
काठमाडौं : सोमवार राति कलंकीको घरमा भएको गोली प्रहारको प्रकरणमा नयाँ ट्विस्ट आएको छ।
सोमवार राति साढे ९ बजे इन्जिनियर विष्णुप्रसाद शर्माको घरमा गोली प्रहार भएको थियो। घटनालाई लिएर प्रहरीले छिमेकी इन्जिनियर सुभाङ्कर खनाललाई नियन्त्रणमा लिएको थियो। खनालको घरबाट प्रहरीले दुई थान पेस्तोल र गोली समेत बरामद गरेको थियो।
प्रहरीको अनुसन्धानले घटना खनालले नै गराएको भन्नेमा पुगेको थियो। घटनास्थलबाट प्राप्त गोली र खनालको घरबाट भेटिएको गोलीको व्यालेष्टिक परीक्षण गरिएको थियो।
तर, प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालाले बरामद पेस्तोलबाट गोली नचलेको रिपोर्ट दिएको छ।
‘खनालको घरमा भेटिएको पेस्तोल र घटनास्थलमा भेटिएको गोली एउटै देखिएन,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
कलंकी मन्दिर नजिकै सामाजिक मार्गमा शर्माको साढे तीनतले घर रहेको छ। घरको तेस्रो तलामा रहेको कोठाभित्र प्रहरीले गोली फेला पारेको थियो। खनाल र शर्मा छिमेकी हुन्। उनीहरुबीच सामान्य विवाद समेत रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको थियो। खनालले सरकारबाट इजाजत लिएर हतियार राखेका थिए। घटनाको महानगरीय अपराध महाशाखाले अनुसन्धान गरिरहेको छ।