
काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को एकता प्रक्रिया चाँडै टुंगोमा पुग्ने बताइए पनि प्रक्रिया अझै लम्बिने भएको छ। एकतालाई टुंगोमा पुर्याउन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठक निष्कर्षबिना नै २८ गतेसम्मका लागि स्थगन भयो।
सोमवारको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले एकताका लागि गृहकार्य अझै नपुगेको भन्दै बैठक २८ गतेका लागि तय गरिएको बताएका थिए। ‘होमवर्क’ नपुगेर रोकिएको बैठक २८ गते बस्ने गरी स्थगित गरिएको भनिए पनि बैठक रोकिनुको कारण भने दुई अध्यक्षको विदेश भ्रमण रहेको छ।
ने क पाका केन्द्रीय सदस्य विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' युएई जाने कार्यक्रम भएपछि बैठक २८ गते सम्मका लागि रोकिएको जानकारी दिएका छन्।
अध्यक्ष दाहाल आज (मंगलबार) बिहान युएई प्रस्थान गरेका छन्। बिहान साढे ९ बजे परिवारका ८ जना सदस्यसहित दाहाल युएई प्रस्थान गरेको प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। भ्रमण टोलीमा दाहालका साथमा पत्नी सीता दाहाल, छोरीहरु रेणु दाहाल र गंगा दाहाल तथा नातिनीहरु सहभागी छन्। सापकोटाका अनुसार दाहालको भ्रमण विशुद्ध पारिवारिक भ्रमण हो। अध्यक्ष दाहाल १८ गते फर्कने उनले बताए।
उता, दाहाल फर्किएलगत्तै प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने तयारीमा छन्।
प्रधानमन्त्री साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर भ्रमणमा जाने तय भएको बालुवाटर स्रोतले बतायो। प्रधानमन्त्री बनिसकेपछि ओली नियमित स्वास्थ्य परीक्षणका लागि विदेश गएका छैनन्। गत वर्ष दसैँपछि प्रधानमन्त्री ओली बिरामी हुँदा अस्पतालमै भर्ना भएर उपचार गराएका थिए।
गत वर्ष जेठ ३ गते तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको ने क पाको संगठनात्मक संरचना टुंगिन सकेको छैन। पछिल्लो पटक ने क पाभित्र स्कुल विभागको जिम्मेवारीको विषयमा विवाद छ। एकतासम्बन्धी विषय छलफलका लागि सोमवार बसेको ने क पाको सचिवालय बैठकमा दुवै अध्यक्षको विदेश भ्रमणले प्रवेश पाएको थियो। दुवै अध्यक्षले आफ्नो भ्रमणको विषयमा बैठकमा जानकारी गराएका थिए।