PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

झुप्रा खोलाको वादी बस्ती बाढीको उच्च जोखिममा, 'घर पर पर सार्दै जान्छौँ, खोला पनि यतै यतै आउँछ'



पी बी खड्का

झुप्रा खोलाको वादी बस्ती बाढीको उच्च जोखिममा, 'घर पर पर सार्दै जान्छौँ, खोला पनि यतै यतै आउँछ'

सुर्खेतः खोलाको किनारमा स–साना छाप्रो छ। वर्षातको बाढीले खोलाको किनार विस्तारै बस्तीतिर कटान गर्न सुरु छ। खोलाको छेवैमा भएका तीन घर अन्तै सारिएको छ भने, अरु घरपरिवार पनि त्रासमा छन्। वर्षाको बाढी कतिबेला आउने भन्दै रातभर जाग्राम बस्छन् वीरेन्द्रनगर–११स्थित वादी समूदाय। आम्दानीको मुख्य स्रोत खोलाको बालुवा र गिट्टी बेच्दै आफ्नो जीविका चलाउँदै आएका छन् यो समूदाय। अधिकांश अस्थायी छाप्रोमा बसेका वर्षात लागेसँगै वादी बस्ती बाढीको उच्च जोखिममा छ। बाढीले खोला किनार कटान गर्न थालेपछि वर्षौदेखि बस्दै आएको बस्ती नै जोखिममा परेको हो।

सदरमुकामदेखि झण्डै १० किलोमिटरको दुरीमा रहेको वादी समूदाय अहिले रातभर जाग्राम बस्नुपरेको सुनाउँछन्। ‘अस्तिको झरीमा (८गते) रातभरी सुताइ नै भएन। कतिबेला खोला आउने र सबै लैजाने भन्दै बस्दै।’ पीडित नैनकला वादी भन्छिन्,‘प्रत्येक वर्ष खोला यतै (बस्तीतिर) आउँछ। जाउँ भने कहाँ जाउँ घर छैन, जग्गा छैन के गर्ने? वर्षवर्षमा घर पर पर सार्दै जान्छौँ झन–झन खोला पनि यतै–यतै आउँछ।’

वर्षौदेखिको समस्या सल्टाउन सरकारले कुनै चासो नदिएको गुनासोसमेत उनीहरुको छ। ‘अहिले मात्रै भए त हुन्थ्यो समस्या। वर्षेनी यस्तै हो,’ नैनकला भन्छिन्, ‘प्रदेश सरकार, स्थानीय सरकार भएर पनि अहिलेसम्म कुनै थाहा नभएजस्तो गरेका छन्। पटक–पटक गएर खोला किनारमा तटबन्ध गरिदिनुपर्‍यो भन्दा पनि कसैले सुनेका छैनन्।’

खोला बस्तीको छेवैमा आउन थालेपछि उनीहरु डर र त्रासमा बसिरहेका छन्। वादीवस्तीमा एक सय २४ घर रहेकोमा वर्षा लागेसँगै पुरै वस्ती नै जोखिममा परेको छ। अस्थायी छाप्रोमा बस्दै आएको बस्तीमा बाढीले खोला किनार कटान गर्न थालेपछि तीन घर विस्थापित भइसकेका छन् भने अन्य घर जोखिममा परेका छन्।

‘वर्षा लाग्यो की राम्रोसँग खान, बस्न पाइदैँन। अस्ति आएको बाढी किनार काट्दै लगेको छ। तीन घरको उठिवास भइसक्यो,’ बखतबहादुर वादीले भने,‘खोलाको छेकवार पनि छैन कतिवेला आउने भन्दै रातभर चनाखो भएर बस्नुपर्छ’ फेरि थपे,‘सरकारले रामै  ठाउँमा लगिदे’को भए राम्रो हुन्थ्यो। हैन भने जाली दिएको भए बरु हामी आफैँ तटबन्ध लगाउँथ्यौँ।’

अहिलेसम्म आफ्नो बस्तीलाई सबै राजनीतिक दललेसमेत वेवास्ता गरेको उनले बताए। निर्वाचनमा भोट फकाउन आउने तर, भोट पाएपछि फर्केर नहेर्ने उनी बताउँछन्। ‘नेताहरु पनि भोट फकाउने बेला दिन रात आउँछन्।’ उनले भने,‘अघिपछि के छ? कस्तो छ? भनेर फर्केर आउँदैनन्। अहिलेसम्म कसैले पनि केही पहल गरेका छैनन्।’

अझै पनि वर्षा भइरहेकाले बाढी आउने सम्भावना पनि उत्तिकै छ। नगरपालिकाले बस्ती जोखिममा रहेकाले संरक्षण गर्न उत्खनन्मासमेत प्रविधिको प्रयोगमा रोक लगाएको थियो। तर, बस्ती भने अझै पनि जोखिममै परेको छ।

वीरेन्द्रनगर नगरपालिकाको उप–प्रमुख मोहनमाया ढकालले पटक–पटक बाढीपहिरोको जोखिममा रहेको बस्तीहरु अनुगमन गरेको र सर्तकता अपनाउन सुझाव दिएको बताइन्।

नगरपालिकाले उच्च जोखिममा रहेको बस्तीलाई समेत थप सुरक्षित रहनका लागि बजेटले भ्याएसम्म सक्दो सहयोग गर्दै आएको बताइन्।

‘नगरपालिकाको तर्फबाट हामीले बाढीपहिरोको जोखिममा रहेका क्षेत्रहरुको अनुगमन गरेर हामीले थप नगरबाट के गर्न सकिन्छ त्यसका विषयमा कुराकानी गरिरहेका छौँ,’ उनले भनिन्,‘झुप्राको वादीबस्ती पनि अनुगमन गरेका छौँ। त्यहाँ एकदमै जोखिम छ। नगरपालिकाबाट हुने तटबन्ध र अन्य सहयोग पक्कै गर्छौ,’ फेरि थपिन्,‘प्रमुख आम्दानीको स्रोत बालुवा, गिट्टी बेच्ने भएकाले यो बस्ती चाहेर पनि अन्यत्र सार्न सकिदैँन।’

उनीहरुलाई अहिले तत्काल रोजगार दिएर अन्य ठाउँमा सार्न नसकिने नगरपालिकाको भनाई छ।

सरकारले र स्थानीयस्तरमा रहेका राजनीतिक दलले समेत यो बस्तीलाई खोलाबाट अन्यत्र उचित व्यवस्थापन गर्न पहल गरेका छैनन्। उनले भने, 'यसरी वर्षेनी आउने बाढीको त्रासमा रहेको वादी वस्तीलाई दीर्घकालिन रुपमा उचित बन्दोवस्त मिलाउन सके राहत पुग्ने देखिन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell