PahiloPost

Nov 18, 2024 | ३ मंसिर २०८१

नेवार समुदायमा गथांमुग : राक्षस भगाउन फलामे औंठी लगाइयो, बेलुकी घण्टाकर्णको दहन



सहयोग रञ्जित

नेवार समुदायमा गथांमुग : राक्षस भगाउन फलामे औंठी लगाइयो, बेलुकी घण्टाकर्णको दहन

काठमाडौं : आज नेवार समुदायले गथांमुग: मनाउँदैछ।

प्रत्येक वर्ष दिलागा चर्‍हे अर्थात साउन कृष्ण चतुर्दशीको दिन मनाइने गथांमुग: भूतप्रेतसँग सम्बन्धित पर्व हो।

आजको दिन नेवार समुदायमा बिहान घर सफा गरेर फलामको औंठी लगाउने प्रचलन छ। संस्कृतिविद् ओम धौभडेल भूतप्रेत, बोक्सी लगायतको आध्यात्मिक शक्तिबाट टाढा रहन फलामको औंठी लगाउने गरिएको बताउँछन्।

उनका अनुसार तन्त्रिकविद्या, कुविद्या वा बोक्सी विद्याको साधना गर्नेहरु आज सक्रिय हुने गर्छन्। आज राति उनीहरु आफ्नो औंलामा आगो बालेर निस्किन्छ र राक्षसी विद्यामा सिद्धि प्राप्त गर्ने जनविश्वास छ। त्यसैले नेवार समुदायले यो दिनलाई भूतप्रेत पन्छाउने दिनका रुपमा मनाउँदै आएका छन्।

फलामबाट राक्षसी शक्तिलाई पराजित गर्न बेलुकी घरको मूल ढोकामा (प्यांकी) तीन खुट्टे फलामे किला ठोक्ने प्रचलन समेत रहेको छ। यसबाट घरभित्र भूतप्रेत पस्न नसक्ने र फलाम ठोकेपछि घरबाट राती बाहिर निस्कन नहुने जनविश्वास रहेको छ।

बढलिँदो सामाजिक परिवेशका आधारमा अहिले गथांमुग: पनि परिवर्तन हुँदै गइरहेको छ।

पहिला काठमाडौं उपत्यकाका चोकचोकमा फलामे औंठी बेच्नेहरुको भिड हुन्थ्यो। बिहानैदेखि पसलमा औंठी किन्न आउनेहरुको ओइरिन्थे। विशेष गरी नकर्मीहरुले फलामका औंठी बनाउने गर्थे। तर, अहिले भने औंठी बेच्ने पसल र किन्ने मान्छेको संख्यामा कमी आएको छ।

असनमा विगत दुई दशकदेखि औंठी बेच्दै आएका सुजन नकर्मी मानिसहरुले यस पर्वको महत्वलाई बिर्सिँदै गएको बताउँदै भन्छन्, 'भूतप्रेतसँग जोडिएकाले होला अहिलेको पुस्तालाई औंठी लगाएर भूतप्रेतबाट जोगिन्छ भन्ने विश्वास लाग्दैन। तर, यो हाम्रो संस्कृति हो। यसको आफ्नै इतिहास छ।’

आजकै दिनबाट नेवार समुदायमा जात्रा पर्व सुरु हुने बताउँदै उनले सुनाए, 'अब शुभकार्य सुरु भयो। नकारात्मक सोच र शक्तिबाट टाढा हुनुपर्छ भनेर यो पर्व सुरु भएको हो।’

नकर्मी हाल युवा पस्ता फलामे औंठी भन्दा ’फेन्सी औंठी’ प्रति आकर्षित हुँदै गएको बताउँछन्। त्यसैले हाल पसलहरुमा फलामे औंठीसँगै अन्य प्रकारका औंठीहरु समेत राखिएको देख्न सकिन्छ।

नकर्मी भन्छन्,'फलामे औंठीको सट्टा मानिसहरु डिजाइनवाला औंठी प्रति आकर्षित भएका छन्। उनीहरुलाई यसको महत्वबारे बुझाउन नै सकिएको छैन।’

धौभडेल खेतीपातीको समय सकेपछि मानिसहरु आराम गर्ने यो समयमा उनीहरुलाई सफा गर्ने प्रोत्साहन गर्ने स्वरुप यो पर्व सुरु भएको बताउँछन्।

धेरैले गथांमुग:को अर्थ घण्टाकर्ण हो भन्ने बुझेका छन्। आजको दिनलाई घण्टाकर्णका रुपमा समेत व्याख्या गर्ने गरिन्छ। तर, गथांमुग: र घण्टाकर्ण फरक फरक पात्र हुन्। त्यसैले गथांमुग:लाई घण्टाकर्ण भन्न नहुने आवाज पनि उठिरहेको छ। नेपाल भाषामा ‘गं’ (घण्ट) र ‘ग:’ (शहर)को अर्थ फरक हुन्छ। तर, कुनै कालखण्डमा ‘ग:’ लाई ‘गं’ बुझेर गथांमुग:लाई घण्टाकर्णका रूपमा व्याख्या गर्न नहुने संस्कृतिविदहरुको मत छ।

धौभडेल घण्टाकर्ण देवता नमान्ने राक्षस रहेको बताउँछन्। राक्षसले धेरै दु:ख दिएपछि उसलाई समाएर गथांमुग:को दिन चोकमा उभ्याएर बेलुकी खोलामा लगेर फालेको सम्झनामा घण्टाकर्णको दहन गर्दै आएको बताउँछन्।

त्यसैले आजको दिन काठमाडौं उपत्यकाका विभिन्न स्थानमा नर्कट र छ्वालीबाट राक्षसको प्रतीक बनाई त्यसलाई जलाउने परम्परा रहेको छ। भक्तपुरका टोलटोलमा घण्टाकर्णको प्रतीकका रुपमा छ्वालीबाट राक्षस बनाएर जलाउने गरिन्छ। कतैकतै भने घण्टाकर्णलाई नगरबाट तानेर खोलासम्म लगेर बाल्ने चलन रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell