिरहेका हुन्छन्।
मल्लकालबाट दुई धर्मबीच सुरु भएको यो आत्मीय इतिहास अहिलेसम्म पनि उस्तै छ। विशेष गरी नेवारी मुसलमानसँग घुलमिल भएका यी मुसलमानहरू अहिले आफूलाई 'नेवार मुस्लिम' का रूपमा चिनाउन लागि परेका छन्।
नेवार मुसलमानबारे अध्ययन गरेका राश जोशी उपत्यकामा लिच्छविकालदेखि नै मुस्लिमले प्रवेश गरेको प्रमाण भेटिएको बताउँछन्। अत्तरको व्यापारबाट सुरु भएको सम्बन्धले रत्न मल्लको पालामा गएर स्थायित्व पाएको थियो। उनकै शासनकालमा घोषित रूपमा नै मुस्लिम नेपाल प्रवेश गरेका थिए। मल्लले नै उनीहरूलाई वटुमा बसोबास गर्ने व्यवस्था मिलाएका थिए। पछि उनीहरू पाटन र भक्तपुरसम्म पुगे।
काश्मिरबाट तिब्बत जाने क्रममा काठमाडौँ आइपुगेका मुसलमानहरू यहीकै संस्कृतिसँग घुलमिल हुँदै यतै बसे र विभिन्न किसिमका गहना बनाए। नेवार समुदायमा प्रचलित 'ताय, न्यापुसिख:' जस्ता गहना मुस्लिमले भित्र्याएको मानिन्छ। 'ताय' ताबिजबाट आएको हो भने 'न्यापुसिख:' अहिले पनि लगाउने गरिन्छ। यस्तै चुरा र मेहेन्दी भित्र्याउने पनि मुस्लिम नै थिए। चुरा पोते भित्र्याउने पनि उनीहरू नै थिए।
नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद्का सदस्य प्रा. दिनेशराज पन्त मुसलमानहरू काठमाडौँमा मात्रै सीमित नरहेको बताउँछन्। उनका अनुसार चुरा पोते व्यापारका सिलसिलामा मल्लकालदेखि नै उनीहरू नेपालका विभिन्न भाग पुग्ने गरेका थिए। चुरा र पोते हातमा लिँदै बेच्दै हिँड्ने भएकाले उनीहरूलाई पहाडमा 'चुरौटे' भन्न सुरु गरिएको थियो।
उनी भन्छन्, 'मध्यकालदेखि नै मुस्लिमहरूले महिलाहरूलाई चुरा लगाइदिने गरेको पाइएको छ। उनीहरू चुरा पोते लिएर घरघर पुग्थे। मुस्लिमहरूले नै नेपाली महिलाको सुहागको चिह्न भित्र्याए। यसले त्यो बेलाको समाज धार्मिक रूपमा सहिष्णु भएको प्रमाणित गर्छ।'
समयसँगै नेपालमा समेत मुस्लिमलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुँदै गएको छ। पश्चिमा देश र भारतीय प्रभावका कारण नेपालमा मुस्लिमहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ।
पन्त यो सबै बाहिरी प्रभावबाट भएको तर्क गर्छन्। मल्लकालमा भित्रिएका मुसलमानहरूसँग त्यति बेला नै कुनै भेदभाव नरहेको भन्दै उनी मानिस स्वतन्त्र हुँदै गएसँगै उनीहरूको सोच संकुचित हुँदै गएको बताउँछन्।
भन्छन्, 'उनीहरू नेपाल आएर नेपाली बने। उनीहरूले यहाँको धर्म संस्कृतिमाथि आक्रमण गर्ने प्रयास गरेनन्। यही कै संस्कारलाई आफ्नो संस्कार बनाए। अहिले बाहिरको प्रभावले त्यो सहिष्णुतामाथि प्रहार हुनु राम्रो होइन।'
उसो त नेपाली धर्म संस्कारमा समेत धेरै परिवर्तन आएको उनी बताउँछन्। उनी सम्झन्छन्, 'हिन्दु महिलाहरूले मनाउने भनेको तीज मात्रै थियो। यही साउन महिनामा व्रत बसेर मनाउने चलन थिएन पहिला। यो साउने सोमवार लगायतका संस्कृति भारतबाट प्रभावित भएका आएको हो। करिब ३० वर्ष अघिसम्म यस्तो कतै देखिएन।'
त्यसैले समयसँगै संस्कृति परिवर्तन हुँदै गए पनि त्यसले समाजमा विद्यमान रहेको धार्मिक सद्भाव बिथोल्न भने नहुने पन्त बताउँछन्।
नेवार मुस्लिम समाजका अध्यक्ष निसार उद्दीन आफूहरू हिन्दु समाजभित्रै अझ विशेष गरी नेवार समुदायसँग हुर्केको भन्दै अहिलेसम्म दुई समुदायलाई इन्द्रचोकमा रहेको 'इन्द्रचोक कश्मिरी बजार' ले एक गरेको बताउँछन्। आफ्नो पुर्खादेखि चलिआएको रीतिलाई गहन गर्दै सयौँ वर्ष पुरानो कश्मिरी बजार जीवन्त रहेको बताउँछन्।
पढ्नुस्ः- 'जीना यहाँ मरना यहाँ, इसके सिवा जाना कहाँ', 'नेवार मुस्लिम पहिचान' खोजीको कथा
समयसँगै पेशामा लाग्ने मानिसहरूको संख्या कम हुँदै गएकोमा भने फिरोजद्दिन चिन्तित छन्। ६ जना छोराका बुवा उनी अब आफू रहेसम्म पुर्ख्यौली पेशा अघि बढाउने बताउँछन्।
भन्छन्, 'छोराहरूलाई यही गर भनेर भन्नु पनि भएन। उनीहरूले रोजेको काम गर्छन्। तर म रहन्जुलसम्म भने यही चुरा पोते बेच्ने हो। नयाँ पुस्तासँगै हाम्रो पुर्ख्यौली पेसा लोप हुने हो कि भन्ने लाग्छ। तर पनि दुई धर्म र समुदायबीचको आत्मियतामा भने कमी आउनु हुँदैन।'