PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

स्थानीय पाठ्यक्रममार्फत 'ख्वपको दर्शन' सिकाउँदै भक्तपुरका विद्यालय



सहयोग रञ्जित

स्थानीय पाठ्यक्रममार्फत 'ख्वपको दर्शन' सिकाउँदै भक्तपुरका विद्यालय
फोटोः बाल विकास सेकेन्डरी स्कूल

भक्तपुर दहीको सहर हो। दहीको राजा 'जुजु धौ'का कारण भक्तपुरले नेपाली समाजमा छुट्टै पहिचान बनाएको छ। हुन त अरू स्थानमा पनि दही बन्छन्। तर भक्तपुरको चार किल्लाभित्र बन्ने जुजु धौ बनाउने प्रक्रिया अन्य स्थानमा भन्दा फरक हुन्छ।

धेरैलाई माटोको भाँडोमा दूधलाई जमाएर नै जुजु धौ बनाइन्छ भन्ने लाग्छ। तर त्यसो होइन। जुजु धौका लागि जुजु धौंकै 'पुसा' (जुजु धौ बनाउन चाहिने बिउ) आवश्यक पर्छ। भेग (माटोको भाँडो) मा पुसासहितको दूध राखिसकेपछि त्यसलाई छोपेर जम्न दिनुपर्छ। अनि मात्रै तयार हुन्छ जुजु धौ।  

आधुनिकतासँगै अहिले भक्तपुरमा माटोको भाडाको सट्टा प्लास्टिकका बट्टामा जुजु धौ बिक्री हुन थालेका छन्। यसबाट भक्तपुरको मौलिक पहिचान 'जुजु धौ' को अस्तित्व लोप हुन सक्ने जानकार बताउँछन्।

दही बनाउने मौलिक सीप, प्रविधिको अभाव भइरहेको बेला भक्तपुर नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमबाट सीप र प्रविधि भावी पुस्तामा हस्तान्तरण हुने सम्भावना देखिएको छ।

भक्तपुरको लिवालीमा अवस्थित छ बाल विकास इंग्लिस माध्यमिक विद्यालय। केही हप्ता अगाडि मात्रै त्यहाँ विद्यार्थीलाई जुजु धौ बनाउन सिकाइएको थियो।

जुजु धौ बनाउने प्रयोगात्मक कक्षामा सहभागी कक्षा ६ मा अध्ययनरत सुरभी लाखाजु आफूले जुजु धौ जताततै देखेको तर बनाउने प्रक्रियाबारे हालैमात्र सिकेको बताउँछिन्।

उनलाई स्थानीय पाठ्यक्रममा भएका विषयमध्ये सबैभन्दा रुचि जुजु धौ बनाउनमा नै लाग्यो। भन्छिन्, 'दही कसरी बनाउने, कति दूध राख्नुपर्छ, केके राख्न पर्छ भनेर बनाउन सिक्यौँ। भुसमाथि भाँडो राखेर त्यसमा आफैंले दूध राखेर जुजु धौ बनाउन सिक्नु र बाहिर पसलमा जुज धौ देख्नुमा फरक हुँदो रहेछ।'

पाठ्यक्रम अनुसार १०० पूर्णाङकमा ५० प्रतिशत सैद्धान्तिक र ५० प्रतिशत प्रयोगात्मक परीक्षा हुनेगर्छ।

यस विषयमा सैद्धान्तिकभन्दा व्यावहारिक र प्रयोगात्मक शिक्षा बढी दिनुपर्ने बताउँछिन् विषय शिक्षिका सरुना अवाल। अवाल भन्छिन्, 'नगरपालिकाले पाठ्यक्रम लागू गरेको छ। तर पुस्तक भने छैन। त्यसैले यो विषय पढाउने शिक्षक शिक्षिका आफैंमा अध्ययनशील हुनुपर्छ। पाठ्यक्रम अनुसार आफूले पहिला तयारी गरेर विद्यार्थीलाई बुझाउन सक्नुपर्छ र प्रयोगात्मक कक्षाका लागि समेत तयार गर्नुपर्छ।'

स्थानीय पाठ्यक्रम अनुसार व्यावसायिक सीप र प्राविधिक शिक्षा अन्तर्गत विद्यार्थीलाई कौसी खेती, प्राङगारिक मल, गैर कृषिजन्य पेसा, कपडाको पुतली बनाउने कलाका साथै स्थानीय प्रविधिको अध्यापन गराइन्छ।

कक्षा ७ की जिया सैजु प्राविधिक शिक्षाले आफूहरूलाई स्थानीय संस्कार र संस्कृतिबारेमा धेरै ज्ञान मिलेको बताउँछिन्। भन्छिन्, 'गाईजात्रा भनेर मनाउने मात्रै थाहा थियो। तर यसको इतिहासबारे थाहा थिएन। अहिले भने यसबारेमा धेरै कुरा थाहा भएको छ।'

जियालाई पनि सुरावीर जस्तै जुजु धौ बनाउने कक्षा निकै रमाइलो लाग्यो। आफ्नै टोल वरिपरि देखेको जुजु धौ कसरी बन्छ भनेर उनले पहिलो पटक सिकिन्। यससँगै उनले प्रचलित लिपि र रञ्जना लिपि समेत सिकेकी छिन्। हाल उनी प्रचलित लिपिबाट लेख्न सक्ने भइसकेकी छिन्। जिया घरमा खासै नेपाल भाषामा कुरा गर्दिनन्। तर अहिले स्थानीय पाठ्यक्रम लागू भएसँगै उनी नेपाल भाषामा बोल्न सक्ने भएकी छिन्।

कक्षा ७ मा नै अध्ययनरत आयुष्का तिमिल्सिना गैर नेवार भए तापनि बाल विकासमा पढाइने स्थानीय पाठ्यक्रमका कारण उनी भक्तपुरको जीवनशैली र जात्रापर्वका बारेमा जानकार भएकी छिन्। प्रचलित लिपिमा लेख्न सक्ने भएकी उनी रञ्जना लिपिका अक्षरहरु लेख्न सिक्दैछिन्। यससँगै नेपाल भाषामा साथीहरूसँगै अलि अलि बोल्न सक्ने भएकी छिन्।

भक्तपुर नगरपालिकाले गत वर्ष कक्षा १ र ६ मा स्थानीय पाठ्यक्रम लागू गरेको थियो। त्यसमा ख्वप (भक्तपुर) को नामकरणदेखि इतिहास, संस्कृति, लिपि, कला, सम्पदा, स्थानीय व्यवसाय, खेल, उपचार विधि, प्रविधि इत्यादि समावेश गरिएको थियो। यस वर्ष भने नगरपालिकाले कक्षा २ र ७ मा समेत स्थानीय पाठ्यक्रम लागू गराएको छ। यस पटकको पाठ्यक्रममा  कक्षागत रूपमा स्थानीय बाजा, खानाका परिकार, काष्ठकला, मूर्तिकला, कृषि औजार, घरका तल्ला, नाच, म्ह पूजा, गथांमुग:, गाई जात्रा लगायत विषयमा प्रयोगात्मक कक्षासहितको व्यवस्था गरिएको छ।

सोही पाठ्यक्रम अन्तर्गत नै विद्यालयहरूमा जुजु धौ बनाउनेदेखि काष्ठकला, मूर्तिकाला लगायतका मौलिक प्रविधिको प्रयोगात्मक शिक्षा सञ्चालन भइरहेको छ।

 

प्रयोगशाला बन्दै नगर

गैर नाफामूलक विद्यालयका रूपमा सञ्चालित बाल विकासमा करिब ११ सय विद्यार्थी अध्ययनरत छन्। कक्षा १, २, ६ र ७ मा स्थानीय पाठ्यक्रमको अध्ययन हुने गरेको छ। कक्षा ४ देखि ७ सम्म चिनियाँ भाषाको पढाइ हुने गरेको छ। स्थानीय पाठ्यक्रमसँगै विद्यार्थीहरूले आफ्नो मातृ भाषा, राष्ट्रिय भाषा र अन्तर्राष्ट्रिय भाषाको ज्ञान पाइरहेको बताउँछन् बाल विकासका प्रधानाध्यापक सुरेन्द्र राज।

स्थानीय पाठ्यक्रमले विद्यार्थीहरूलाई जीवन दर्शन जोडेको उनको तर्क छ। सुरेन्द्र भन्छन्,'स्थानीय पाठ्यक्रमले हाम्रो विज्ञान, गणित, अर्थशास्त्र, समाजशास्त्र सबैलाई समेटेको छ। यो हाम्रो जनजीवन परिवार, समाजसँग जोडिएको छ। बच्चाहरूलाई देख्दै आएको कुराबारे ज्ञान दिँदा त्यसले सिङ्गो भक्तपुर नै प्रयोगशाला बनाएको छ।'

यसै पाठ्यक्रम अनुरूप हाल बाल विकासमा नेवार समुदायमा प्रचलित पुराना कासा (खेल) हरुको बारेमा विद्यार्थीलाई सिकाउने छुट्टै कक्षा समेत सञ्चालन भएका छन्। भक्तपुरमा प्रचलित 'छु: भउ' खेलको अस्तित्व नै लगभग समाप्त हुने अवस्था थियो। अहिले भने भक्तपुर नगरभित्र रहेका विद्यालयमा सोही खेलको प्रशिक्षण समेत दिने गरिएको छ। भक्तपुरका पाटीहरुमा वृद्धहरू 'कसिमला: प्या:' भन्ने खेल खेलिरहेको अहिले पनि भेटिन्छन्। हाल स्थानीय पाठ्यक्रममा त्यो खेल पनि समावेश गरिएको छ।

सुरेन्द्र भन्छन्, 'चिनियाँहरू पुरानो युग चिनेर नयाँ युगको सुरुवात गर भन्छन्। स्थानीय संस्कृति परम्परा लोप भएर जानु भएको हाम्रो सभ्यता नाश हुने हो। त्यो जोगाइराख्नु भनेकै वर्तमानको सेवा हो। स्थानीय पाठ्यक्रमबाट हाम्रो हराउन लागेको सभ्यताको पुनर्जन्म हुन निश्चित छ।'

भक्तपुरकै बागेश्वरी माध्यामिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छा स्थानीय पाठ्यक्रमलाई सांस्कृतिक हस्तान्तरणका रूपमा व्याख्या गर्छन्। पाठ्यक्रम लागू भएपछि विद्यार्थीले अन्तर्राष्ट्रिय भाषाकलासँगै आफ्नै कला र संस्कृतिबारे अध्ययन गर्न पाएको उनी बताउँछन्।

उनी भन्छन्,'यहाँ बसेपछि कमसेकम नाम के हो भनेर नेपाल भाषामा सोध्न सक्नुपर्छ। यहीँको भाषा, परम्परा सिके उनीहरूलाई स्थानीयसँग घुलमिल हुन सजिलो हुन्छ।'

स्थानीय पाठ्यक्रममा समावेश गरिएझैँ हाल भक्तपुरमा नेवारी समुदायमा प्रचलित खाना, खाजा जस्तै: चटामरी, व, बारा, समयबजी, अयला, आदि सिकाउने गरिन्छ।

केही दिनअघि बाल विकासमा खाजाका रूपमा 'मुतुमारी' खुवाइयो। 'जंक फुड'का कारण बालबालिकाहरूमा दीर्घकालीन प्रभाव पर्ने समाचार बाहिरिँदा विद्यार्थीले मुतुमारी खाँदै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल नै भएको थियो।

 

अनुसन्धानमा जोड

नेपालको संविधानले स्थानीय सरकारले आफ्नो क्षेत्रमा स्थानीय पाठ्यक्रम लागू गर्न सक्ने अधिकार सूनिश्चित गरेको छ। यो अधिकार प्रयोग गरेर लागू गराउनेमा भक्तपुर नगरपालिका अगाडि छ। भक्तपुरलाई पछ्याउँदै अब भने केही स्थानीय सरकारले आफ्नो क्षेत्राधिकारभित्र स्थानीय पाठ्यक्रम लागू गराउने तयारी गरिरहेका छन्।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापति हाल कक्षा १, २, ६ र ७ मा मात्रै लागू भएको स्थानीय पाठ्यक्रम आगामी वर्ष १ देखि ८ सम्मै लागू गर्ने तयारी भइरहेको बताउँछन्।

प्रजापति पाठ्यक्रम विद्यार्थीलाई किताबी किरो बनाउन नल्याइएको बताउँछन्। भन्छन्,' नगरपालिकाले पाठ्यक्रम त लागू गर्‍यो। तर अहिले नै पाठ्यपुस्तक बनाउने योजना छैन। हाम्रो शिक्षा सबै किताबका कुरामा केन्द्रित भए। बाहिर गएर अनुसन्धान गर्ने परिपाटी नै बसेन। त्यसैले यस विषयबाट विद्यार्थी र शिक्षकलाई अनुसन्धान गर्न प्रेरित गर्नेछ।'

फोटोः बाल विकास सेकेन्डरी स्कूल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell