PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

मन्त्रीहरुसँग कार्ययोजनामा 'कन्ट्र्याक्ट' गर्दै के भने प्रधानमन्त्री ओलीले?



पहिलोपोस्ट

मन्त्रीहरुसँग कार्ययोजनामा 'कन्ट्र्याक्ट' गर्दै के भने प्रधानमन्त्री ओलीले?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना मातहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशील बनाउन सबै मन्त्रीलाई निर्देशन दिएका छन्।

आर्थिक वर्ष २०७६/०७७को वार्षिक कार्ययोजना प्रस्तुती तथा कार्यान्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीले भने, 'भ्रष्टाचार अन्त्य गर्न र सदाचार अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं। मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ।'

यो पनि : अब प्रधानमन्त्री र विभागीय मन्त्रीहरुबीच नै वर्षभरि गर्ने कामको सम्झौता, मन्त्रीहरुसँग हस्ताक्षर जारी

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामको गति तीव्र पार्न र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसात् गर्न आग्रह गरे। 'हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु गर्‍यौं भने साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले हो,' प्रधानमन्त्री ओलीले भने, 'तर, पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने गर्‍यो भने फेरि ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ। अब त्यस्तो हुनु हुँदैन। समय खेर फाल्नु भएन।'

प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना सम्झौता भएकोले अब कामले तीव्रता लिने विश्वास व्यक्त गरे।

'मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ। अब मन्त्रीजी र सचिवहरु बीचको सम्झौता भएर कामको गतिले तीव्रता लिने विश्वास लिएको छु,' प्रधानमन्त्री ओलीले भने।

प्रधानमन्त्री ओलीले भ्रष्टाचारीहरुविरुद्ध सरकार अभूतपूर्व ढंगले अघि बढेको बताए। प्रधानमन्त्री ओलीले भने, 'भ्रष्टाचारीहरुलाई मुद्दा चलाइएको छ। कारबाही दृढताका साथ अघि बढाइएको छ।'

संसदमा प्रतिपक्षीहरुले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार दृढ छ।' प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायी भएर काम गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell