
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी डिस्कवरी च्यानलको टेलिभिजन 'म्यान भर्सेज वाइल्ड' सोमा देखिँदै छन्। 'सो' को 'टिजर' सार्वजनिक भएको छ। अगस्ट १२ तारिखमा प्रसारण हुने 'सो'मा मोदी कार्यक्रम सञ्चालक बियर ग्रिल्ससँग देखिएका छन्।
People across 180 countries will get to see the unknown side of PM @narendramodi as he ventures into Indian wilderness to create awareness about animal conservation & environmental change. Catch Man Vs Wild with PM Modi @DiscoveryIN on August 12 @ 9 pm. #PMModionDiscovery pic.twitter.com/MW2E6aMleE
— Bear Grylls (@BearGrylls) July 29, 2019
कार्यक्रमको टिजर सार्वजनिक भएसँगै भारतीय कांग्रेसले मोदीविरुद्ध आक्रमण थालेको छ। उसले सो सुटिङको दिन माेदीका दिनभरिका सबै कार्यक्रम सार्वजनिक गर्न माग गरेको छ।
पार्टीका प्रवक्ता मनीष तिवारीले मोदीमाथि प्रश्न उठाउँदै कार्यक्रम सूची सार्वजनिक गर्न माग गरेको दी वायरले जनाएको छ। मोदीको आलोचना यतिबेला 'सो'लाई लिएर मात्र नभई पुलवामामा भएको आतंकवादी आक्रमणलाई लिएर समेत भइरहेको छ।
प्रवक्ता तिवारीले संसद परिसरमा पत्रकारसँग भनेका छन्, 'पुलवामा हमलाको दिन (फेब्रुअरी १४) मैले यस विषयमा भनेको थिएँ कि प्रधानमन्त्री सुटिङमा व्यस्त छन्। सुटिङपछि साढे ५ बजे प्रधानमन्त्री मोदीले उत्तराखण्डको एक जनसभामा सम्बोधन गरे तर उनले त्यहाँ हमलाबारे एक शब्द पनि बोलेनन्। निन्दा पनि गरेनन्। न त शहीदप्रति श्रद्धान्जली नै दिए।'
उनले मोदीलाई मात्र होइन, टेलिभिजन च्यानल डिस्कवरीलाई पनि त्यस दिनको सुटिङको कार्यक्रम सार्वजनिक गर्न भनेका छन्।
सुटिङ भारतको जिम कोर्वेट राष्ट्रिय निकुञ्जमा भएको बताइएको छ। यसअघि पनि हमलाको दिन निकुञ्जमा सुटिङमै रमाइरहेको आरोप मोदीमाथि लागेको थियो।
हमलाको एक सातापछि २१ फेब्रुअरीमा कांग्रेस प्रवक्ता रणदीप सिंह सुरजेवालाले पत्रकार सम्मेलन गरी भनेका थिए, 'जब पूरै देश दिउँसो पुलवामा हमलामा ज्यान गुमाउने जवानहरुको मृत्युमा शोक मनाइरहेका थियो, त्यसबेला प्रधानमन्त्री मोदी जिम कोर्वेट पार्कमा फिल्मको सुटिङमा व्यस्त थिए। के दुनियाँमा यस्तो कोही प्रधानमन्त्री छ? साँच्चै उनीविरुद्ध मसँग कुनै शब्द छैन।' तर, त्यतिखेर उनको आक्षेपलाई प्रधानमन्त्री कार्यालयले अस्वीकार गरेको थियो।
यसअघि मार्चमा इन्डियन एक्प्रेसको एक रिपोर्टमा १४ फेब्रुअरी आसपास बियर ग्रिल्स उत्तराखण्डको जिम कोर्वेट टाइगर रिजर्वमा देखिएको उल्लेख छ।
त्यस दिन उत्तराखण्डको वन विभागले ढकाला फरेस्ट रेस्ट हाउसमा सबै पर्यटकहरुको बुकिङ रद्द गरेको थियो। किनकी प्रधानमन्त्री मोदी त्यहाँ जाँदै थिए। भारत आउनुअघि ग्रिल्सले यससम्बन्धी ट्विटहरु पनि डिलिट गरेका थिए।
उनले जनवरी २६ मा एउटा ट्विट गरेका थिए, 'भारतका लागि एउटा ठूलो दिन। म केही विशेष सुटिङका लागि छिट्टै आउँदै छु।' तर, लगत्तै उनले त्यो ट्विट डिलिट गरेका थिए।
१२ फेब्रुअरीमा उनले भारततर्फ उड्दै गर्दा सेल्फी पोस्ट गरेका थिए। त्यो पनि उनले तत्कालै डिलिट गरेका थिए। फेब्रुअरी १६ मा उनले प्रधानमन्त्री मोदीले पुलवामा आक्रमणबाट निधन भएका जवानहरुलाई श्रद्धान्जली दिएको ट्विटमा रिप्लाइ गर्दै आफूले पनि श्रद्धान्जली व्यक्त गरेका थिए।
इन्डियन एक्सप्रेसको रिपोर्टमा ग्रिल्स र डिस्कवरी च्यानलको सुटिङ युनिट निकुञ्जमा जाने अनुमति लिएको पुष्टि गर्न नसकेको उल्लेख छ।
तर, अहिले आएर मोदी पुलवामा आक्रमणको दिन सुटिङमै व्यस्त रहेको खुलेको हो।
रहस्यमा मोदीको फेब्रुअरी १४ को कार्यतालिका
जम्मु कस्मिरमा ४० जनाको ज्यान जाने गरी भएको पुलवामा आक्रमणको ६ महिना बितिसकेको छ। तर, त्यस दिन दिउँसो ३:१४ बजे भारतका प्रधानमन्त्री मोदी के गरिरहेका थिए र उनलाई आक्रमणबारे कति बजे जानकारी गराइयो भन्ने अझै रहस्यमै छ।
दी वायरमा अमनत खुल्लरले लेखेकी छन्, 'साँझ करिब ७ बजे मोदीलाई कोर्वेट राष्ट्रिय निकुञ्जबाट बाहिरिँदै गरेको देखिएको थियो। र, उनलाई घटनाबारे कति समयपछि जानकारी गराइयो?'
भोलिपल्टका स्थानीय पत्रिकाले पनि त्यसलाई पुष्टि गर्ने समाचार लेखेका छन्। अमर उजालाले त्यतिबेला कालागढमा मोटरबोटमा सवार प्रधानमन्त्री मोदीको तस्बिरसहित समाचार प्रकाशित गरेको थियो। उनी वायुसेनाको हेलिकोप्टरबाट १२:१० मा कालागढ पुगेका थिए।
त्यहाँदेखि उनी रामगंगा बाँध पुगे। रामगंगा बाँधबाट उनी रामगंगा सरोवर हुँदै ढिकलाबाट अगाडि बढेका थिए। त्यसपछि उनले कोर्वेट निकुञ्जमा दिनभरि बिताए। साँझ पौने ७ बजे प्रधानमन्त्री रुद्रपुरबाट निस्किएका थिए।
उनको निकुञ्जको भ्रमण तालिका बिहान ९ बजेको थियो। तर, मौसमका कारण उनको भ्रमण तालिका पछाडि धकेलियो। ९ बजे पुगेर २ बजे फर्किने कार्यक्रम रहे पनि उनी ढिलो गरी पुगे र ढिलै गरी फर्किए।
त्यतिबेला उनी कहाँ थिए? भन्ने आधिकारिक सूचना न त मोदीले दिए न त उनको सचिवालयले नै। पटकपटक कांग्रेसले आरोप लगाइरहे पनि, अखबारमा अपुष्ट खबरहरु आए पनि मोदीको सचिवालयले खण्डन चाहिँ गरिरहेको थियो। तर, अहिले आएर उक्त घटना पुष्टि भएको छ - त्यस दिन उनी निकुञ्जमा सुटिङमै थिए।
'म्यान भर्सेस वाइल्ड'को 'प्रोमो'मा भारतीय प्रधानमन्त्रीको सन्देश वातावरणीय परिवर्तनको मुद्दा उठाउने प्रयास गरेको देखाउन खोजिएको छ।
‘म्यान भर्सेस वाइल्ड’मा सहभागिताबारे मोदीले एउटा विज्ञप्तिमा भनेका छन्, ‘राजनीतिभन्दा फरक जीवनमा केन्द्रित भएको विशेष कार्यक्रममा सहभागी हुनेबारे मलाई सोधियो। प्रकृतिमाझ रहेर गरिने त्यस कार्यक्रमले मलाई आकर्षित गर्यो र सहभागी हुने इच्छा देखाएँ।’
तर, थप महत्त्वपूर्ण प्रश्न हो, के मोदीले ‘प्रकृतिमाझ रहन’का लागि प्रधानमन्त्रीका रूपमा निभाउनुपर्ने आफ्नो मूल राजनीतिक कर्तव्य नै बिर्सिए?
कोर्वेटमा के गरिरहेका थिए भन्ने प्रष्ट नभने पनि विपक्षी पार्टीले पुलवामा आक्रमणपछि मोदीले कोर्वेटको भ्रमण नछोट्याएको भन्दै विरोध गर्दै आएका थिए। 'डिस्कवरी धन्यवादको पात्र हो जसले मोदी त्यो दिन के गरिरहेका थिए भन्ने खुलासा गरिदिएको छ। मोदी त्यो दिन ‘जीवनकालकै अपूर्व साहसिक कार्य’मा पो रहेछन्,' उनीविरुद्धको टिप्पणीमा लेखिएको छ।
कार्यक्रमको प्रोमो भिडियोमा कुर्ता, पाइजामा, सफारी ज्याकेट र स्कार्फ लगाएका मोदी वनमा अनेक कठिनाइ चिर्दै अघि बढेको देखिन्छ।
विभिन्न रिपोर्ट अनुसार पुलवामामा अर्ध सैनिक जवानमाथि आत्मघाती आक्रमण ३:१० र ३:१५ को बीचमा भएको थियो। र, टिभी फुटेज र स्थानीय समाचारपत्र हेर्दा मोदी साँझ ६:४० र ७:३० बीच कोर्वेट राष्ट्रिय निकुञ्जबाट निस्किएका थिए।
भारतका प्रधानमन्त्रीको कार्यालयले जारी गरेको त्यस दिनको आधिकारिक समय तालिका अनुसार पनि मोदी राष्ट्रिय निकुञ्जमा बिहान ९ बजे पुग्ने र दिउँसो २ बजे फर्किने कुरा थियो।
तर, देहरादुनमा ठूलो वर्षा भएका कारण मोदी चढेको हेलिकप्टर चार घण्टापछि मात्र अवतरण हुन सक्यो। त्यसैले सबै कार्यतालिका पछाडि धकेलिएको थियो। जिल्ला तथा राष्ट्रिय निकुञ्जका अधिकारीले डिस्कवरीको सुटिङको विवरण दिन अस्वीकार गरेकाले मोदीको सुटिङ आक्रमण अघि वा पछि कतिबेला भएको थियो यकिनका साथ भन्न कठिन छ।
पुलवामा आक्रमणको एक सातापछि राष्ट्रिय सुरक्षा प्रोटोकलका जानकार एक जना शीर्ष अधिकारीले ‘यो स्तरको राष्ट्रिय महत्त्वको घटनाको सूचना तत्काल प्रधानमन्त्रीलाई नदिने सम्भावना न्यून रहेको’ द वायर’लाई बताएका छन्।
अझ रमाइलो कुरा त के छ भने मोदीले राष्ट्रिय निकुञ्जभित्र रहेको खिनानौली गेस्ट हाउसबाट साँझ ५:१० रद्रपुरमा भएको भाजपा र्यालीलाई फोनमार्फत् सम्बोधन गरेका थिए। आक्रमण भएको दुई घण्टा बितिसकेकाले यो समयसम्म मोदीलाई घटनाको जानकारी गराइसक्ने सम्भावना अत्यधिक हुन्छ।
तर, र्यालीलाई गरेको सम्बोधनमा उनले पुलवामा आक्रमणको सन्दर्भ एक पटक पनि उल्लेख गरेनन्। जबकि पछि आम निर्वाचनमा भएका सबैजसो र्यालीमा उनले पुलवामा हमलालाई राष्ट्रवादसँग जोड्दै चर्चामा ल्याएका थिए।
मोदीलाई यो समयसम्म पुलवामा आक्रमणबारे थाहा थिएन या उनले थाहा पाएर पनि डिस्कवरीको सदस्यसँग कोर्वेटमै समय बिताएर बसेको विषय बाहिरिए विपक्षीले मुद्दा बनाउने सम्भावनालाई चलाखीपूर्ण तरिकाले टारेका त थिएनन्?
यसबारे स्पष्ट जवाफ कहिल्यै सार्वजनिक नहुन पनि सक्छ।