
बंगलादेश र नेपालको सम्बन्ध झल्काउने कला प्रदर्शनी सुरु भएको छ। काठमाडौंस्थित नेपाल आर्ट काउन्सिलमा ‘बन्धुत्व’ नाम दिइएको प्रदर्शनी मङ्गलबार सुरु भएको हो। कार्यक्रमको उद्घाटन नेपालका लागि बंगलादेशकी राजदूत माश्फी बिन्ते शाम्सले गरेकी हुन्।
चार दिनसम्म चल्ने प्रदर्शनीमा नेपालका ११ र बंगलादेशका १२ जना कलाकारका कलाकृति प्रदर्शनमा राखिएका छन्। नेपालका कलाकारहरु अनुराधा थापा, भुवन थापा, किशोर नकर्मी, कान्छाकाजी भासिमा, लक्ष्मण मण्डल, ओम खत्री, पुनम कुमारी दास, मिथिला देवी यादव, रञ्जु यादव, एससी सुमन र सुष्मा राजभण्डारीका कलाकृति सहभागी छन्।
त्यस्तै, बंगलादेशी कलाकारहरु अमजद आकाश, फरिहा बिन्ता खैर, दिलसाद पठान, इमाम हुसैन सुमन, लक्की ओस्मान, मैदुल इस्लाम खान, मोहसिन कबिर, नज्मा अख्तर, शबनम चौधरी, सिग्मा हक अंगकान, सुनन्दा रानी बर्मन र तैमुर हन्नानका कलाकृति राखिएका छन्। जसमध्य पाँचजना बंगलादेशी कलाकार काठमाडौं आएका छन्।
राजदूत शाम्सले भनिन्,’यस प्रदर्शनीले भाषा, संस्कृति र कलाको सन्दर्भमा दुबै देश अत्यन्तै नजिक रहेको छ। दुई मुलुकबीचको सांस्कृतिक र सामाजिक सम्बन्ध प्रगाढ बनाउन यस्ता कलात्मक गतिविधि सहयोग पुर्याउँछ।‘
अतिथि रहेका नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले प्रर्दशनीले दुई देशका कलाकारहरुबीच कलासम्बन्धी ज्ञान, सीप र अनुभव आदानप्रदान हुने विश्वास व्यक्त गरे।
साउन १७ गते शुक्रबारसम्म चल्नेछ।