PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

५० मिनेट नाराबाजीपछि संसद स्थगित



पहिलोपोस्ट

५० मिनेट नाराबाजीपछि संसद स्थगित

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा)ले लगातार नाराबाजी गरेपछि संसद बैठक स्थगित भएको छ। भोलि दिउँसो २ बजेसम्मका सभामुख कृष्णबहादुर महराले बैठक स्थगित गरे।  

सर्लाहीमा प्रहरीको ‘इन्काउन्टर’मा मारिएका नेकपा विप्लव समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको ‘हत्या’ छानबिनका लागि संसदीय समिति गठन गर्न माग गर्दै कांग्रेस र राजपाले नाराबाजी गरेका थिए। नाराबाजी ५० मिनेटसम्म भएको थियो।

सभामुख कृष्णबहादुर महराले पटकपटक संसदको ध्यानाकर्षण भइसकेकोले बस्न आग्रह गरिरहे पनि कांग्रेस र राजपाका सांसदहरु लगातार नाराबाजी गरिरहेका थिए।

'तपाईँको ध्यानाकर्षण सरकारसम्म पुर्‍याउन पनि सदन चल्नुको विकल्प छैन,' बैठक स्थगित भएको जानकारी दिँदै सभामुख महराले भने, 'यहाँहरुले उठाउनु भएको विषयलाई समाधान गर्नका लागि यहाँहरुले गर्नु भएको अवरोध अन्त्य गर्न जरुरी छ। माननीय सदस्यहरुले यसलाई विचार पुर्‍याउँदै आगामी बैठकमा सुचारु गराउन सहयोग गरी संसदीय सर्वोच्चता कायम राख्नु हुने छ भन्ने कुरामा म विस्वास गर्दछु।'

बुधवारको बैठक सुरु हुनासाथ काँग्रेस र राजपाका सांसदहरुले पौडेलको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गर्दै नाराबाजी गरेका थिए। उनीहरुले निर्मला पन्तको हत्यारा पत्ता पत्ता लगाउन पनि माग गरेका थिए।

सर्लाहीमा असार ५ गते विप्लवका सर्लाही जिल्ला इन्चार्ज पौडेलको प्रहरीको गोली लागेर मृत्यु भएको थियो। गृह मन्त्रालयले पौडेलको मृत्यु प्रहरीसँगको दोहोरो गोली हानाहानमा भएको दाबी गर्दै आएको छ।

तर, संसदमा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेलको हत्या सम्बन्धी छानबिन गर्न संसदीय समिति बनाउन माग गर्दै संसद अवरुद्ध गर्दै आएका छन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टीलगायत विपक्षीले संसद अवरुद्ध गर्दै लगातार नाराबाजी गरेपछि सोमवारको प्रतिनिधि सभा बुधबारसम्मका लागि स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell