PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

उत्तर कोरियाले जापान सागरमा फेरि दुई नयाँ मिसाइल परीक्षण गर्‍यो



पहिलोपोस्ट

उत्तर कोरियाले जापान सागरमा फेरि दुई नयाँ मिसाइल परीक्षण गर्‍यो
टेलिभिजनमा केएन-२३ ब्यालेस्टिक मिसाइलकाे परीक्षण हेर्दै दक्षिण कोरियालीहरु। फोटोः रोयटर्स

सोलः उत्तर कोरियाले फेरि दुई नयाँ मिसाइल परीक्षण गरेको छ। दुवै मिसाइल करिब २५० किलोमिटर दुरी पार गरी सी अफ जापान भनेर पनि चिनिने इस्ट सीमा खसेको दक्षिण कोरियाली ज्वाइन्ट चिफ्स अफ स्टाफ्स (जेसिएस) लाई उद्धृत गर्दै बेलायती सञ्चारमाध्यम बिबिसीरोयटर्स तथा अलजजिरा लगायतले जनाएका छन्।

उत्तर कोरियाले छोटो दुरीका मिसाइल परीक्षणा गरेको एक साता पनि नबित्दै फेरि छोटो दुरीका दुई नयाँ ब्यालेस्टिक मिसाइल परीक्षण गरेको हो। जेसिएसका अनुसार उत्तर कोरियाको पूर्वी समुद्र तटस्थित दक्षिण ह्यामयोङ प्रान्तको होडो प्रायद्वीपबाट बुधबार सबेरै ती दुई मिसाइल परीक्षण गरिएको हो।

'दुवै मिसाइल पृथ्वीको सतहभन्दा ३० किलोमिटर माथि उडेको र इस्ट सीमा खस्नुअघि करिब २५० किलोमिटर दुरी पार गरेको जेसिएसका एक कर्मचारीले एपिएफलाई बताएको अलजजिराले उल्लेख गरेको छ।

दक्षिण कोरियाली अधिकारीहरुले आज बिहान परीक्षण गरिएका दुवै मिसाइल गत बिहीवार उत्तर कोरियाले परीक्षण गरेको मिसाइलभन्दा फरक किसिमका रहेको अनुमान गरेका छन्।

जेसिएसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ- उत्तर कोरियाले निरन्तर गरिरहेको मिसाइल परीक्षणले कोरियाली प्रायद्वीपमा तनाव घटाउने र शान्ति कायम गर्ने प्रयासले सहायता गर्दैन । हामी उत्तर कोरियासँग मिसाइल परीक्षण नगर्न आग्रह गर्छौं।

दक्षिण कोरियाको राजधानी सोलस्थित अलजजिरका संवाददाता रब म्याकब्राइडका अनुसार २० मिनेटको फरकमा ती दुई मिसाइल परीक्षण गरिएको थियो। म्याकब्राइडका अनुसार अर्को महिना दक्षिण कोरिया-अमेरिकाले गर्ने संयुक्त सैनिक अभ्यासमा असन्तुष्टि जनाउन उत्तर कोरियाले मिसाइल परीक्षण गरेको हो।

जापानका रक्षा मन्त्रीले उत्तर कोरियाको कुनै पनि ब्यालेस्टिक मिसाइल परीक्षणले संयुक्त राष्ट्र संघीय प्रस्ताव उल्लंघन गर्ने बुधवार बिहान बताएका थिए। जापानी प्रधानमन्त्री सिन्जो आबेले भने उत्तर कोरियाली मिसाइल परीक्षणबाट जापानको सुरक्षामा कुनै चुनौती नपुगेको बताए।

दक्षिण कोरियास्थित अमेरिकी सेनाका प्रवक्ता कर्णेल ली पिटर्सले भने, 'हामी उत्तर कोरियाली मिसाइल परीक्षणबारे सचेत छौं र निरन्तर स्थितिको अनुगमन गरिरहने छौं।' उनले अर्को महिना दक्षिण कोरियासँग हुने संयुक्त अमेरिकी सैन्य अभ्यासको मिति भने बताएनन्।

नयाँ मिसाइल परीक्षण

रोयटर्सले एक जना दक्षिण कोरियाली अधिकारीको भनाइ उद्धृत गर्दै बुधवार परीक्षण गरिएका ब्यालेस्टिक मिसाइल गत बिहीवार परीक्षण गरिएकै जस्ता भए पनि पुष्टि गर्ने प्रयास गरिरहेको जनाएको छ। केएन-२३ नाम दिइएका मिसाइलले सजिलै शत्रुको मिसाइल प्रणाली भेदन गर्न सक्ने बताइएको छ। यी मिसाइल अर्को मिसाइल प्रणालीले पत्ता लगाउन कठिन हुने, प्रहार गरिसकेपछि पनि उडान परिवर्तन गर्न सक्ने क्षमतायुक्त भएको रक्षा विश्लेषकहरुले बताएका छन्।

उत्तर कोरियाली नेता किम जोङ उनले गत साता परीक्षणका बेला केएन-२३ मिसाइल कम उचाइमा तीव्र गतिमा सरर जाने भएकाले नष्ट गर्न कठिन हुने बताएको पनि रोयटर्सले उल्लेख गरेको छ। रक्षा विश्लेषकहरुका अनुसार बुधवार मिसाइलका यिनै विशेषता जाँच्न परीक्षण गरिएको हुनुपर्छ।

दक्षिण कोरियाली रक्षा मन्त्री जियोङ क्योङ-डूले राजधानी सोलमा भएको एउटा रक्षासम्बन्धी कार्यक्रममा केएन-२३ जस्ता मिसाइल नष्ट गर्न वा रोक्न कठिन हुने बताए। उनले भने, 'तर दक्षिण कोरियासँग भएको मिसाइल प्रतिरक्षा प्रणालीले त्यस्ता मिसाइल पनि पत्ता लगाउन र नष्ट गर्न सक्छ।'

दक्षिण कोरियाली रक्षा मन्त्रालयले आफ्ना सांसदहरुलाई उत्तर कोरियाले गत साता मात्र सार्वजनिक गरेको नयाँ पनडुब्बीले ३ वटासम्म त्यस्ता ब्यालेस्टिक मिसाइल बोक्न सक्न जानकारी गराएको छ। जापानी प्रधानमन्त्री सिन्जो आबेले बुधवारको मिसाइल परीक्षणले जापानको सुरक्षामा कुनै प्रभाव नपरेको बताए।

उत्तर कोरियाली रक्षा मन्त्रीको बैंकक भ्रमण रद्द

उत्तर कोरियाले आज गरेको मिसाइल परीक्षणपछि रक्षा मन्त्री रि योङ होले बैंकक भ्रमण रद्द गरेका छन्। बैंककमा आजै एसियाका दक्षिणपूर्वी देशका विदेश मन्त्रीहरुको बैठक बस्दैछ। यो बैठकमा अमेरिकी विदेश मन्त्री माइक पम्पिओ पनि सहभागी छन्। पहिले उत्तर कोरियाली रक्षा मन्त्री हो पनि यो बैठकमा सहभागी हुने भनिए पनि मिसाइल परीक्षणपछि उनले भ्रमण रद्द गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell