PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

हाइ अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर दोलखामा निर्माण गरिने



पहिलोपोस्ट

हाइ अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर दोलखामा निर्माण गरिने

काठमाडौं : नेपाल तेक्वान्दो संघले दोलखाको शैलुङमा हाई अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर निर्माण गर्ने भएको छ।

पछिल्लो सयम विभिन्न स्थानमा हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन चर्चा भइरहँदा तेक्वान्दो संघले आफ्नै पहलमा दोलाखको शैलुङ गाउँपालिकामा ट्रेनिङ सेन्टर बनाउन लागेको मंगलवार पत्रकार सम्मलेन मार्फत जानकारी दिएको हो। संघले अबको तीन वर्षमा ट्रेनिङ सेन्टर बनाउने जानकारी दिएको छ।

हाइ अल्टिच्युड तेक्वान्दो ट्रेनिङ सेन्टर निर्माणका लागि तेक्वान्दो संघले मंगलवारै शैलुङ गाउपालिकासँग जग्गा भोगचलनसम्बन्धी सम्झौता समेत गरेको छ।

गाउँपालिकाका तर्फबाट अध्यक्ष भरतप्रसाद दुलाल र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले हस्ताक्षर गरेका थिए।

सम्झौतासँगै गाउँपालिकाले ट्रेनिङ सेन्टरका लागि ५ रोपनी क्षेत्रफलको जग्गा तेक्वान्दो संघलाई उपलब्ध गराउनेछ।

शैलुङ गाउँपालिकाको कालापानीमा अवस्थित दुई हजार ८ सय देखि ३ हजार उचाईमा रहेको उक्त क्षेत्रमा ट्रेनिङ सेन्टर निर्माण हुनेछ।

भरत दुलाले शैलुङ सबै किसिमले मनोरम क्षेत्र रहेको त्यस स्थानमा तेक्वान्दो ट्रेनिङ सेन्टर निर्माण हुने विषयले स्थानियबासी सबै उत्सहित भएको बताए।

तेक्वान्दो संघका महासचिव दी राज गुरुङले अब वर्षाको मौसम सकिनेबित्तिकै काम सुरु गर्ने र ३ वर्ष भित्र ट्रेनिङ सेन्टर बनाइसक्ने बताए।

'जग्गा प्राप्त भएको छ। अब हामी विज्ञहरुलाज्ञ त्यहाँ लगेर अवलोकनपछि गुरुयोजना तयार पार्छौँ। त्यसबाट कसरी निर्माण गर्ने थाहा हुन्छ।' गुरुङले बजेट कति लाग्ने भन्ने निर्णय पनि त्यही बेला थाहा हुने जानकारी दिए।

उनले दशकअघि देखि हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको बारेमा चर्चा चल्दै आएपनि अहिलेसम्म खासै काम नभएको बताए। 'नेपाल तेक्वान्दो संघको यो पहिलो पहल हो। हामी अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि सहयोग माग्छा। नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद् लगायत सरोकारवाला निकायबाट पनि सहयोग हुन्छ भन्ने विश्वास छ।' गुरुङले भने।

उनले शैलुङ यसको लागि उपयुक्त स्थान भएको बताउदै त्यहाँ हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनेपछि अरु खेलको ट्रेनिङका लागि समेत काम लाग्ने बताए। 'अहिले विश्वमा पनि कृतिम रुपमा हाइ अल्टिच्युड ट्रेनिङ गरेको देखेका छौँ। त्यसैद्ये हामीले बनाइसकेपछि विदेशी खेलाडी समेत यहाँ आएर ट्रेनिङ गर्ने सम्भावना छ। तेक्वान्दोको हुने ठाउमा बक्सिङ,कराते, उसु जस्ता खेलले पनि ट्रेनिङ गर्न सक्छन्।' गुरुङले होस्टल पनि निर्माण गरिने बताए।

ट्रेनिङ सेन्टर निर्माणको लागि तेक्वान्दो संघले सात चरणसम्मको कार्यक्रम तयार पारेको छ र जग्गा प्राप्त भएपछि दोस्रो चरणको कार्यक्रम सकिएको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell