
काठमाडौं: ७ करोड ६७ लाख ९४ हजार रुपैयाँ नक्कली भारतीय नोटसहित प्रहरीले नियन्त्रणमा लिएका युनुस अन्सारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौंको आदेशले मंगलबार अन्सारीसहित अन्य ६ जनालाई खोटा सिक्का चलन मुद्दामा पुर्पक्षको लागि थुनामा पठाइएको हो।
‘अदालतको आदेशअनुसार केन्द्रीय कारागारमा लगिएको हो‘, महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
गत जेठ १० गते कतारको दोहाबाट आएको क्यु आर ६४४ विमानबाट आएको नोट लिन विमानस्थल पुगेका अन्सारीलाई नक्कली भारतीय रुपैयाँसहित प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी २०६६ साल माघ १६ गते युनुस पहिलो पटक भारतीय नक्कली नोट र लागुऔषधसहित पक्राउ परेका थिए। यो उनको तेस्रो पटकको पक्राउ हो।
नक्कली नोट कारोबारमा २०७० साल माघमा पक्राउ परेका अन्सारी अदालतबाट दोषी ठहर गरेपछि कैदमा बसेका थिए। अन्सारी २०७४ फागुन २ गते जेलमुक्त भएका थिए। पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा युनुस पुरानै धन्दामा फेरि समातिएका थिए। टेलिभिजन सञ्चालकको छवि बनाएका अन्सारी केही दशकदेखि भने भारतीय नक्कली नोट र लागुऔषध कारोबारीको ट्याग भिरिरहेका छन्।