PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भक्तपुरमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा दुईको मृत्यु



रासस

भक्तपुरमा भएका छुट्टाछुट्टै दुई दुर्घटनामा दुईको मृत्यु
प्रतीकात्मक तस्बिर।

भक्तपुर: भक्तपुरमा भएका दुई बेग्लाबेग्लै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। चाँगुनारायण नगरपालिका–८ चरेलीमा गएराति कमलविनायकबाट नगरकोटतर्फ जाँदै गरेको बा १० च ४०२६ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट खसेको थियो।

दुर्घटनामा चाँगुनाराण–८ कलमसी बस्ने ३२ वर्षीय कान्छा राईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका डिएसपी रेवतीरमण पोखरेलले जानकारी दिए। प्रहरीका अनुसार दुर्घटनामा बोलेरो चालक प्रदीप राउत घाइते भएका छन्। हाल चाँगुनारायण–७ बागेश्वरी बस्ने २० वर्षीय चालक राउत दोलखा मेलुङ गाउँपालिका–१ का हुन्।

बोलेरो सडकबाट करिब ५ मिटर तल खसेको थियो। घाइते चालक राउतको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौँ मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

त्यसैगरी गएराति मध्यपुरथिमी–३ गठ्ठाघरमा एउटा ट्र्याक्टरमा मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकलमा पछाडि बसेका रामेछाप सुनापाती गाउँपालिका–३ का रोमन तामाङको मृत्यु भएको डिएसपी पोखरेलले जानकारी दिए। २९ वर्षीय तामाङको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रामेछाप सुनापाती गाउँपालिका–३ का २८ वर्षीय धनबहादुर थिङको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ।

भक्तपुर प्रहरीका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०२–००३ प ५५२९ नम्बरको मोटरसाइकल ना ६ त ८६८ नम्बरको ट्र्याक्टरमा पछाडिबाट ठोक्किएको थियो।

बोलेरो दुर्घटनामा हाल जडीबुटी बस्ने उदयपुर कटारीका ३१ वर्षीय रबिन खत्रीलाई महानगरीय प्रहरी वृत्त थिमीले नियन्त्रणमा लिएको छ भने ट्र्याक्टर चालक फरार छन्। प्रहरीले फरार ट्र्याक्टर चालकको खोजी गरिरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell