
हरेक दुई वर्षमा आयोजना हुने 'फिल्म साउथ एसिया'को यो वर्षको संस्करणका लागि आवेदन मिति थप गरिएको छ। पहिला जुलाई ३१ सम्ममा डकुमेन्ट्री पठाउनु पर्ने आयोजकले जनाएका थिए। अब भने पन्ध्र दिनका लागि उक्त म्याद थप गरिएको छ।
आयोजकले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। आधिकारिक फेसबुक पेजमा लेखिएको छ,'उल्लेखनीय सहभागिता र आग्रहका कारण हामीले आवेदन बुझाउने म्याद थप गरेका हौं।'
वृत्तचित्रको महोत्सव भनिने यस कार्यक्रममा सहभागी हुन चाहने निर्देशक तथा निर्माताले अब अगस्टको पन्ध्रसम्ममा डकुमेन्ट्री बुझाउन पाउने भएका छन्।
महोत्सवको बाह्रौं संस्करण आउँदो नोभेम्बर चौध गतेदेखि सत्र गतेसम्म ललितपुरको यालामाया केन्द्रमा हुनेछ।
सहभागी डकुमेन्ट्रीहरुमध्य उत्कृष्ट फिल्मले 'रामबहादुर ट्रफी' पाउने छन्। त्यस्तै उत्कृष्ट भएका दोस्रो र तेस्रोले पनि पुरस्कार जित्नेछन्। अन्य अवार्डहरु 'तारेक्यु मसुद डेब्यु फिल्म अवार्ड', युनिसेफले प्रदान गर्ने 'नेपाल अवार्ड फर सोसल इस्यु', 'स्टुडेन्ट फिल्म अवार्ड' रहेका छन्।