
काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रचार प्रसार शाखाको प्रमुखको जिम्मेवारी दुर्गाप्रसाद दुलाललाई दिइएको छ। २०७६ साल साउन १४ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार दुलाललाई प्रमुखको जिम्मेवारी सुम्पिएको हो।
राखेपअन्तर्गत प्रशासन विभाग प्रमुख कुलबहादुर थापाले दुलाललाई बुधवार जिम्मेवारी पत्र हस्तान्तरण गरे। थापाले दुलालले पाएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै प्रमुखमा नियुक्त भएकोमा बधाइ दिए। उनले कुनै बेला प्रचार प्रसार शाखालाई महत्वपूर्ण शाखाका रुपमा हेरिने गरेको बताउँदै अहिले विगतको तुलनामा प्रचार प्रसार शाखाको साख घटेको आफूले महशुस गरेको बताए।
यसअघिका प्रचार प्रसार प्रमुख सुधिरप्रसाद पोखरेलले ५८ वर्ष उमेर हदका कारण साउन ८ गते अनिवार्य अवकाश पाएपछि प्रचार प्रसार शाखामा प्रमुखको पद रिक्त थियो।
नवनियुक्त प्रमुख दुलालसँग प्रचार प्रसारमै रहेर १६ वर्ष काम गरेको अनुभव छ। त्यसअघि उनले गुल्मी जिल्ला खेलकुद विकास समितिमा ३ वर्ष तथा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र मोरङ जिल्ला खेलकुद विकास समितिमा ५ वर्ष काम गरेको अुनभव छ। प्रमुखसँगै ५१ वर्षीय दुलालले सूचना अधिकारीको जिम्मेवारी पनि पाएका छन्।
२०५३ साल असोज ४ गते राखेपमा स्थायी सेवामा प्रवेश गरेको प्रमुख दुलालले सबैसँग सहकार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्रचार प्रसार शाखाका प्रशासकीय अधिकृत लोकेन्द्रकुमार बस्नेत, नायब सुब्बा वासुदेव निरौलालगायतको उपस्थिति थियो।