PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

चुनावी वाचा पूरा गर्दै प्रधानमन्त्री ओली, योगेशलाई पर्यटन मन्त्रालयको जिम्मेवारी



पहिलोपोस्ट

चुनावी वाचा पूरा गर्दै प्रधानमन्त्री ओली, योगेशलाई पर्यटन मन्त्रालयको जिम्मेवारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चुनावी वाचाअनुसार योगेश भट्टराईलाई मन्त्री बनाउने भएका छन्।

मन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त रहेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिन लागेका हुन्। उनको आज ४ बजे शपथ हुँदैछ।

राष्ट्रपति कार्यालयलाई सपथको तयारीका लागि पत्राचार भइसकेको छ। 'हामीलाई जानकारी आएको छ। चार बजेका लागि तयारी गर्दैछौं,' राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले भने।

भट्टराईलाई आज राष्ट्रपति निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गराइने छ।

नेपाल कम्युनिष्ट पार्टी ( ने क पा) नेता २०७४ मंसिरमा भएको निर्वाचनमा ताप्लेजुङबाट २९ हजार ४ सय ७९ मत ल्याएर विजयी भएका थिए।

तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि प्रधानमन्त्री ओलीले नै पर्यटन मन्त्रालयको जिम्मेवारी लिएका थिए। गत फागुन महिनामा ताप्लेजुङ्को आठराई गाउँपालिकाको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएर फर्किने क्रममा हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएको थियो

ताप्लेजुङमा प्रतिनिधि सभाको चुनावी सभामा पुगेका तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए - तपाईँहरु योगेश भट्टराईलाई जिताएर पठाउनुहोस, म मन्त्री बनाएर पठाउँछु।

उनको त्यो चुनावी वाचा आज पूरा हुँदैछ।

यस्तो छ योगेशको राजनीतिक यात्रा

पर्यटन मन्त्रालयको जिम्मेवारी पाउँदै गरेका भट्टराई ताप्लेजुङ्को साँघुमा २०२३ सालमा जन्मिएका हुन्। २०३७ सालदेखि अनेरास्ववियुबाट राजनीतिमा पाइला राखेका भट्टराई विद्यालयको प्रारम्भिक कमिटी, क्याम्पस कमिटी, जिल्ला कमिटी र अञ्चल कमिटी हुँदै २०५१ सालमा अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भएका थिए।

तत्कालीन नेकपा एमाले विभाजित हुँदा नेकपा मालेतिर लागेका भट्टराई पछि पुरानै घर फर्किएका थिए।

भट्टराई २०६४ सालको पहिलो संविधान निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट र २०७० को दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बनेका थिए। पछिल्लोपटक प्रतिनिधिसभाको निर्वाचनमा उनी ताप्लेजुङ्बाट उम्मेदवार बनेर विजयी भएका थिए।

उनको चुनावी सभामा तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओलीले भट्टराई जितेर पठाए मन्त्री बनाएर पठाउने वाचा गरेका थिए।

प्रधानमन्त्री ओली र अनेरास्ववियुका पूर्व अध्यक्षसमेत रहेका भट्टराईबीचको सम्बन्ध भने 'लभ-हेट'मै रहिरह्यो सधैं। तत्कालीन नेकपा एमालेबाट विभाजित भएर नेकपा मालेमा लागेका भट्टराईले ओलीका कतिपय कदमको कडा आलोचना गर्दै आएका थिए। उनीसहितको टिमले २०५५ सालमा तत्कालीन नेकपा एमालेविरुद्ध लेखेको एउटा पुस्तक ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध' मा ओलीलाई नराम्ररी मुछेका छन्। तत्कालीन गृहमन्त्री केपी ओलीले गाडी खरीदमा भ्रष्टाचार गरेको पुस्तकमा उल्लेख छ।

गएको निर्वाचनमा भने ओली योगेशको चुनावी सभामा सम्बोधन गर्न पुगेका थिए। तर ओली नै प्रधानमन्त्री रहँदा डाक्टर गोविन्द केसीको अनशनको विषयमा योगेशले फरक अभिव्यक्ति दिएका थिए भने पछिल्लो समय अनशनलाई सहज अवतरण गराउन पनि सक्रिय भूमिका खेलेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell