PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

क्रान्तिकारीको मागः कक्षा ११ र १२ को शुल्क तत्काल निर्धारण गर



पहिलोपोस्ट

क्रान्तिकारीको मागः कक्षा ११ र १२ को शुल्क तत्काल निर्धारण गर

काठमाडौंः मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले कक्षा ११ र १२ को भर्ना तथा मासिक शुल्क तत्काल निर्धारण गर्न माग गरेको छ।

संगठनका अध्यक्ष हरिकृष्ण गजुरेलले एक विज्ञप्ति जारी गर्दै शुल्क तोक्न माग गरेका हुन्। निजी शैक्षिक संस्थाहरुले कक्षा ११ र १२ मा मनपरी ढंगले शुल्क असुल्ने गरेको भन्दै अखिल क्रान्तिकारीले शुल्क निर्धारण गर्न सरकारसँग माग गरेको हो। 

‘विद्यार्थीहरुसँग मनपरी शुल्क लिने गरेको पाइयो। जसको हाम्रो संगठन घोर विरोधसमेत गर्दछ’, सरकारले कक्षा १ देखि ८ सम्म आधारभूत शिक्षा, कक्षा ९ देखि १२ माध्यमिक शिक्षाको रुपमा कार्यान्वयन गरिसकेको अवस्थामा कक्षा १ देखि १० सम्मको शुल्क तोकिए पनि कक्षा ११ र १२ को शुल्क नतोकिनुले सरकार गैर जिम्मेवार रहेको कुरा प्रष्ट हुन्छ’, विज्ञप्ति भनिएको छ, ‘त्यसकारण कक्षा ११ र १२ को शुल्क तत्काल निर्धारण गरियोस्।’

संगठनले विद्यार्थीहरुलाई दिइँदै आएको छात्रवृत्ति पारदर्शी बनाउन पनि माग गरेको छ। हाल हरेक प्लस टुले १० प्रतिशत छात्रवृत्ति दिने व्यवस्था छ। अखिल क्रान्तिकारीले यसलाई बढाएर २५ प्रतिशत बनाउनसमेत माग गरेको छ।

संगठनले विद्यालयका नामका पछाडि राखिएको ‘इन्टरनेसनल’ शब्द हटाउनसमेत माग गरेको छ।

‘१ प्रतिशत न्यूनतम विदेशी विद्यार्थीहरु अध्ययन गरेको खण्डमा इन्टरनेसनल नाम राख्न पाउने भए पनि फेसनको रुपमा इन्टरनेसनल नाम राखिएकाले तत्काल हटाउन जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा अनावश्यक प्रतिस्पर्धात्मक रुपमा राखिएका विज्ञापनका होर्डिङ् बोर्डहरु हटाउनसमेत माग गरिएको छ। त्यस्तै अखिल क्रान्तिकारीले सीटीईभीटी, इन्जिनियरिङ र मेडिकल शिक्षामा निजी कलेजहरुले अत्यन्त मनोमानी ढंगले चर्को शुल्क असुल गरिरहेको भन्दै वैज्ञानिक तवरबाट शुल्क निर्धारण गर्नसमेत माग गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell